कुमारी र एनसीसी बैंक मर्जरसँगै एनबी समूहको पहलमा खुलेका वित्तीय क्षेत्रका ब्राण्ड सकिए

बिजमाण्डू
२०७९ असोज १० गते १५:४५ | Sep 26, 2022
कुमारी र एनसीसी बैंक मर्जरसँगै एनबी समूहको पहलमा खुलेका वित्तीय क्षेत्रका ब्राण्ड सकिए

काठमाडौं। एनबि समूह अग्रसर भएर खुलेका वित्तीय संस्थाका लगभग सबै ब्राण्ड सकिएका छन्। सोमबार नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले कुमारी बैंकसँग गाभिने सम्झौता गरेसँगै एनबि समूहको पहलमा खुलेका वित्तीय क्षेत्रका ब्राण्ड समाप्त भएका हुन्।

Tata
GBIME
Nepal Life

कुनै समय वित्तीय क्षेत्रमा शक्तिशाली मानिने यो समूह आर्थिकरूपमा कमजोर भइसकेको छ। 

एनसीसी बैंकमा एनबि समूहको लगानी छ। एनबि समूहले नै 'लिड' गरेर यो बैंक खुलेको हो। मर्जरपछि अब एकीकृत कारोबार कुमारीकै नाममा हुनेछ। यसो हुँदा एनसीसी बैंकको नाम मेटिने छ। यससँगै एनबि समूहसँग जोडिएको वित्तीय क्षेत्रको ब्राण्ड समाप्त भएको हो।

यसअघि नबिल बैंकसँग नेपाल बंगलादेश (एनबि) बैंक गाभिइसकेको छ। एनबी बैंकमा यही समूहको लगानी थियो। नबिलले ४३ रुपैयाँका दरले एनबि बैंकलाई गाभेको थियो।

एनबि समूह जोडिएका व्यवसायलाई नियामकदेखि बजार प्रतिस्पर्धीसम्मले राम्रो मान्दैनथे। एनबी समूह अझै दुई वटा बैंक खोल्नसमेत चाहन्थ्यो। त्यसबेलाका गभर्नर विजयनाथ भट्टराईले त्यो इच्छा पुरा नगरिदिएपछि एनबी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाएर जेलसम्म हालेको थियो। 

एसियाली विकास बैंकको ऋणमा चलेको एक परियोजनाका बिषयमा उनीमाथि झुटा मुद्दा हालिएको थियो। पछि भट्टराईले अदालतबाट सफाइ पाएका थिए। 

पछिल्लो दिन एनबि समूह पनि दुई टुक्रा भइसकेको छ। पहिले जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको परिवारको एनबि समूह थियो।

अहिले दाजु जीतबहादुरको छुट्टै समूह 'जेएन ग्रुप' छ भने भाइ लक्ष्मीबहादुरको नाममा एनबि समूह छ।  दाजुभाइको बारेमा आर्थिक विवाद आएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।

एनसीसी र एनबि बैंक दुवै कुनै बेला समस्यामा गएका थिए। दुवै बैंकमा नियामक नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्नु परेको थियो। एनबि बैंकमा त कुनै बेला जनताको लाइन लागेर टाट उल्टिसकेको थियो।

राष्ट्र बैंकले व्यवस्थापन लिएपछि बैंक जोगिएको थियो। एनसीसी बैंकमा पनि सधैं लफडा भइरहन्थ्यो। राष्ट्र बैंकले नै सानातिना संस्थाहरु मिसाएर एनसीसीमा एनबि समूहको सेयर हिस्सा कम बनाउँदै लगेको थियो।

यसअघि एनबि इन्स्योरेन्स पनि समस्यामा गएको थियो। बीमा समितिले हस्तक्षेप नै गरेर सुधार प्रक्रियामा लैजानु परेको थियो। एनबि  इन्स्योरेन्सलाई आइएमई समूहले खरिद गरेको थियो। त्यसपछि कम्पनीको नाम फेरेर आइएमई इन्स्योरेन्स बनाइएको थियो। यहाँबाट पनि एनबि समूहले बनाएको ब्राण्ड मेटाइएको थियो।

यो समूहले श्रीलंका मर्चेन्ट बैंकिङ भन्ने संस्था पनि खोलेको थियो। यो संस्थाको अवस्था बिग्रिएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो। अहिले यो ब्राण्डमा संस्था छैन।

घट्दैछन् बैंकको संख्या

नेपाल राष्ट्र बैंकले लाइसेन्समा खुकुलो नीति लिँदा कुनै बेला बैंकको संख्या ३२ पुगेको थियो। अब त्यो संख्या घटेर २१ मा आएको छ।

अहिले वाणिज्य बैंकहरुको संख्या २६ छ। अहिले १० वटा बैंक मर्जर प्रक्रियामा छन्। यसबाट ५ वटा बैंकको संख्या घट्ने छ।

कुमारीसँग एनसीसी गाभिने छ। प्रभु बैंकसँग सेञ्चुरी कमर्सियल बैंक गाभिने छ। नेपाल इन्भेष्टमेन्ट बैंकसँग मेगा गाभिँदैछ भने हिमालयन बैंकसँग सिभिल गाभिँदैछ। ग्लोबल आइएमइ बैंकसँग बैंक अफ काठमाण्डू (बीओके) गाभिँदैछ।

यसअघि पनि वाणिज्य बैंकहरुबीच मर्जर भएको छ। ग्लोबल आइएमई बैंकले कमर्ज एण्ड ट्रस्ट बैंक र जनता बैंक नेपाल गाभेको थियो।

प्रभु फाइनान्सले विकास बैंक हुँदै किष्ट बैंकलाई गाभेको थियो। त्यसपछि किष्टको नाम परिवर्तन गरेर प्रभु बनाइएको थियो। प्रभु बनेपछि बैंकले ग्राण्ड बैंक नेपाललाई गाभेको थियो। अब सेञ्चुरीलाई गाभ्दैछ।

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभिसकेको छ।