
काठमाडौं। इलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिने वा नदिने बारे पोल ट्वीट गरेका छन्। मस्कले ट्वीटर प्रयोगकर्ताहरु समक्ष आफू सीइओ बनिराख्ने की राजीनामा गर्ने भन्ने मत अभिव्यक्त गर्न पोल खडा गरेका हुन्।
सीइओ भएसँगै मस्कले ट्वीटरमा कार्यरत हजारौं कर्मचारी हटाउनेदेखि व्यापक नीतिगत परिवर्तन गर्दै आएका छन्। यसका साथै ट्वीटर ब्लू प्रिमियम सब्स्क्रिप्सन योजना र विवादित व्यक्तित्व तथा संस्थाहरुको ट्वीटर खातामा लगाइएको प्रतिबन्ध मस्कले हटाएका थिए।
मस्कले यसअघि नै आफू ट्वीटरको सीइओ लामो समयसम्म नबस्ने प्रतिक्रिया दिएका थिए। मस्कले टेस्ला, स्पेस एक्स, द बोरिङ कम्पनी, न्युरालिंक र मस्क फाउन्डेसनको सीइओ छन्। मुख्यगरी टेस्लाका लगानीकर्ताहरुले मस्क ट्वीटरमै धेरै अल्झिएको भन्दै चर्को आलोचना गर्दै आएका छन्।
ट्वीटरबाट विज्ञापनदाताहरु हट्दै गएपछि कम्पनीको आम्दानीमा ठूलो धक्का पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। जसका कारण ट्वीटर नै टाट पल्टिन सक्ने जोखिम बढ्दै गएको बताइएको छ।