अर्थमन्त्री विष्णु पौडेल बन्दैः आर्थिक मन्दीबाट पार लगाउन समन्वय आवश्यक

बिजमाण्डू
२०७९ पुष ११ गते ११:१४ | Dec 26, 2022
अर्थमन्त्री विष्णु पौडेल बन्दैः आर्थिक मन्दीबाट पार लगाउन समन्वय आवश्यक


काठमाडौं। राजनीतिक समीकरण बदलिँदा एमाले उपाध्यक्ष विष्णु पौडेल फेरि अर्थमन्त्री बन्ने पक्का भएको छ। माओवादी नेतृत्वको गठबन्धन दलको सरकारमा एमालेका तर्फबाट पौडेल तेस्रो पटक अर्थमन्त्री बन्न लागेका हुन्।

Tata
GBIME
Nepal Life

एमालेको समर्थनमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त भएपछि पौडेललाई पुरानो पोर्टफोलियो फिर्ता गर्न लागिएको हो।

यसअघि एमाले र माओवादी एउटै दलमा हुँदा पौडेल अर्थमन्त्री थिए। त्यसअघि पनि पौडेललाई एमालेले अर्थमन्त्री बनाएको थियो।

वृद्धभत्ता बढाउने 'पपुलिष्ट' नीति लिएका पौडेल समन्वयकारी भूमिकाका लागि चिनिन्छन्। अहिले राष्ट्र बैंक र सरकारबीच 'इगो' चलिरहेको छ। यसले अर्थतन्त्र जर्जर बनिरहेको छ।

एमालेले नै गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको थियो। अहिलेका दुवै जना डेपुटी गभर्नर पनि एमालेले नै नियुक्त गरेको हो।

त्यसो हुँदा पौडेल अर्थमन्त्री हुँदा केन्द्रिय बैंकसँग राम्रो समन्वय हुने देखिन्छ। पौडेलले पछिल्लो समय अर्थमन्त्री हुँदा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठलाई प्रमुख आर्थिक सल्लाहकार बनाएका थिए।

अहिले श्रेष्ठ राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख छन्। श्रेष्ठको विभागीय नेतृत्वमा राष्ट्र बैंकले मौद्रिक नीति बनाइरहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा पौडेल अर्थमन्त्री भएका थिए। त्यसबेला उनी पार्टीमा  उपमहासचिव थिए। 

पौडेलले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गर्दैछन्। पौडेल गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारका जलस्रोत मन्त्री भएका थिए।

डा. युवराज खतिवडा बाहिरिएपछि ओलीले अर्थमन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका थिए। त्यसको केही दिनमा पौडेललाई नै ओलीले अर्थमन्त्रीका रुपमा रोजेका थिए।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको बजेटका कारण सरकारी वित्त चौपट भएको छ। अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले कुनै आकलन बिना मनपरी ढंगले बजेट बनाउँदा कर नउठ्ने, तर साधारण खर्च उच्च भइरहेको छ। उनले ल्याएको बजेटपछि सरकारले साधारण खर्च गर्न पनि ऋण लिनु परेको छ।

आयात कटौतीका कारण बाह्य क्षेत्रमा थोरै सुधार देखिए पनि आन्तरिक अर्थतन्त्र मन्दीउन्मुख छ। शर्मा र राष्ट्र बैंकका गभर्नरबीचको व्यक्तिगत टकराबले एकले भनेको अर्कोले नमान्ने अवस्था हुँदा निजी क्षेत्रदेखि सर्वसाधारणको भान्छासम्म प्रभावित भएको छ। अहिले निजी क्षेत्रले ब्याजदर उच्च भएको भन्दै आन्दोलन गरिरहेको छ। अर्कोतर्फ राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जामा लचकता अपनाउन भनेको छ।

राष्ट्र बैंकले यसमा टसमस गरेको छैन। राजनीतिक पूर्वाग्रहका कारण राष्ट्र बैंकले चालु पुँजी कर्जामा लचकता अपनाउन नखोजेको आरोप लागिरहँदा पौडेलकै पार्टीले नियुक्त गरेका महाप्रसाद अधिकारी गभर्नर छन्।

देशको खातापाता सञ्चालन गर्ने अर्थ मन्त्रालयको नेतृत्व गर्दै गर्दा पौडेलमाथि अर्को वास्तवि बजेट ल्याउनु पर्ने दबाब छ। तर, माओवादी नेतृत्वको सरकार हुँदा त्यो सम्भव भने देखिँदैन। 

पौडेल निजी क्षेत्रमैत्री नै छन्, यसअघि अर्थमन्त्री हुँदा पनि उनले निजी क्षेत्रलाई साथ लिने प्रयास  गरेका थिए। त्यसअघि जलस्रोत मन्त्रीछँदा उनले लामो समयदेखि पुनरावलोकन नभएको विद्युत खरिद सम्झौता व्यवसायीको माग अनुसार चलाएका थिए।
 
उनले त्यसबेला पीपीए दर बढाएर हिउँदमा ७ र बर्खामा ४ रुपैयाँ पुर्‍याएका थिए। पौडेलमाथि जागिरका बारेमा केही आरोपहरु पनि लाग्ने गरेको छ। ऊर्जामन्त्री हुँदा भेट गर्न आउने आयोजनाका प्रमुखहरुसँग आफ्ना मान्छेलाई जागिर लगाइदिन लिष्ट दिने गरेको आरोप छ। उनी बालुवाटारको जग्गा प्रकरणमा मुछिएका थिए।
 
यस्तो छ बायोडाटा
२०५१ मा प्रतिनिधिसभा सदस्यसमेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री भएका थिए। २०३७ मा ३ वर्ष राजकाजको मुद्दा खेपेका पौडेलले ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान भएपछि ४५ दिनको परिश्रमपछि जेल विद्रोह गरेका थिए ।
 
देवीलाल र रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ मंसिर ५ गते स्याङ्जाको पुतलीबजार-१३ मा भएको हो। माध्यमिक तहसम्म पढेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय छन्।
 
तत्कालिन एमालेका केन्द्रीय सचिवसमेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही-४ बाट विजयी भएका थिए। माओवादीसँग एमाले एकीकरण भएपछि बनेको पार्टीको उनी महासचिव पनि भएका थिए। अहिले भने उनी एमालेको उपाध्यक्ष छन्।