रहरले सुरु भएको कोइकोइ: बिस्तारै बन्दैछ व्यवसाय, आर्टलाई व्यापारमा ढाल्दै दीपशिखा




काठमाडौं। चट्ट मिलेका डिजाइन, साना-ठुला आकारका नोटबुक, स्टिकरहरु। युवालाई लोभ्याउने यी वस्तुको खोजी सोसल साइटबाट गर्नेहरु धेरै छन्।



कतिपयले देखेर अर्डर गरेको, चलाएकोमध्ये पनि पर्न सक्छ 'कोइकोइ नेपाल' का यस्ता प्रोडक्ट। इन्स्टा पेजमा कसैले देखेर जिज्ञासा लागेको छ भने कोइकोइका सुन्दर डिजाइनको पछाडि छुट्टै कथा छ।

यो रहरले सुरु भएको व्यवसाय हो। थाहा पाउन हामीले दीपशिखा र उनले स्टिकर, नोटबुकहरु डिजाइन गर्ने कोठामा पुग्नुपर्छ। 

झट्ट हेर्दा स्कुल-कलेजको होस्टल जस्तै कोठा। ढोकाबाट छिर्नेबित्तिकै दाँयापट्टि दुई तले खाट, भित्ता नै स-साना स्टिकर, आर्ट प्रिन्ट र स्केचका टुक्राहरुले रंगिएको, खाटको अघिल्लोतिर टेबलमा ठूलो कालो प्रिन्टर र त्यसको तल‍तिर सेतो झोला प्याक गरिएको स्टिकर कटिङ मेसिन।

कोठामा पस्नेबित्तिकै एउटा टेबल देखिन्छ, टेबलमा धागो, कैंची, पेपर आदि छरपस्ट छन्। दुईटा चपिङ बोर्डलाई ड्रिल गरेर बनाइएको बुक प्रेसमा भर्खरै बनिरहेको ह्‍यान्डमेड फ्रेन्ज लिङ स्टिच गरिएको नोटबुकहरुको चाङले आँखा तानिहाल्छ। 

कोठाको बायाँ कुनामा पनि एउटा फराकिलो टेबल छ। त्यसमा पनि आर्टस र क्राफ्ट्सका सामानहरु छरिएका छन्। यसो हेर्दा त्यो कोठा कुनै साधारण कोठा नभई कुनै आर्टिस्टको स्टुडियो हो भन्ने भान गराउँछ।

टेबल सँगैको कुर्सीमा दीपशिखा गिरी (२५) आइप्याडमा स्टाइलिस पेनले हाँस (डक) को स्टिकरहरुको डिजाइनको काममा व्यस्त थिइन्। उनी आफ्नो ‘प्यासन प्रोजेक्ट’ कोइकोइ नेपालको लागि नयाँ स्टिकर लञ्चको तयारी गर्दै थिइन्।

सन् २०१९ देखि कोइकोइ नेपालमार्फत आफैंले डिजाइन गरेका स्टिकर, जर्नलिङका लागि नोटबुक, मिनी नोटबुक, बुकमार्क तथा आर्ट प्रिन्टसहरु दीपशिखाले ‘इन्स्टा फ्लोअर्स’हरुलाई उपलब्ध गराउँदै आएकी छन्।

बाल्यकालदेखि नै दबिएको क्रिएटिभ फ्रिडमलाई कोइकोइले ब्युँताएको दीपशिखा सुनाउँछिन्, ‘म सायद त्यति बेला ९ वर्षकी थिएँ। बुबासँग किताबकापी किन्न स्टेस्नरी जाँदा सधैं झैँ स्टिकरहरु किनिदिन आग्रह गरे, तर किनिदिनु भएन। स्टिकरको त्यतिबेला २० रुपैयाँ पर्थ्यो। उहाँका लागि त्यो अनावश्यक र पैसाको बर्बादी थियो।’

दीपशिखा हरेक पटक बुबाआमासँग स्टेसनरी जाँदा आर्ट सम्बन्धि सामानहरू माग गरिरहन्थिन्। जवाफमा सधैँ ‘हुँदैन’ नै पाउँथिन्। तर यसले उनको आर्टप्रतिको झुकावलाई कम हुन भने दिएन। आफूसँग भएका कपी, पेन्सिल नै प्रयोग गरेर उनी केही न केही चित्र कोरिरहन्थिन्।

आँखा, कक्षाकोठाको झ्याल बाहिर देखिएको खुल्ला आकाश, डाँडाकाँडाका दृश्यहरू, साथीहरूको पोट्रेटहरू लगायतको चित्रले दीपशिखाको कापी तथा नोटबुकको अन्तिम पानाहरू भरिएका हुन्थ्यो। आइटीको विद्यार्थी थिइन, रुचि भने आर्टमा। समय बितेसँगै उनको आर्टप्रतिको लगाव झन बढ्दै गयो। उनले आफ्नो इन्स्टाग्राम खातामा पनि आर्टवर्कहरू सेयर गर्ने गर्थिन्। 

