आजको युगमा प्रविधिले जीवनका हरेक पाटालाई सहज र सरल बनाइरहेको छ। साधारण मानिसको दिन-दैनिकी तथा जीवनयापन, व्यवसायलाई उन्नत र परिणममुखी बनाइरहेको वर्तमान सन्दर्भमा सोच्नुस् कि तपाई बत्ती, धारा, टेलिफोन वा इन्टरनेटको बिल आफ्नो संलग्ताविना नै वा एउटा सामान्य क्लिक र स्वीकारोक्त्तिको भरमा तिरिसकिएको हुन्छ। यो सेवा अझ सरल, परिष्कृत र ठूलो जनसंख्यामा पुर्याउन सकिन्छ।
तपाईको व्यक्तिगत सल्लाहकारका रूपमा कसैले काम गरी सुहाउदो कुनै निक्षेप, कर्जा एवम् अन्य वित्तीय सेवाहरु तपाईसामु स्वतः प्रस्तुत हुनेछ। तपाईको खरिदको प्रकृतिको सूक्ष्म सिंहावलोकन गरी तपाईलाई उपयुक्त समयमा खोजेको-रोजेको सामान सुपथ मूल्यमा किन्ने अवसर दिइनेछ।
यी सबै तब सम्भव हुन्छ, जब वित्तीय सेवा प्रदायक कम्पनी (अकाउन्ट एग्रीगेटर) ले तपाइसँग लिनुपर्ने रकम तपाईको खाताबाट आवश्यकताअनुसार डेबिट गर्न वा झिक्न पाउनेछन्। साथै तपाईको समग्र बैंकिङ प्रणालीमा रहेको बैंक खाताको विवरणमा आवश्यक पहुँच पाउनेछन्।
यस किसिमको व्यवस्थालाई उजागर गराउने मानकलाई वित्तीय क्षेत्रको भाषामा 'ओपन बैंकिङ' भनिन्छ, जसले नेपालको बैंकिङ प्रणालीमा सहज प्रवेश पाइसकेको छैन।
के हो ओपन बैंकिङ
सामान्य अर्थमा भन्ने हो भने ओपन बैकिङलाई 'ओपन बैंक डेटा' भनेर पनि बुझ्न सकिन्छ। यो एउटा नौलो बैंकिङ अवधारणा हो, जसमार्फत् एक वित्तीय सेवा प्रदायक कम्पनीले बैंकका ग्राहकहरुको व्यक्तिगत वा संस्थागत जानकारी, सम्पूर्ण बैंकिङ कारोबारको जानकारी एप्लिकेसन प्रोग्राम इन्टरफेस (एपीआइ)को प्रयोगमार्फत सजिलै प्राप्त गर्न सक्दछ।
जसको मद्दतले वित्तीय सेवा प्रदायक कम्पनीले कुनै पनि वित्तीय संस्थाका ग्राहकहरुलाई फरक तर अत्यन्त लाभदायी सेवासुविधाहरु प्रदान गर्नसक्दछ। सो एपीआइको मद्दतले ग्राहकको बैंक खाता र सो सम्बन्धी विवरण वित्तीय संस्था, सेवा प्रदायक र ग्राहक माझ सुरक्षित ढंगबाट आदानप्रदान हुन्छ। यसले हालको परम्परागत बैकिङ अवधारणामा नवीनता ल्याउन र बैंकिङ व्यवसायलाई थप विश्वसनीय तथा उपयोगी बनाउन आवश्यक भूमिका खेल्न सक्दछ। साथसाथै यसले ग्राहकवर्गमा बैंक तथा वित्तीय संस्थाहरुको सेवा विस्तार, ग्राहकहरुको गुनासाहरु उचित ढंगबाट तथा समयमा नै समाधान गर्न महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ।
विशेषतः ओपन बैंकिङमा ग्राहकको डेटाको महत्त्व हुन्छ, यसमा शक्ति हुन्छ। वित्तीय संस्थाहरुको प्रणालीमा रहेको डेटा सो वित्तीय संस्थाको नभई स्वयम् ग्राहकको हुन्छ र ग्राहकले गरेका कारोबारको सूक्ष्म अध्ययनमार्फत ग्राहकको सही तथा उचित सेवा पाउनु उनीहरुको अधिकार हो भन्ने सिद्धान्त स्थापित गर्दछ।
यसरी हुन्छ ओपन बैंकिङमा काम
सर्वप्रथम ग्राहकलाई आफ्नो खाताको विवरण बैंकमार्फत् विश्वसनीय सेवा प्रदायकसँग सेयर गर्दा थप तथा आकर्षक सेवासुविधाहरु प्राप्त हुने जानकारी गराउदै उनीहरुको विवरण सेयरिङको अनुमति लिनुपर्ने हुन्छ। यसरी अनुमति पाएपछि वित्तीय संस्थाहरुले ग्राहकको डेटा वित्तीय सेवा प्रदायक (उपयुक्त पूर्वाधार सहितको सुरक्षित प्रविधि प्रयोगमा मानक साबित भएका) कम्पनीहरुसँग सहकार्य गरी सेयर गर्नेछन्।
