काठमाडौं। पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको जहाज १५ वर्षअघि उत्पादन भएको पाइएको छ। यो एटीआर कम्पनीले उत्पादन गरेको सिरियल नम्बर-७५४ जहाज हो।
७२-२१२ए प्रकारको यो जहाजले पहिलो उडान सन् २००७ अगस्ट १ मा गरेको थियो। यतीले नुक एयरलाइन्सबाट यो एटीआर किनेको हो। थाइल्याण्डको नुकलाई यो एटीआर भारतको किङफिसरले बेचेको थियो।
किङफिसर एयरलाइन्सले ६ वर्ष चलाएपछि सन् २०१३ बाट नुक एयरले प्रयोग गर्दै आएको थियो। यतीले नुकबाट जहाज सन् २०१९ मार्च २६ मा किनेर नेपाल भित्र्याएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राविधिक कारणले जहाज दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन्।
‘मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ,’ उनले रासससँग भनेका छन्, ‘विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ।’
आइतबार काठमाडौं-पोखरा उडान गर्ने क्रममा ६८ जना यात्रु र चारजना चालकदल सवार जहाज दुर्घटना भएको हो।
जहाज दुर्घटना भएलगत्तै काठमाडौंबाट प्राविधिक टोली पोखरा हिडिसकेको प्राधिकरणले जनाएको छ।
९ एन-एएनसी कलसाइनको जहाज विहान १०.३३ बजे काठमाडौबाट पोखरा उडान गरेको थियो।