
काठमाडौं। सेल्सबेरी डिपार्टमेन्ट स्टोरको माउ संस्था सेलवेज क्यास र क्यारी कम्पनीको कारोबार २०२१/२२ मा २ अर्ब २७ करोड १० लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्ष २०२०/२१ मा कम्पनीले दुई अर्ब रुपैयाँको कारोबार गरेको थियो। सेल्सबेरी र सेल्सबेरी एक्सप्रेसको ब्राण्डमा कम्पनीले काठमाडौं, ललितपुर र पोखरामा ३२ वटा स्टोर संचालनमा छ।
कम्पनीले सन् २०२० मा एक अर्ब ७३ करोड रुपैयाँको कारोबार गरेको थियो। २०१९ मा एक अर्ब ४८ करोड ५० लाख रुपैयाँ, २०१८ मा एक अर्ब तीन करोड ३० लाख रुपैयाँ र २०१७ मा २१ करोड २० लाख रुपैयाँको कारोबार गरेको रेटिङ एजेन्सी इक्रा नेपालले जनाएको छ। कोरोना महामारीमा पनि कम्पनीको सेल्स राम्रै रहेकाले वित्तीय अवस्था झन् सुदृढ हुँदै गएको देखिन्छ।
पछिल्लो समय नेपाली उपभोक्ताहरुको रोजाइ ठूला सुपरमार्केट/स्टोर भएसँगै फास्ट मुभिङ कन्जुमर गुड्स (एफएमसीजी) मो माग बढ्दै गएको छ। मागलाई पूर्ति गर्नैका लागि कम्पनीले केही वर्षयता आक्रामक रूपमा आउटलेट विस्तार गर्दै लगेको छ। आउटलेट विस्तारमा लागेपछि कम्पनीले दीर्घकालीन कर्जा (लङ टर्म लोन) र वर्किङ क्यापिटल लोन अधिक प्रयोग गर्दै आएको छ।
कम्पनीको प्रमुख आम्दानीको स्रोत एफएमसीजी छ। कम्पनीले गर्ने आम्दानीमा एफएमसीजीको ३६%, दैनिक आवश्यक खाद्यान्नको १०% र फ्रोजन फुडको ९% हिस्सा छ। २०२२ मा ६ एफएमसीजी, दैनिक आवश्यक खाद्यान्न र फ्रोजन फुडबाट हुने आम्दानीको कुल हिस्सा ५५ प्रतिशत छ।
कम्पनीले सन् १९९२ पहिलो डिपार्टमेन्ट स्टोर पोखरामा खोलेको थियो। जसलाई कम्पनीले सेल्वेज डिपार्टमेन्टल स्टोर नामकरण गरिएको थियो। सेल्सबेरी एक्सप्रेस भने सानो डिपार्टमेन्ट स्टोर भएको कम्पनीले जनाएको छ।
सेलवेज क्यास र क्यारी कम्पनीले इक्राबाट एक अर्ब ७० करोड ५४ रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ। ९७ करोड ५१ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी एल डबल बी र ७३ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि कम्पनीले एनपी ए फोर रेटिङ पुन:पुष्टि गराएको छ।
कम्पनीमा सुशीलमान प्रधानांग (५१%), सृजना श्रेष्ठ (४२%) र चेतनारायण पौडेल (७%) को सेयर स्वामित्व छ। प्रधानांग कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन्।