‘मेरो इन्स्टाग्राममा मेरो फोटोभन्दा पनि मैले कोरेका चित्र तथा स्केचहरूको पोस्टहरू बढी थियो। यी दुईलाई अलग-अलग गर्नु थियो,’ उनी भन्छिन्। त्यसैले उनले सन् २०१९ को सुरुवाततिर आफ्नो आर्टवर्कका लागि भनेर नै छुट्टै इन्स्टाग्राम पेज ‘कोइकोइ नेपाल’ बनाइन्। यो दीपशिखाका लागि केवल आफूले कोरेको पेन्टिङ, ड्रइङ तथा स्केचहरु सेयर गर्ने माध्यम मात्रै थियो।

उनले क्लेको स-सना मूर्तिहरू पनि बनाउन सुरू गरिन्। साथीहरूले उनलाई आफ्नो आर्टवर्कहरू सेलमा राख्न हौस्याए। ‘साथीहरूले मलाई आर्टवर्कहरू सेलमा राख, हामी किन्न चाहान्छौं भनेर भन्ने गर्थे। त्यसैअनुसार मैले बनाएको क्लेको मिनिएचर सकलेन्ट प्लान्टको स्कल्पचरहरू सेलमा राखेँ। मैले त्यसलाई ५० रुपैयाँमा बिक्री पनि गरें,’ उनी सुनाउँछिन्।

त्यस लगत्तै कोरोना महामारीका कारण देशभर लकडाउन घोषण भयो। दीपशिखाले  स्कल्पचरहरू बनाउन प्रयोग गर्ने एयर ड्राई क्ले बजारमा आउन छाड्यो। उनी आफूलाई व्यस्त राख्नका लागि वाटर कलर पेन्टिङ गर्न थालिन्। स्केज बुकमा बनाएको वाटर कलर पेन्टिङबाट कोइकोइका लागि पहिलो स्टिकर सार्वजनिक गरिन्। 

‘स्केच बुकमा बनाएको पेन्टिङलाई स्क्यान गरेर बनाएकी थिएँ। त्यसलाई प्रिन्ट भने मैले न्युरोडबाट गराएँ। मलाई स्टिकर प्रोडक्सनको बारेमा त्यतिबेला केही पनि आइडिया थिएन। पछि मैले युट्‍युबबाट नै यस बारेमा बुझें। अहिले म प्रिन्ट र कटिङ दुवै आफैं गर्छु।’

इन्स्टाग्राममा केवल २०० फलोअर्स मात्रै थिए। धेरै महत्त्वाकांक्षी भएर सुरुवातमा नै दीपशिखाले ग्यालेक्सी र ब्रोकन बट ब्युटीफुल थिम गरेको दुइटा डिजाइनको १००-१०० पिस स्टिकर प्रिन्ट गर्न लगाइन। खासै राम्रो बिक्री भएन। उनी धैर्य गर्न आफूले आफूलाई सम्झाउने गर्थिन्। 

उनले ‘भाव स्टोर’ मा पनि स्टिकर राखिन्। त्यसले पनि उनको कामलाई कलाप्रेमीहरू माझ चिनाउन सजिलो गरायो। त्यसपछि उनले दोस्रो लटमा ढाकाको स्टिकर लन्च गरिन्। यो स्टिकरले धेरैको ध्यान खिचेको उनी सुनाउँछिन्। पेजमा पनि फलोअर बढ्ने क्रममा नै थियो। 

लकडाउनले गर्दा धेरै जना फुर्सदिला पनि भएका थिए। समय व्यतीत गर्न धेरैले आर्टहरू पनि गर्न थालेका थिए। यसै बेला उनले लकडाउन सम्बन्धि स्टिकरहरू बनाइन्। फलोअर्सहरूको पनि ओइरो लग्यो, त्यो सँगै स्टिकरहरू प्री-अर्डरहरूको पनि।

स्टिकरसँगै उनी २०२१ जनवरीका लागि नोटबुक तयार गर्न पनि काम गरिरहेकी थिइन्। साथै उनी बुकमार्क र आर्ट प्रिन्टहरू पनि डिजाइन गर्नमा व्यस्त थिइन्। 

दीपशिखालाई स्कूलले सानैबाट डायरी लेख्ने बानी बसाएको थियो। ‘हामीले दिनको एक पेज भए पनि आफ्नो दिनचर्याको बारेमा लेख्नै पर्ने हुन्थ्यो। यसरी नै मेरो डायरी बनाउने बानी नै बस्यो। पछि मोबाइल हातमा आएपछि पिनटरेस्ट, युट्‍युबबाट मैले आर्ट जर्नलिङको बारेमा पनि थाहा पाएँ र मैले त्यसलाई अपनाएँ पनि,’ उनले सुनाइन।

