
काठमाडौं। यति एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रकट गर्न सरकारले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ। आन्तरिकतर्फ ठूलो जहाज पहिलो पटक दुर्घटनामा परेको हो।
विमानमा चालक दलका चारसहित ७२ जना थिए। प्रारम्भिक जानकारी अनुसार, अधिकांशको निधन भएको छ। केहीको भने उपचार चलिरहेको छ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो। सरकारले दुर्घटनाको कारण पत्ता लगाएर न्यूनीकरणका लागि पाँच सदस्यीय जाँचबुझ समिति गठन गरेको छ।
समितिले ४५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने सरकारका प्रवक्ता तथा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।