२२ अर्बको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट, जनवरी १ देखि नियमित उडान

बिजमाण्डू
२०७९ पुष ७ गते १६:२२ | Dec 22, 2022

काठमाडौं। २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा यती र बुद्ध एयरको एटीआर-७२ सिरिजको जहाजले पहिलो अवतरण गरेका छन्। यी दुई कम्पनीले डेमो फ्लाइट गरेका हुन्।

Tata
GBIME

 दुवै कम्पनीले जनावरी १ तारिखबाट गरिने नियमित उडान गर्नेछन्। 'आज दिउँसो २:३५ र ३:०६ बजे यती र बुद्धको पोखरा-पोखरा 'पुरानो विमानस्थलबाट नयाँ विमानस्थल' डेमो उडान भएको छ। यो उडानमा नियमित यात्रु थिएनन्,' विमानस्थलका एक कर्मचारीले भने,'पाइलट फेमिलियरका लागि यो उडान गरिएको हो। यो उडानमा इन्स्ट्रक्टर पाइलटको सहभागिता रहेको थियो।'

उनका अनुसार कम्पनीका जहाजले पोखरा-काठमाडौं नियमित यात्रु उडान गर्नेछन्। यो विमानस्थल उडान संचालनका लागि वाधा ठहराइएको रिठ्ठेपानी डाँडाले कुनै फरक नपार्ने भएको छ। फ्लाइट क्यालिब्रेसनका लागि १४ मिटर उचाई कटान गरेसँगै बाँकी २४ मिटर उचाईले नियमित उडान अवतरणमा कुनै वाधा सिर्जना नगर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

आइकाओको प्रावधान अनुसार विमानस्थल वरपर भएका अग्ला रुख, डाँडा काट्नुपर्ने भएका कारण डाँडा काटिएको विमानस्थल आयोजना प्रमुख विनेश मुननकर्मीले बताए। उडान गर्ने क्रममा अहिले कटान गरिएको १४ मिटर उचाई पर्याप्त हुने उनले जानकारी दिए।

'अहिले कटान गरिएको उचाईमै आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ। अगाडि डाँडा देखिँदा पाइलटलाई पनि मनोवैज्ञानिक रुपमा प्रभाव पर्न जान्छ। विमानस्थल दायाँ वायाँ रहेका डाँडा अग्लो भएको र रिठ्ठेपानी डाँडा रनवे अप्रोचमै पर्ने भएका कारण बाँकी २४ मिटर उचाई कटानलाई अगाडी बढाएका हौँ,' उनले भने। अबको दुई सातामा संचालनमा ल्याउने योजना रहेको यो विमानस्थल नजिक रहेको ल्याण्डफिल्ड साइट एक साता भित्रै पुरिने विमानस्थल प्रमुख विक्रम गौतमले बताए। 

आन्तरिकबाट विकट उडान

हालको आन्तरिक विमानस्थलमा प्राधिकरणले नेभिगेशन सुविधा(भिओआरडीएमइ), आयल निगमको सुविधा, हेलिकोप्टर र अल्ट्रालाइट लगायत तीन क्षेत्रका लागि प्रयोग गरिने जनाएको छ।

प्राधिकरणले यही विमानस्थलबाट पोखराबाट हुँदै आएको विकट गन्तब्य उडान संचालन गर्ने योजना रहेको विमानस्थल प्रमुख गौतमले जानकारी दिए।

यो विमानस्थल स‌ंचालनमा आएसँगै त्रिभुवन विमानस्थलमा हुँदै आएको एयर ट्राफिक चाप न्यून गर्न थप मद्दत पुग्ने प्राधिकरणको अपेक्षा छ।