
काठमाडौं। सडक डिभिजन नुवाकोटले विभिन्न पुल तथा सडक निर्माणको काम समयमा सम्पन्न गर्न ५ वटा निर्माण व्यवसायीहरुलाई निर्देशन दिएको छ।
डिभिजनका अनुसार यी निर्माण कम्पनीहरुले पटक-पटक ताकेता गर्दा पनि निर्माण कार्य सन्तोषजनक नदेखाएकाले यो अन्तिम पटकको लागि काम सम्पन्न गर्न निर्देशन दिएको हो।
डिभिजनले बालाजु- त्रिशुली- ढुन्चे- स्याप्रुबेसी सडक खण्डमा पर्ने सोले त्रिशुली पुल निर्माण गरिरहेको आशर्य-लिक जेभीलाई समयमा काम समपन्न गर्न निर्देशन दिएको छ।
यस्तै टाडी खोलामा निर्माण हुने आरसीसी ब्रिजको ठेक्का पाएको शर्मा/ वाइबा कन्स्ट्रक्सनलाई पनि समयमा काम सम्पन्न गर्न भनेको छ।
यसैगरी जोशी/ पीपी जेभीले निर्माण गरी रहेको रिमाल्डी खोला पुलको पनि काम तोकिएको समय सम्पन्न गर्न डिभिजनले निर्देशन दिएको हो। साथै माङपाङ खोला पुल निर्माणको जिम्मा पाएको हिरा/ नमिता कन्स्ट्रक्सनलाई पनि काम चाडो सक्न डिभिजनले ताकेता गरेको छ।
सडकमा आवश्यक पर्ने ट्राफिक सेफ्टी वर्कस नुवाकोट र रसुवा जिल्लामा पर्ने सडकमा निर्माण गर्न मनकामना कन्स्ट्रक्सनलाई ठेक्का प्रदान गरिएको थियो। तर उक्त निर्माण कम्पनीले हालसम्म पनि निर्माण कार्य सम्पन्न गर्न नसकेको भन्दै डिभिजनले समयमा काम सक्न निर्देशन दिएको छ।
यसैगरी टोखा हुदै नुवाकोट जाने गुर्जेभन्ज्याङ छहरे सडक दोस्रो खण्ड निर्माण कार्य सक्न पनि डिभिजनले मनकामना कन्स्ट्रक्सनलाई ताकेता गरेको छ। डिभिजनले यी निर्माण कम्पनीले तोकिएको समयमा काम सम्पन्न नगरे ठेक्का तोड्ने प्रकृयामा जाने जनाएको छ।