
काठमाडौं। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले डोल्मा फन्ड म्यानेजमेन्ट (डीएफएम) द्वारा प्रवर्द्धित स्वपुँजी लगानी (प्राइभेट इक्विटी) कोष डोल्मा इम्प्याक्ट फन्ड दोस्रोमा १ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ।
मुख्यगरी नेपालको तीनवटा पूर्वाधार विस्तारमा लगानी खर्चिने सम्झौता भएको छ। औद्योगिक विकास, रोजगारी सृजना र नवीकरणीय ऊर्जा विस्तार गर्ने उद्देश्यले डोल्मा फाउन्डेसन दोस्रोमा जाइकाले १ करोड अमेरिकी डलर लगानी गर्नेछ।
डोल्मा फन्ड म्यानेजमेन्ट 'डिएफएम' द्वारा प्रवर्द्धित प्राइभेट इक्विटी कोष 'डिआइएफ दोस्रो' मा यो लगानी गरिएको जनाइएको छ। जाइकाको लगानी नेपालमा निजी क्षेत्रबाट प्रवर्द्धित स्वास्थ्य सेवा, सूचना/डिजिटल प्रविधि तथा नवीकरणीय ऊर्जामा काम गर्ने कम्पनीहरुमा उपयोग गरिने डोल्मा इम्प्याक्ट फन्डले जनाएको छ।
जाइकाले उक्त लगानी नेदरल्याण्ड्सकझ उद्यमशीलता विकास बैंक (एफएमओ), बेलायत सरकारको विकास बैंक (बीआइआइ), स्वीडेन सरकारको विकास वित्तीय संस्था स्वीडेफन्ड, अमेरिकी सरकारको विकास वित्तीय नियोग (डीएफसी) र विश्व बैंकको आइएफसीसँगै सहवित्तीयकरणमा लगानी गरेको हो। सम्झौतासँगै डोल्मा इम्प्याक्ट फन्ड दोस्रोको कुल कोष ७१ करोड ९६ लाख डलर पुगेको छ।
सात वर्ष अगाडिको भूकम्पका कारण प्रभावित जनजीवन र रोजगारी सृजनालाई मध्यनजर गर्दै यो लगानी गरिएको जाइकाले जनाएको छ।नेपालको अनुमानित जलविद्युत उत्पादन क्षमता कुल ४२ हजार मेगावाट रहेको कारण एसियाको हरित गृह ग्यास उत्सर्जन घटाउन विशेष योगदान दिने जाइकाको दाबी छ।
डोल्मा फन्ड प्रथम र दोस्रोमार्फत मुलुकमा नवीकरणीय ऊर्जा परियोजना, सूचना, प्रविधि र स्वास्थ्य क्षेत्रमा लगानीसँगै प्राविधिक सहयोग गर्दै आएको जनाएको छ। कोषको व्यवस्थापनले मुलुकको पुँजीबजार, प्राइभेट इक्विटी क्षेत्रको विकास एवं प्रवर्द्धनमा अग्रणी भूमिका खेल्दै आएको छ।
महिला सशक्तिकरण अन्तर्गत 'टु एक्स च्यालेन्ज: फाइनान्सिङ फर वुमेन' मार्फत कोषले लैंगिक समानताका लागि महिलाद्वारा प्रवर्द्धित कम्पनीमा लगानी गर्ने जनाएको छ। कोषका अनुसार यसमार्फत युएन सस्टेनेबल गोल, लैंगिक समानता, मर्यादित काम र आर्थिक वृद्धिमा सकारात्मक टेवा पुर्याउने उद्देश्य लिइएको छ।
जाइकाले मुलुकको औद्योगिक विकास, नवीकरणीय ऊर्जा र लगानी वातारणको सुधारमा सहयोग गर्दै आएको छ। डोल्मा फन्ड म्यानेजमेन्टले डोल्मा इम्प्याक्ट फन्ड प्रथम र दोस्रोमा गरी कुल १० करोड ८५ लाख डलर पुँजी परिचालन गर्ने जनाएको छ। कोषले हालसम्म चारवटा नवीकरणीय ऊर्जा, तीनवटा स्वास्थ्य सेवा, ६ वटा सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी प्रतिबद्धता गरिसकेको छ।
हालसम्म ९ हजार ४ सय ५२ जनशक्ति रोजगारी परियोजनामार्फत हरेक वर्ष ३ लाख ९ हजार ९ सय ९६ टन हरित गृह ग्यास उत्सर्जन कम गर्न मद्दत पुग्दै आएको जनाइएको छ।