आफ्नो दिनचर्या मनमस्तिष्कमा खेलेका कुराहरू शब्दले मात्र होइन स्टिकर तथा आफ्नो पेंटिङ  तथा आर्टको मध्यमबाट पनि व्यक्त गर्न थालिन्। तर वाटर कलर, जेल पेनहरू प्रयोग गर्दा अधिकांश बेला नोटबुकको पछिल्लो पानामा छापिने गर्थ्यो।

‘म त्यो सहनै सक्दिन थिएँ। मैले नछापिने नोटबुकहरू कति खोजेँ पनि। तर, सबै पातलो पेपरको नै भेटाइन। त्यसैले मैले आफैं राम्रो पेपर खोजेर आफ्नो लागि स्याम्पल नोटबुक पनि बनाएको थिएँ। पानाको दुवैतिर वाटर कलरले पेन्ट पनि गरे छापिएन।’

तर, राम्रो गुणस्तरको पेपर पाउन नै एक वर्ष लगेको दीपशिखाको अनुभव छ। स्टेसनरीदेखि प्रेस चहार्दै हिडेको दिनहरू उनको मनमा अझै ताजै छ। उनी भन्छिन्, ‘मार्केट नै सानो भएकाले सामानहरू पाउन नै गाह्रो हुन्छ। पाएपनि धेरै नै महँगो हुन्छ।’

सानोमा आर्टको सामान स्टिकर नपाएर दबिएको क्रियटिभ फ्रीडमलाई अहिले सबै कुरा पाउँदा पनि अरूले बनाएको कमसल नोटबुकको गुणस्तरले सीमित गर्न हुन्न भन्ने दीपशिखालाई लाग्थ्यो।

आफ्नो जस्तै आर्ट जर्नलिङ गर्नेलाई यस्तो समस्या नहोस् भनेर उनले कोइकोइ नोटबुक पनि लन्च गरिन्। सय पिस प्रिन्ट गरेको थिइन्। सबै एक हप्ता नबित्दै बिक्री भयो। थप अर्डरको पनि ओइरो लग्यो। अर्डर धान्न नसकेर केही दिन त उनले बिक्री नै ठप्प पर्नु पर्‍यो। 

दोहोरो चरित्र प्रदर्शन गर्ने गरी कालो र सेतो रंग प्रयोगमा चन्द्रमाको चित्र बनाएर पहिलो नोटबुकको कभर डिजाइन गरेको उनी बताउँछिन्। सो नोटबुकमा उनले १६५ जीएसएम पेपर र खैरो र आँखाको लागि सजिलो बनाउन सानो साइजमा हरियो डटग्रिड प्रयोग भएको थियो।

सामान्य नोटबुकमा प्राय: कालो र ग्रे रङ्गको डटग्रिड हुने गर्छ र पेपर पनि ६५ देखि ८० जीएसएमको मात्रै हुन्छ। जसले गर्दा छापिने समस्या हुन्छ। हाल कोइकोइको नोटबुकहरूमा १८५ जीएसएम पेपर प्रयोग भइरहेको दीपशिखा बताउँछिन्।

हालसम्म उनले ओरिजिनल, स्पेस र अल्केमी गरी तीन भिन्नाभिन्दै डिजाइनको नोटबुक, लगभग ७० फरक डिजाइनका स्टिकर, बुकमार्क, मिनी नोटबुक र आर्ट प्रिन्टहरू निकालिसकेकी छन्। कोइकोइ स्टिकरको ६० देखि ८० रुपैयाँसम्म पर्छ भने नोटबुकहरू ३०० देखि १२०० सम्मका रहेको उनी बताउँछिन्। 

दीपशिखाले धेरैपटक सामानहरू किन यति महँगो भन्ने प्रश्नको सामना गरिरहनु पर्छ। डिजाइनमा लाग्ने मिहिनेत, समय र महँगो कच्चा पदार्थले गर्दा मूल्य त्यति पर्ने भन्दै उनी बुझाउने गर्छिन्। 

कोइकोइको प्रोडक्टहरू विषेशगरी किशोरकिशोरीहरू माझ लोकप्रिय रहेको उनी सुनाउँछिन्,‘टिनएजरदेखि ३० वर्षसम्मको ग्राहकहरू बढी हुनुहुन्छ।’ उनी हाल कोइकोइ नेपाललाई दर्ता गर्ने प्रक्रियामा केन्द्रित छिन्। यसबाहेक उनी भक्तपुर र ललितपुरको आर्किटेक्चरलाई दर्शाउने स्टिकरहरू र फ्रेन्च लिंक स्टिक गरिएको नेपाली पेपरको नोटबुकहरू तयार गर्दैछिन्। 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell