निक्षेपको ब्याज दरमा बदमासी, दशमलवपछिको तीन अंकले बैंकरबीच तनाव



२०७९ असोज ४ गते ११:३९
निक्षेपको ब्याज दरमा बदमासी, दशमलवपछिको तीन अंकले बैंकरबीच तनाव


काठमाडौं। बैंकहरुले ब्याज दरमा फेरि बदमासी गर्न थालेको छ। प्रकाशित ब्याज दरमा त्रुटि भएको भन्दै केही बैंकले नयाँ ब्याज छापेर बदमासी गर्न थालेका हुन्।

Tata
GBIME

यसको सुरुवात भने भदौ ३१ गतेबाट भएको हो। केही बैंकले साधारण मुद्दतीको ब्याज १२.१३ प्रतिशत छाप्नु पर्नेमा दशमलवपछिको १३ मा अर्को अंक थपेर (उदाहरणका लागि १२.१३३)  प्रकाशित गरेका थिए।

यसले गर्दा १२.१३ प्रतिशत ब्याज दिएका बैंकहरुले आफ्नै मुद्दती निक्षेप पनि नवीकरण गर्न सकेनन्। धमाधम निक्षेप खोसिन थालेपछि असोजमा आएर बाँकी बैंकले ब्याज पुनरावलोकन भन्दै नयाँ प्रकाशित गर्न थालेका हुन्।

'भदौ ३१ गते नै केही बैंकले बदमासी गरे। यसको चर्को विरोध प्रमुख कार्यकारी अधिकृतहरुको भाइबर ग्रुपमा भयो,' एक बैंकरले बिजमाण्डूसँग भने, 'जसले छापे उनीहरुले त्यो ब्याज सच्याउने आश्वासन दिनु भयो। तर, त्यो सच्चिएन। धमाधम अरु बैंकको निक्षेप खोसिन थाल्यो।'

एउटा बैंकको बदमासीले बाँकी सबै बैंकहरु अप्ठेरोमा परेपछि उनीहरुले पनि ब्याज पुनरावलोकन भन्दै थप बदमासी गर्न थालेका हुन्।

गत बिहीबार बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्य समितिको बैठकले यसअघि लादिएको सिन्डिकेट खारेज गर्ने र ब्याज निर्धारण गर्ने अधिकार सम्बन्धित बैंकलाई दिने निर्णय गरेको थियो।

चरम तरलता अभाव भएका कारण ब्याज घटाउने वा स्थिर राख्ने अवस्था  थिएन। त्यसो हुँदा सबै बैंकले राष्ट्र बैंकको नियमभित्र बसेर ब्याज बढाए।

बढेको ब्याज ११.०३ बाट १२.१३ प्रतिशत पुग्यो। यो साधारणको ब्याज हो। रेमिटेन्स मुद्दतीमा १५.१३ प्रतिशत नै पुग्यो। बचत खाताको ब्याज १०.१३ प्रतिशत पुग्यो। अधिकांश बैंकले साधारण मुद्दतीको ब्याज १२.१३ प्रतिशत नै प्रकाशित गरे।

तर केही बैंकले भने १२.१३ मात्र नभइ १२.१३३ प्रतिशत प्रकाशित गरे। संस्थागत निक्षेपमा साधारणभन्दा २ प्रतिशत बिन्दु कम र बोलकबोलमा ०.५ प्रतिशत बिन्दु बढीसम्म जान सकिने ब्यवस्था छ। यसो हुँदा संस्थागतको ब्याज १०.६३ प्रतिशत कायम भएको थियो। तर केही बैंकले १०.६३३ प्रतिशत प्रकाशित गरे।

यही कारण ती बैंकमा संस्थागत निक्षेपकर्ताले पैसा लगे। राष्ट्र बैंकले समेत बढी ब्याज दिने  बैंकलाई पैसा जिम्मा लगायो।

धमाधम निक्षेप खोसिन थालेपछि प्रमुख कार्यकारी अधिकृतहरुको भाइबर ग्रुपमा 'बचन बाण' प्रहार हुन थाल्यो। केही प्रमुख कार्यकारी अधिकृतहरु उग्र रुपमै प्रस्तुत भएर बदमासी नगर्न चेतावनी दिए भने केहीले नरम शैलीमा तत्काल फिर्ता गर्न सम्झाए।

बढी प्रकाशित गर्नेहरुले त्यसलाई सच्याउने आश्वासन दिए तर बोलकबोलमा प्रकाशित अनुसार नै गए। यसले गर्दा कम प्रकाशित गर्नेको निक्षेप खोसियो।

'कोही पनि सच्चिन तयार नभएपछि ब्याज दर पुनरावलोकन गर्न थालेका हौं,' एक बैंकरले भने, 'पुनरावलोकन नगर्ने हो भने निक्षेप नजोगिने अवस्था भयो। ऋण विस्तार नगर्दा पनि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघ्ने भयो।'


Sunrise Bank