ठूला जलविद्युतमा लगानी गर्न एचआइडीसीएलको प्रबन्धपत्र संशोधन, पुँजी कोषको ५०% लगानी गर्न मिल्ने

बिजमाण्डू
२०७९ पुष २९ गते १२:३४ | Jan 13, 2023
ठूला जलविद्युतमा लगानी गर्न एचआइडीसीएलको प्रबन्धपत्र संशोधन, पुँजी कोषको ५०% लगानी गर्न मिल्ने

काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले एउटै आयोजनामा पुँजी कोषको ५० प्रतिशतसम्म लगानी गर्न पाउने भएको छ।

Tata
GBIME
Nepal Life

सरकारी कम्पनीले प्रवर्द्धन गरेका र राष्ट्रिय प्राथमिकतायुक्त आयोजनामा पुँजी कोषको ५० प्रतिशत लगानी गर्न पाउने गरी प्रबन्धपत्र संशोधन गरिएको छ। एचआइडीसीएलको मंगलबार भएको एघारौं साधारणसभाले प्रबन्धपत्रमा भएको लगानी सम्बन्धी नीति संशोधनको प्रस्तावलाई स्वीकृत गरेको छ।

यो संशोधनले एचआइडीसीलको लगानी गर्ने क्षमता बढेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले बताए।उनका अनुसार एउटा आयोजनामा पुँजी कोषको २५ प्रतिशतको सीमामा रहेर लगानी गर्न पाइने व्यवस्था थियो। त्यसभन्दा माथि जानै पाइदैनथ्यो।

‘हामी अब ५० प्रतिशतसम्म लगानी गर्न सक्छौं। २४ अर्ब रुपैयाँको पुँजी कोष छ। ६ अर्ब रुपैयाँ लगानी गर्न सक्ने अवस्था थियो। अब १२ अर्ब रुपैयाँसम्म लगानी गर्न सक्छौं,’ उनले भने।

गौतमका अनुसार ६ अर्ब रुपैयाँको म्यान्डेट लिएर माथिल्लो अरुण जस्ता ठूला आयोजनामा लगानी गर्न कठिन हुने अवस्था रहेकाले क्षमता बढाइएको हो।

‘अपर अरुण जस्ता आयोजनाको फाइनान्सिङमा लिड गर्ने संस्थाले ६ अर्ब रुपैयाँ मात्रै लगानी गर्न सक्ने भएपछि अरु १२ वटा ४/४ अर्ब रुपैयाँ लगानी गर्ने बैंक तथा वित्तीय संस्था खोजेर ५३ अर्ब रुपैयाँ जुटाउनुपर्छ। फाइनान्स जुटाउनै गाह्रो छ,’ उनले भने, ‘अब लगानी जुटाउन केही सहज हुनेछ।’ तर, स्वतन्त्र ऊर्जा उत्पादकहरु (निजी क्षेत्र)ले निर्माण गर्ने आयोजनामा भने २५ प्रतिशतको क्याप यथावत राखिएको गौतमले बताए।

१०६१ मेगावाटको अपर अरुण जलविद्युत आयोजनामा ५३ अर्ब रुपैयाँ एचआइडीसीएलको नेतृत्वमा जुटाउन त्रिपक्षीय सम्झौता भएको छ। एचआइडीसीएलको नेतृत्वमा नागरिक लगानी कोष, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैकले कन्सोर्टियम (सहवित्तीयकरण) बनाएर लगानी गर्ने गरी सहमति गरेका छन्।

आयोजनाको कुल लगानी २१४ अर्ब रुपैयाँ अनुमान गरिएको छ। ६४ अर्ब रुपैयाँ इक्विटी (सेयर) र ९७ अर्ब रुपैयाँ विदेशी लगानीबाट जुटाइनेछ। आयोजनाको एक वर्षमा अध्ययन सकेर लगानी जुटाउने र ८ वर्षमा निर्माण सक्ने योजना छ।

त्यसैगरी १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनामा पनि लगानी गर्ने प्रस्ताव गरेको छ। सरकारले आफैँले निर्माण गर्न कम्पनी समेत स्थापना गरिसकेको छ।

एचआइडीसीएलले १८११ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजनामा १९ अर्ब ५४ करोड रुपैयाँ बराबरको ऋण तथा सेयर लगानी स्वीकृत गरेको छ। जसमध्ये १० अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी भुक्तानी गरिसकेको छ।

कम्पनीले दुई सहायक कम्पनी खोलेर ७७.५ मेगावाटको घुन्साखोला र ७०.३ मेगावाटको सिम्बुवाखोला निर्माण गर्ने तयारी गरिरहेको छ। विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजनामा १० प्रतिशत स्वपुँजी लगानी गर्न लागेको छ।

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनामा पनि १० प्रतिशत स्वपुँजी लगानी गर्दैछ। निजी क्षेत्रले प्रवर्द्धन गरिरहेका १८८ मेगावाटका ४ जलविद्युत आयोजनामा १ अर्ब ७१ करोड रुपैयाँ स्वपुँजी लगानी स्वीकृत भएको छ। १ अर्ब १६ करोड रुपैयाँ लगानी प्रवाह नै गरिसकेको जनाएको छ।