
काठमाडौं। टाटा मोटर्सले आफ्नो सर्वाधिक बिक्री भएको नेक्सनको ब्याट्री र मोटर फेर्न लाग्ने लागत भारतमा सार्वजनिक गरेको छ। यो गाडीको केही गरी वारेन्टीको समय सकिएपछि ब्याट्री तथा मोटर फेर्ने लागत सार्वजनिक गरेको हो।
नयाँ प्रविधि विकास भइरहेकाले अहिलेसम्म कम्पनीले ब्याट्री तथा मोटर फेर्न लाग्ने लागत तोकेको थिएन। कम्पनीका अनुसार भारतमा यसमा रहेको ३०.२ किलोवाट आवर क्षमताको ब्याट्री फेर्नुपर्दा भारु ७ लाख रुपैयाँ तोकेको छ। यसको नेपाली रुपैयाँमा परिवर्तनगर्दा ११ लाख २० हजार पर्ने देखिन्छ। यसमा लाग्ने भन्सार र आयातकर्ताको नाफा भने थप जोडिने छ।
तर हालसम्म आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले भने उत्पादक कम्पनीले लागत नतोकेकाले ब्याट्री तथा मोटरको मूल्य कति पर्छ भन्न सकेका थिएनन्।
यसैगरी नेक्सनको मोटरको लागत भारु ४ लाख ४७ हजार ४८९ रुपैया तोकिएको छ। यसको नेपाली ७ लाख १५ हजार ९८२ रुपैयाँ ५० पैसा हुन आउँछ। यसमा पनि भन्सार र आयातकर्ताको नाफा जोडिने छ। त्यही अनुसार बिक्रेता कम्पनीले नेपालमा यसको मूल्य निर्धारण गर्नेछन्।
नेक्सन इभीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर वारेन्टी छ। वारेन्टी सकिएपनि ब्याट्री कम्तीमा ८० प्रतिशतसम्मको रेन्ज १२ देखि १५ वर्षसम्म दिने कम्पनीको भनाइ छ। त्यसैले तत्काल ब्याट्री परिवर्तन गर्नु पर्ने भन्ने होइन।
बजारमा इभीको माग बढ्दै गएकाले ब्याट्रीको मूल्य पनि घट्ने सम्भावना छ।