
काठमाडौं। यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्स छाप्न मास प्रिन्टर खरिद गर्न ठेक्का आह्वान गरेको छ। विभागले सोमबार सूचना जारी गर्दै स्मार्ट लाइसेन्स छाप्नका लागि आवश्यक पर्ने मास प्रिन्टर खरिद प्रक्रिया अगाडि बढाएको हो।
विभागका अनुसार यसका लागि सरकारले १० करोड बजेट विनियोजन गरेको छ। हाललाई एउटा मात्र मास प्रिन्टर खरिद गर्न लागिएको विभागले जनाएको छ।
ठेक्कामा अन्तर्राष्ट्रिय तथा नेपाली जेभी कम्पनीले सहभागिता हुन सक्नेछन्। ठेक्कामा सहभागी कम्पनीहरुले सेक्युरिटीका लागि २३ लाख रुपैयाँ राख्नुपर्ने हुन्छ।
ठेक्का पाउने कम्पनीले सम्झौता भएको मितिले ३ महिनाभित्र मास प्रिन्टर विभागमा आपूर्ति गर्नुपर्ने हुन्छ। कम्पनीले यो मेसिन इन्स्टलदेखि सबै सफ्टवेयर काम पनि गर्नुपर्ने विभागले जनाएको छ।
विभागले एक महिना अगाडि १२ लाख स्मार्ट कार्डको लागि ठेक्का आह्वान गरिसकेको छ। यो ठेक्कामा हाल प्राविधिक मूल्यांकन भइरहेको विभागले जनाएको छ।