माउण्टेन इनर्जीले १२ मेगावाटको मिस्ट्रीखोला-२ बनाउने, ३ वर्षमा व्यवसायिक उत्पादनको लक्ष्य

बिजमाण्डू
२०७९ मंसिर १३ गते ११:५७ | Nov 29, 2022
माउण्टेन इनर्जीले १२ मेगावाटको मिस्ट्रीखोला-२ बनाउने, ३ वर्षमा व्यवसायिक उत्पादनको लक्ष्य

काठमाडौं। म्याग्दीको कालीगण्डकीमा पहिचान भएको १२ मेगावाटको मिस्ट्रीखोला-२ जलविद्युत आयोजना निर्माण हुने भएको छ।

Tata
GBIME
Nepal Life

माउण्टेन इनर्जी नेपाल लिमिटेडले आयोजना निर्माणको प्रक्रिया अघि बढाएको हो। आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२, ३, ४ र ५ मा रहेको कालीगण्डकी नदीमा निर्माण हुनेछ। आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ। कम्पनीले विद्युत विकास विभाग समक्ष उत्पादन अनुमतिको लाइसेन्स मागेको छ। 

यो नदी प्रवाहमा आधारित आयोजना हो। संचालनमा रहेको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाको विद्युतगृहबाट निस्कने पानी प्रयोग गरी निर्माण हुने क्यासकेड आयोजना हो। वार्षिक सरदर ६७.५२ गिगावाट आवर विद्युत उत्पादन हुनेछ।

आयोजनाका मुख्य संरचनाहरु कालीगण्डकी नदीको बायाँ किनारमा र विद्युतगृह बायाँ किनारमा निर्माण हुनेछ। ११६५.१५ मिटरको हेडरेस कल्भर्ट हुँदै १३३०.३० मिटर  लम्बाइको सुरुङमार्गबाट पेनस्टक पाइप हुँदै सतही विद्युतगृहमा प्रवाह गरिनेछ।

 उत्पादित ऊर्जालाई ३ किमि लामो १३२ केभी सिंगल सर्किट प्रसारणलाइन निर्माण गरी मिस्ट्रीखोला जलविद्युत आयोजनाको स्वीचयार्डमा पुर्‍याइ डबल सर्किट प्रसारणलाइनमार्फत विद्युत प्राधिकरणको दाना सवस्टेसनमा जोडिनेछ।

यो आयोजनाको २०८३ असारबाट व्यवसायिक उत्पादनको लक्ष्य छ।

कम्पनीले ५ मेगावाट क्षमताको तादी जलविद्युत आयोजना र ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण गरेर उत्पादन सुरु गरिसकेको छ।