चर्को ब्याज र अर्थतन्त्रमा मन्दी देखिँदा नयाँ लगानीमा ब्रेक, कात्तिकमा जम्मा ३ वटा उद्योग दर्ता

बिजमाण्डू
२०७९ मंसिर १४ गते १२:२२ | Nov 30, 2022
चर्को ब्याज र अर्थतन्त्रमा मन्दी देखिँदा नयाँ लगानीमा ब्रेक, कात्तिकमा जम्मा ३ वटा उद्योग दर्ता

काठमाडौं। चर्को ब्याज र अर्थतन्त्रमा मन्दी देखिँदा नयाँ लगानी विस्तारमा ब्रेक लागेको छ। बजारमा वस्तु तथा सेवाको घट्दो मागका कारण उद्योगी व्यवसायीले लगानी विस्तारलाई रोकेका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी र चर्को ब्याजदरका कारण नयाँ लगानी करिब-करिब बन्द रहेको जानकारी दिए।

उद्योगी श्रेष्ठले नवलपरासीमा सिद्धिलक्ष्मी फुड्स प्रालि दर्ता गरेर उद्योग स्थापना अगाडि बढाएका थिए। श्रेष्ठको लक्ष्मी समूहले दाल, चामल, तेल प्रशोधन गर्ने उद्योग स्थापना गर्ने भन्दै गत साउनमा कम्पनी दर्ता गरेको थियो।

यो उद्योगमा २ अर्ब ८६ करोड लगानी तयारी समूहको थियो। त्यसका लागि समूहले नवलपरासीमा जग्गा पनि किनिसकेको थियो। अहिले आएर यो समूहले यो क्षेत्रको लगानी रोकेको छ। श्रेष्ठले तत्कालका लागि उद्योग स्थापना गर्ने योजना रोकेको बताए।

‘जुन उद्योगले लगानी सुरु गरेर पूर्वाधार बनाइरहेको छ यस्ताले पनि ऋण पाइरहेका छैनन्। बैंकहरुले कमिटमेन्ट गरेको ऋण समेत दिन सकिरहेका छैनन। नयाँ लगानी आउने सम्भावना नै छैन,’ उनले बिजमाण्डूसँग भने, 'त्यही भएर हामीले यो प्रोजेक्ट होल्ड गरेका छौं।' ठूला व्यवसायी मात्रै होइन सामान्य व्यवसाय गर्नेहरु पनि समस्यामा छन्।

धादिङका ट्रक व्यवसायी विष्णु श्रेष्ठ अर्को ट्रक थप्ने तयारीमा छन्। तर उनले आफ्नो योजना अघि बढाएको ७ महिना पुगिसकेको छ। बैंकले ऋण स्वीकृत नै गरेन। त्यसैले उनी अहिले एउटा मात्रै ट्रक चलाइरहेका छन्। बैंकले ऋण नदिँदा पनि लगानी संकुचन भएको छ।

उद्योगमा नयाँ लगानी आउन नसकेको उद्योग विभागकै चहलपहलबाट पनि स्पष्ट हुन्छ।

अहिले विभागमा नयाँ उद्योग दर्ताका लागि लगानीकर्ता नै आएका छैनन्। त्यही भएर कात्तिकमा जम्मा तीन वटा उद्योगको मात्रै लगानी स्वीकृति भएको छ। त्यतिमात्रै होइन चालु आर्थिक वर्षको चार महिनामा ८९ वटा उद्योग मात्रै दर्ता भएको छ। गतवर्षको यही अवधिमा १ सय १७ वटा उद्योग दर्ता भएको थियो।

विभागका महानिर्देशक रामचन्द्र तिवारीले मन्दीका कारण नयाँ उद्योग दर्तामा आउने क्रम करिब-करिब ठप्पजस्तै रहेको बताए। उनका अनुसार अहिले विभागका कर्मचारी फुर्सदिला भएका छन्। विभागमा अरु समयमा कर्मचारीलाई भ्याइनभ्याइ हुन्थ्यो। तिवारीले कात्तिक अवस्था यो महिना पनि रहे अध्ययन नै गर्ने जानकारी दिए।

तिवारीका अनुसार चुनाव र चाडपर्वको कारण पनि लगानीमा कम आएको हुन सक्छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चर्को ब्याज र अर्थतन्त्रमा देखिएको मन्दीले नयाँ लगानी आउन नसकेको स्वीकार गर्दै संचालनमा रहेका उद्योग जोगाउन पनि कठिन रहेको बताए। उनले भने ‘अहिले लगानीयोग्य पुँजी जुटाउन निकै कठिन छ। बढ्दो ब्याजदर अर्थतन्त्रमा आएको मन्दीको पीडा व्यावसायीमा सहनै नसकिने अवस्था छ। यस्तो कठिन अवस्थामा नयाँ लगानी आउने कुरै भएन।'

महासंघले भर्खरै गरेको अध्ययनमा समेत निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, फलामे छड लगायतका उद्योगहरु औसत ३० प्रतिशत क्षमतामा चलिरहेको देखिएको छ भने दैनिक उपभोग्य सामानहरुको बिक्री १८ प्रतिशत घटेको छ। विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशतले संकुचन आएको छ भने अटोमोबाइलको कारोबार ७५ प्रतिशतले कारोबार छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मन्दीका कारण ८० प्रतिशतले नयाँ लगानी रोकेको बताए। 'चरम मन्दीका बेलामा नयाँ लगानी गर्नुको कुनै अर्थ हुँदैन। त्यही भएर ८० प्रतिशतसम्म उद्योगी व्यवसायीले सबै योजना स्थगित गरेका छन्,' उनले बिजमाण्डूसँग भने, 'अहिले नयाँ लगानीका लागि ऋण पनि पाईँदैन। पाइए पनि १८ प्रतिशत ब्याजमा उद्योग चलाउन सकिँदैन।'