पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ एनएसीलाई

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ मंसिर १५ गते १५:३८ | Dec 1, 2022
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ एनएसीलाई

काठमाडौं। निजी वायुसेवा कम्पनीले आँखा लगाएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई नै दिएको छ।

Tata
GBIME
Nepal Life

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका दुई वायुसेवा कम्पनीले ग्राउण्ड ह्यान्डलिङमा आँखा लगाएका थिए। गौतम बुद्धमा चिनियाँ संयुक्त लगानीको हिमालय एयर र पोखरामा बुद्ध एयरले ग्राउण्ड ह्यान्डलिङका लागि औपचारिक प्रस्ताव नै गरेका थिए।

तर प्राधिकरणले दुबै विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा निगमलाई दिएको छ। प्राधिकरणले बुधबार निगमलाई पत्र पठाउँदै पोखरा विमानस्थलको ग्राउण्ड ह्यन्डलिङका लागि तयारी गर्न निर्देशन दिएको छ भने गौतम बुद्ध निगमले नै चलाइरहेको छ। निर्वाचन अघि प्राधिकरणले गौतम बुद्ध विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा हिमालयलाई दिने तयारी अन्तिम चरणमा पुर्‍याएको थियो।

निगमले गौतम बुद्धबाट उडान नगरेको भन्दै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हिमालयलाई दिने चेतावनी मात्रै दिएका थिएनन् हिमालयको परीक्षण फ्लाइटमा भैरहवा पुगेपछि पोखरा विमानस्थलको ग्राउण्ड ह्यान्डलिङ पनि निगमले नपाउने घोषणा गरेका थिए। तर यो निर्णय गर्न नपाउँदै चौतर्फी दबाब परेपछि अधिकारी पछि हटे। उनले केही दिन अघि बिजमाण्डूसँग निगम वाहेक अरुलाई ग्राउण्ड ह्यान्डलिङको जिम्मा नदिने बताएका थिए।

 

प्राधिकरणले निगमलाई पठाएको पत्रमा पोखरा विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङको काम विहीबारदेखि सुरु गर्न निर्देशन दिएको छ। 'यस अघि दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा दिँदै आएको जनाउँदै प्राधिकरणले हामीलाई पोखराको ग्राउण्ड ह्याण्डलिङ सेवा दिन निर्देशन पत्र आएको छ। हामीले आफ्नो सेवा थप चुस्त बनाउनका लागि कमिटी गठन गरिसकेका छौँ। विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा संचालनका लागि आवश्यक जनशक्ति र उपकरणको तयारी पुरा गर्नेछौँ,' निगमका एक कर्मचारीले भने।

निगमले माग अनुसार उपकरण र जनशक्ति विस्तार गर्दै लैजाने ती कर्मचारीले बताए। विमानस्थलमा रहेको बोर्डिङ ब्रिज संचालनका लागि निगमले आफ्ना जनशक्तिलाई दुई साताको तालिम दिने तयारी गरेको छ। निगमको टोली अनुगमनका लागि पोखरा गइसकेको छ।

लामो रस्साकस्सीपछि भैरहवाबाट उडान गर्दै एनएसी

लामो रस्साकस्सीपछि निगमले गौतम बुद्ध विमानस्थलबाट कतार र मलेसिया उडान गर्ने भएको छ। प्राधिकरण र निगमका उच्च अधिकारीको असमझदारीका कारण भैरहवा विमानस्थलबाट उडान गर्ने बारे अन्योल थियो।

निगमले पुस ४ गतेदेखि भैरहवाबाट मलेसिया र कतार उडान गर्नेछ। प्राधिकरणले गौतम बुद्धमा ट्राफिक बढाउन निगमलाई उडानका लागि आग्रह गरेको थियो। तर निगमको उच्च व्यवस्थापनले अटेर गरेपछि प्राधिकरणले काठमाडौ- दिल्ली उडान नै कटौती गरेको थियो। उडान कटौतीका कारण २४५ यात्रु अलपत्र परेका थिए।

त्यसपछि निगमले काठमाडौं- दिल्ली-भैरहवा- काठमाडौं उडानका लागि प्रस्ताव गर्‍यो। यो प्रस्ताव प्राधिकरणलाई अप्ठेरोमा पार्न गरिएको थियो। नेपाल र भारतबीच गौतम बुद्धका लागि उडान गर्न सहमति नभएकोले प्राधिकरण अप्ठेरोमा परेको थियो। त्यसपछि प्राधिकरणका महानिर्देशक अधिकारीले भारत वाहेकका गन्तब्यमा उडान गर्न आग्रह गरेका थिए।