तर, ध्यान दिने कुरा यो छ कि ओपन बैंकिङको अवधारणालाई अंगीकार गर्दै ग्राहकको महत्त्वपूर्ण विवरण सेयर गर्दा वित्तीय संस्था र सेवा प्रदायकहरुले आफ्नो नियामक निकायले निर्दिष्ट गरेका नियमहरुको पालना सँगसँगै आवश्यकतानुसार पेमेन्ट सरभिस डिरेकटीभ (पीएसडी) २ र जनरल डेटा प्रोटेक्सन राइट (जीडीपीआर)ले निर्देशित गरेको नीतिनियमहरुको पालना गर्नुपर्छ।
यसमा रहेको नियमनकारी मापदण्डले विशेषगरी ग्राहक र उनीहरुसँग सम्बन्धित डेटा सुरक्षित हुने, भुक्तानी प्रणाली छिटो छरितो हुने र विवादास्पद भुक्तानीको समयमा नै फर्छ्यौटका प्रावधानहरुको सम्बन्धमा विशेष ध्यान दिएको देखिन्छ।
ओपन बैंकिङको अवधारणासँगै बैंकले एपीआइ सेयर गरे मार्फत् आएको आयले आम्दानीको नयाँ आयाम र स्रोत सुनिश्चित गर्न सक्दछ। जसले गर्दा डिजिटल बैंकिङलाई सधै खर्च केन्द्रित विभागका रूपमा परिभाषित गर्दै आएकोमा अब उपरान्त यस विभागलाई आय र नाफा केन्द्रित विभागका रुपमा परिभाषित र परिष्कृत समेत गर्न सकिन्छ। साथसाथै, हालैमा प्रकाशमा आएको नियो बैंकको अवधारणालाई मूर्तरूप दिन समेत यसले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
नेपालको सन्दर्भ
केही वर्ष अघिसम्म नेपालमा ओपन बैंकिङको सान्दर्भिकता प्रायः शून्य नै थियो। हालका वर्षहरुमा भर्खरै सञ्चालनमा आएका केही आईटी कम्पनीहरुले यदाकदा ओपन बैंकिङको सन्दर्भ बहसमा बाहिर ल्याएको देखिन्छ। ती कम्पनीहरुले नै ओपन बैकिङजस्तो नौलो र बहुउपयोगी अवधारणालाई उजागर गरी बैंक सामु यसको उपयोगिता प्रस्तुत गर्दै नयाँ युगका ग्राहकमाझ नयाँ-नयाँ सेवाहरु पस्कन सक्नुपर्दछ।
नेपालका बैंकहरु विशेषतः आफ्नो दैनिक कार्य जस्तै निक्षेप संकलन, कर्जा विस्तार, एन्सिलरी सेवाहरुको विस्तार, सेवाहरुको समुचित संचालन, जोखिम न्यूनीकरण आदि कार्यहरुमा आफ्नो दैनिकी खर्च गरिरहेका छन्। त्यसैले बैंकले आफ्नै ओपन बैंकिङ जस्तो फरक र नवीन अवधारणा प्रयोगमा ल्याउन धेरै नै समय लगाउने देखिन्छ। छिमेकी देश भारतमा नेशनल पेमेन्ट काउन्सिल अफ इन्डिया (एनपीसीआइ) ले युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआइ) मार्फत् ओपन बैंकिङको अवधारणा सन् २०१६ मा नै बजारमा ल्याइसकेको हो। तत्पश्चात त त्यहाँका बैंकहरु कोटक महिन्द्रा, आइसीआइसीआइ, यस बैंक, एचडीएफसी लगायतले ओपन बैंकिङको अवधारणा अनुसरण गर्दै वित्तीय सेवा प्रदायकहरुको मद्दतले करिब २५० वटा एपीआइहरु मार्फत् ग्राहकहरु माझ सरलीकृत तथा विकसित सेवाहरु प्रदान गर्दै आएका छन्।
उदाहरणका लागि कम विवरणले बैंक खाता खोल्ने, व्यक्तिगत वित्तीय व्यवस्थापन गर्ने, उपभोक्ता कर्जा (बाई नाउ पे लेटर) को अनुमोदन गर्ने, कर्जा कलेक्सनको सहजीकरण गर्ने, लगानीका अवसरहरु प्रदान गर्ने।
यसरी ओपन बैंकिङको नवीनतम प्रयोगले भारत र विशेषगरी युरोपेली मुलुकहरुमा ल्याएको सहजता र सफलतालाई आत्मसात गर्दै नेपालमा टेक्नोलोजी कम्पनीहरुले पनि उपयोगिता, सान्दर्भिकता, यसका प्रक्रिया, यसले ल्याउन सक्ने सेवामा सहजीकरणलाई बुझेर बैंकलाई बुझाइ सहकार्य गर्दै परिस्कृत सेवाहरु ग्राहकमाझ पस्कन धेरै आवश्यक देखिन्छ।
(लेखक शाही 'क' वर्गको बैंकमा बीपीआर प्रमुख छन्)