१० कामदारबाट सुरु भएको पेपे पिज्जा: जसले चार सयलाई रोजगारी, पढ्ने कर्मचारीलाई स्कलरसीप

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७९ भदौ २६ गते २१:०६ | Sep 11, 2022

Tata
GBIME

विराटनगर। भाटभटेनी सुपरस्टोरमा पेपे पिज्जाको बोर्ड झुन्डिएको धेरै भएको छैन। अबको अक्टोबरमा पाँच वर्ष पूरा हुँदैछ। यो अवधिमा पेपेको स्वादलाई भने धेरैलाई आकर्षित गरिसकेको छ। त्यही कारण भाटभटेनीका आउटलेटमा पेपे फैलिँने क्रममा छ।

पिज्जालाई मुख्य परिकार केन्द्रित गरेर ल्याएको पेपेको सुरुवातमा कठिनाई धेरै छैन।

ग्राहकमाझ लोकप्रिय भइसकेको सुपरस्टोरमा खोल्न पाउनु सहजता हो। तर त्यहाँ आउने ग्राहकको सन्तुष्टीका लागि गुणस्तर कायम राखेर अगाडि बढ्न भने सजिलो थिएन।

कसरी सुरु भयो पेपे पिज्जा ?

६ जना संचालकमध्ये तीन जना अमेरिका, एक जना बेलायत र अरु दुई जना नेपालमै अध्ययन सकेर बसेका थिए।

विदेशमा रहेका चार जनालाई भाटभटेनीका संचालक मीनबहादुर गुरुङले नेपाल फर्किएर केही काम गर्न सुझाब दिइरहन्थे। त्यसमा थिए एक जना शिवमान घले। शिवमान र मीनबहादुर नातेदार पनि हुन्। मीनबहादुरको आग्रहसँगै शिवमानले अरु दुई जनालाई समेत साथमा लिएर आए।

पेपेका एक संचालक प्रकाश गुरुङले बिजमाण्डूसँग भने, ‘हामी पेपे पिज्जाका ६ सञ्चालकमध्ये ३ जनाले अमेरिका र १ जनाले बेलायतमा आफ्नो पढाइ सिध्याएर काम सुरु गरिसकेका थियौँ, २ जना नेपालमै पढाइ सकेर बस्नुभएको थियो। नेपालबाट मीनबहादुर सर हामीलाई नेपालमै फर्किएर केही न केही उद्यम गर्ने सल्लाह दिइरहनु हुन्थ्यो । उहाँकै सल्लाहमा उहाँका एक आफन्त शिवमान घले अमेरिकाबाट २०१६ को जनवरीमै फर्कनुभयो । घलेजी यता आएपछि अमेरिकाबाटै म र भागवत श्रेष्ठजी फर्कियौँ । म त्यहाँको एक प्रतिष्ठित आइटी सफ्टवेयर कम्पनीमा काम गरिरहेको थिएँ । हामी तीन जना नेपाल आइसकेपछि बेलायतबाट सुष्मा गुरुङ पनि आउनुभयो । यता नेपालमा हाम्रै समूहका रामकाजी सिलवाल र कौशल तिम्सिना कुनै नयाँ काम गर्न खोजिरहनु भएको थियो।’

सबैभन्दा पहिला नेपाल फर्किएका शिवमान अमेरिकामा आफैँले गरेको कामको अनुभवलाई नेपालमा मूर्त रूप दिने कुरा सोचिरहेका थिए । विदेशमा उच्च शिक्षा हासिल गरेर फर्किएका चारै जनाले त्यहाँ विद्यार्थी कालमा यस्तै रेस्टुरेन्टमा काम गरेका थिए र पछि आफैँले खोलेका थिए। चारै जनाले विदेशमै रेस्टुरेन्टको खाद्यसुरक्षा, गुणस्तर, सर्भिस, किचन, ओभन, ग्राहकको रुचि, सिट एरेजमेन्ट, सरसफाइ लगायतका विषयमा अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गरिसकेका थिए।

शिवमानले अमेरिकामा आफूले चलाएजस्तै पिज्जालाई फोकस गरेर नेपालमै रेस्टुरेन्ट चलाउने र त्यसलाई चेन सिस्टममा लैजाने सोचिरहेका थिए ।

प्रकाशले भने, ‘म, भागवत र सुष्माजी फर्किएपछि हामी अब के गर्ने भनेर शिवमानसित बस्यौँ। शिवमानजीले आफ्ना योजना सुनाउनु भयो। हामी पहिलो बैठकमै पेपे पिज्जाको चेन रेस्टुरेन्ट खोल्ने निर्णयमा पुग्यौँ। यति बेला २०१६ को जुन लागिसकेको थियो।’

पेपे समूहले आफ्नो निर्णय ढिलो नगरी भाटभटेनीका संस्थापक मीनबहादुरलाई सुनायो। मीनबहादुर खुशी भए। सँगसँगै उनले महाराजगंजको भाटभटेनीमा पेपे पिज्जाका लागि तत्काल ठाउँ उपलब्ध गराउने निर्णय पनि सुनाए।

‘त्यसवेला निम्नमध्यम वर्गका विद्यार्थी र अन्य बेरोजगार युवायुवतीका लागि पिज्जा भनेर सोच्नेबित्तिकै बजेटको कुरा पनि सँगै आउँथ्यो। उनीहरूले पटकपटक खल्ती छाम्नैपथ्र्यो। तर हामीले महाराजगञ्जको भाटभटेनीमा ९५ रुपैयाँमै पिज्जा पाइने गरी पेपे पिज्जाको रेस्टुरेन्ट सञ्चालनमा ल्यायौँ। यसले गर्दा सामान्य विद्यार्थीले पनि आफ्ना गोजीखर्चबाट पिज्जाको स्वाद लिनसक्ने भए। महाराजगञ्जमा हामीले ९५ देखि ४५० रुपैयाँ सम्मका पिज्जाबाट कामको सुरुआत गर्यौँ। सन् २०१६ को अक्टुबरसम्म आइपुग्दा रेस्टुरेन्ट पूर्ण रूपमा सञ्चालनमा आइसकेको थियो। सुरुआतमा खोल्दा १० कामदारबाट काम सुरु गरिएको थियो,’प्रकाशले सुनाए।

