विराटनगर। मोरङका व्यवसायिक संगठनले बिहीबार चर्को ब्याजदरको विरोधमा आह्वान गरेको विराटनगर बजार बन्दको कार्यक्रम आंशिक मात्र सफल भएको छ।
बिहीबार बिहानैदेखि विराटनगरको मुख्य सडकका अधिकांश पसल खुला छन्। सुनचाँदी, गरगहना, हार्डवेयर, कपडा र विदेशी तयारी वस्तुका पसल पनि धेरैजसो खुला छन्। अन्य फलफूल, किराना, मदिरा र मिठाई पसल पनि प्राय खुला छन्। बजार बन्द आह्वानकर्तामध्ये एक मोरङ व्यापार संघका निर्वतमान अध्यक्ष प्रकाश मुन्दडाको सेन्ट्रल मल पनि बिहानैदेखि खोलिएको छ।
यसैबीच आन्दोलनमा उत्रिएका व्यवसायीले बिहान १०.३० देखि नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको मुख्य कार्यालयमा धर्ना दिइरहेका छन्।
व्यवसायीले राष्ट्र बैंकको प्रादेशिक कार्यालयमा पैदल जाने कसैलाई पनि रोकेका छैनन्। तर नगद बोकेका गाडीको आवतजावत भने ठप्प पारेका छन्। धर्ना कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण नेपालका व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताए।
उनले अहिले १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए।
सीएनआइ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंकले खुल्ला अर्थनीतिका नाममा नेपालका वाणिज्य बैंकलाई सामन्त बनाइरहेको आरोप लगाए। अध्यक्ष घिमिरेले राष्ट्र बैंककै आडमा व्यापारिक बैंकहरू चोरी खान पल्किएको टिप्पणी गरे। घिमिरेले अहिलेको विकराल परिस्थिति र व्यापारिक मन्दी ल्याउन सरकार र राष्ट्र बैंक दुवै जिम्मेवार भएको धारणा राखे।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामा स्प्रेड दर ४ प्रतिशत बनाउने भनिए पनि त्यसलाई किन कार्यान्वयन गरिएन भन्दै आक्रोश व्यक्त गरे।
वरिष्ठ उपाध्यक्ष मुरारकाले ब्याज घट्न नदिने ठुलो खेलाडी राष्ट्र बैंक नै भएको दाबी गर्दै स्प्रेड दर ४ प्रतिशत बनाउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरे ।
उनले देशैभरका व्यवसायीले चालु पुँजी कर्जा निर्देशिकाको विरोध गरिरहेको उल्लेख गर्दै यस निर्देशिकाले देशको अलिअलि बचेको उद्योग व्यवसायालाई पनि धराशायी बनाउने दाबी गरे।
व्यवसायीले शुक्रबार पनि नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम राखेका छन्।