काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले एकै पटक पाँचवटा शाखा कार्यालयबाट कारोबार थालेको छ।
बैंकले प्रदेश १ को ताप्लेजुङ, तेह्रथुम र धुलाबारीमा नयाँ शाखा खोलेको हो। यसैगरी मधेस प्रदेशको मलंगवा र वाग्मतीको रसुवा शाखाबाट पनि कारोबार सुरु भएको छ। पाँच स्थानमा शाखा खुलेसँगै बैंकको देशभर शाखा संख्या २ सय ६४ पुगेको बैंकले जनाएको छ।
ताप्लेजुङ शाखाको बैंक सञ्चालक दिलिपकुमार ढुंगाना, तेह्रथुम शाखाको म्याग्लुङ नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे तथा धुलावारी शाखाको झापा १ (२) का प्रदेश सांसद गोपाल तामाङले उद्घाटन गरे।
यसैगरी मलगंवास्थित शाखाको सर्लाही २(२) का प्रदेश सांसद कौशलकिशोर दास र रसुवा शाखा कार्यालयको रसुवा (२) का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले उद्घाटन गरेको बैंकले जनाएको छ।
यसै अवसरमा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले देशको दूरदराज तथा सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ सेवा दिइरहेको बताए।
बैंकका अनुसार हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २ सय ६४ वटा शाखा कार्यालय, ४६ वटा एक्सटेन्सन काउन्टर, २ सय ६८ वटा एटीएम र १ सय २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा छ।