यसपछि पेपे समूहले यही अवधारणा अनुसार सन् २०१७ मा अनामनगरको भाटभटेनीमा दोस्रो आउटलेट खोल्यो। महाराजगंजको पहिलो रेस्टुरेन्टले यतिवेलासम्म विद्यार्थी र युवायुवतीमाझ चर्चा कमाइसकेको थियो। अनामनगरको आउटलेटले पनि खुल्नेबित्तिकै गति लियो ।

उनका अनुसार पेपेमा आउने अधिकांशतः युवायुवती र विद्यार्थी नै थिए। तर विस्तारै उनीहरूले आफ्ना अभिभावकलाई पनि ल्याउन थाले। भाटभटेनीमा आएर किनमेल गरेर थाकेका लागि पनि यो थलो रिफ्रेसमेन्टका लागि उपयुक्त हुँदै गयो। यसरी आफैँ नै पेपेको ब्रान्डिङ र विज्ञापन दुबै भइरह्यो।

पेपे पिज्जाले विराटनगरसहित १६ वटा भाटभटेनीमा आउटलेट खोलिसकेको छ। एक आउटलेट त्रिपुरेश्वरको वल्र्ड ट्रेड सेन्टरमा छुट्टै सञ्चालित छ।

पेपे समूहले चेन रेस्टुरेन्ट मात्र चलाएको छैन, अन्य उद्योग–व्यवसायमा पनि हात हालेको छ। रेस्टुरेन्टका लागि चाहिने मोजरेला चिज र आइसक्रिम पेपे समूहले नै उत्पादन गरिरहेको छ। आवश्यक पर्ने कुखुराको मासुका लागि आफ्नै पोल्ट्री फार्म चलाएको छ। घान्द्रुक नेपाली किचनका नाममा वर्ल्र्ड ट्रेड सेन्टरमा नेपाली स्वादको आफ्नै रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ। र, बालबालिकालाई खेलबाड गर्न बबल्स इन्टरटनेमेन्ट चलाइरहेको छ।

प्रकाशका अनुसार ललितपुरको हरिसिद्धिमा मोजरेला चिज र आइसक्रिमको उद्योग छ। सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित चकरघट्टीमा पोल्ट्रीफर्म छ। यहाँबाट पेपेका सबै रेस्टुरेन्टमा कुखुराको मासु आपूर्ति गरिन्छ। सन् २०२३ देखि नेपाली घान्द्रुक किचनको पनि आउटलेट विस्तार गर्ने योजना भइरहेको छ। बबल्स इन्टरटेनमेन्ट इटहरीको भाटभटेनीमा मात्र सीमित छ। यसलाई पनि देशभरि फैलाउने सोचाइ भइरहेको छ।

विद्यार्थीलाई स्कलरसिप

जम्मा १० कामदारबाट आफूलाई सुरु गरेको पेपे पिज्जाले अहिले ४ सयभन्दा बढीलाई रोजगारी दिइसकेको छ। यहाँका रोजगारमध्ये कोही विद्यार्थी छन् भने उनीहरूले कलेज टाइममा काम गर्नुपर्दैन।

त्यस्तै ती विद्यार्थी कामदारले मासिक तलबका अतिरिक्त १५ सय रुपैयाँ स्कलरसिप पनि पाउँछन्।  प्रौढ कामदार रहेछन् भने तिनका एक सन्तानलाई पनि पढाइ खर्च मासिक १५ सय रुपैयाँ पेपेले नै उपलब्ध गराउँछ ।

प्रकाश आफूपनि अमेरिका छँदा यसरी नै रेस्टुरेन्टमा काम गरेर पढ्न जाने गरेको सम्झन्छन्। ‘त्यस वेलाको पीडा हामीलाई थाहा छ । त्यसैले यस्तो मानवीय योजना ल्याएका हौँ,’उनले भने।

१७औं आउटलेट

पेपेले विराटनगरको भाटभटेनीमा पनि आउटलेट संचालनमा ल्याएको छ। यो पेपेको १७ औँ आउटलेट हो।

विराटनगरस्थित भाटभटेनीको चौथो तलामा पेपे पिज्जाको आउटलेट छ।यस आउटलेटमा १५० देखि ५०० रुपैयाँ मूल्यसम्मका विभिन्न खालका पिज्जा उपलब्ध छन्। त्यस्तै २९५ देखि ३२५ रुपैयाँसम्मका बर्गर पनि यहाँ पाइन्छ।आउटलेटमा स्न्याक्सका अन्य मेन कोर्समा पर्ने विभिन्न स्वाद र फ्लेवरमा इटालियन पास्ता, मःमः, चाउमिन पनि उपलब्ध छ।

तर आउटलेटको मुख्य फोकस भने पिज्जामै हुनेछ।आउटलेटले शाकाहार र मांसाहार गरी दुबै प्रकारका खानेकुरा सर्भ गर्नेछ। आउटलेटमा दुबैका लागि भिन्नाभिन्नै भान्सा र ओभन सञ्चालित छन् ।सन् २०२३ भित्रमा वीरगञ्ज र जनकपुरमा पनि पेपेका शाखा विस्तार गर्ने प्रकाशले जानकारी दिए।