दूध उत्पादन घोषणामा मात्रै आत्मनिर्भर, प्रतिबन्धित दुग्धजन्य पदार्थ खुलमखुला बिक्री हुन्छ

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७९ भदौ १३ गते २१:१० | Aug 29, 2022
दूध उत्पादन घोषणामा मात्रै आत्मनिर्भर, प्रतिबन्धित दुग्धजन्य पदार्थ खुलमखुला बिक्री हुन्छ

विराटनगर। तीजमा पनिर पकाउन चाहने पूर्वका गृहिणीले सोमबार बजारमा स्वदेशमा उत्पादित पनिर भेट्टाएनन्। विराटनगरको महेन्द्र चौकमा दूध र त्यसका उत्पादन बिक्री गर्दै आएको पसलले भारतीय अमूल कम्पनीको पनिर राखेको थियो।

Tata
GBIME
Nepal Life

सोमबार दिउँसो उक्त पसलमा भारतमा उत्पादित पनिर खरिद गर्नेको घुइँचो थियो। अमूल कम्पनीको २ सय ग्रामको पनिरलाई त्यस पसलका सञ्चालकले १५० रुपैयाँमा बिक्री गरिरहेका थिए। त्यसको एमआरपी भारु ८० अंकित थियो। भारु ८० को नेरु १२८ हुन्छ।

‘हामीलाई जोगबनीबाट ‘भाइ’हरूले अमूल कम्पनीको पनिर ल्याइदिन्छन्,’ पसलका सञ्चालकले बिजमाण्डूलाई भने, ‘दुई सय ग्रामको एक पाकेटको १४० रुपैयाँ लिन्छन्। हामी १५० मा बिक्री गर्छौं। फ्रिजले उठाउने विद्युत् महसुल पनि जोड्दा खासै नाफा छैन। तीजका लागि भनेर हामीले २ सय ग्रामका ३ सय पाकेट पनिर मगाएका थियौं।’

उनको पसलले लामो समयदेखि दुग्ध विकास संस्थानको विराटनगरस्थित दुग्ध वितरण आयोजनाका उत्पादनहरूको बिक्री गरिरहेको छ। 
पसलेले भने, ‘हामीलाई यस्ता चाडपर्वका बेला त दिनको ६० किलोभन्दा बढी पनिर चाहिन्छ। अरू बेला ३० किलो भए पुग्छ। तर विगत ६ महिनायता डीडीसीले एक ग्राम पनि पनिर दिन सकेको छैन।’ यो विराटनगरको मात्रै होइन देशभरकै समस्या हो। दूध नपाएपछि मुलुकको धेरै स्थानमा माग अनुसार दुग्धजन्य पदार्थ उत्पादन हुन सकेको छैन।

नेपालमा प्रतिबन्धित
नेपाल सरकारले स्वदेशमा अन्य मुलुकबाट दूध र दुग्धजन्य उत्पादन आयातमा रोक लगाएको छ। नेपालमा दूधमा आत्मनिर्भर भइसकेको भन्दै नेपालका डेरी उद्योगलाई संरक्षण गर्न सरकारले यस्तो नीति अख्तियार गरेको हो।

तर न नेपालका डेरी उद्योगले नेपालमा चाहेजति उत्पादन बजारमा ल्याउन सकेका छन्, न त भारतबाट अवैध आयात नै रोकिएको छ। विराटनगरको महेन्द्र चौकमा पाइएको भारतीय अमूल कम्पनीको पनिर नेपालमा ल्याउन र विक्रीवितरण गर्न पाइँदैन। तर खुल्लमखुल्ला भइरहेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला र प्रदेशस्थित प्रमुखहरूले अवैध आयातलाई पूर्णतः रोकेका छौं भन्ने दाबी गरिरहेका बेला विराटनगरको मुख्य बजारमै आयातमा रोक लगाइएको पनिर फेला परेको हो।

भारतका बजारबाट गैरकानुनी रूपमा पनिर लगायतका वस्तुको आयात गर्नेले प्रहरीका तल्लादेखि माथिल्ला तहसम्मका हाकिमलाई मिलाउने गर्दछन्। यसरी प्रहरीका अधिकारलाई प्रभावमा पारेर गरिने अवैध आयातलाई तराईका भाषामा ‘लाइन चलाउने’ भनिन्छ। मोरङ व्यापार संघका एक अधिकारीले भने, ‘प्रशासन र प्रहरीका संरक्षणमा तराईका सीमावर्ती क्षेत्रबाट दैनिक ठूलो परिमाणमा लाइन चलिरहेको छ।’ 

दूध नै पाइँदैन– डीडीसी
डीडीसीको विराटनगरस्थित आयोजना प्रमुख परमेश्वर चौधरीले किसानबाट हुने दूध संकलन अत्यन्त न्यून भएकाले आयोजनाले उत्पादनमा कटौती गरेको बताए।

उनका अनुसार चैतको १५ देखि भदौको अन्तिम सातासम्म दूधको उत्पादन नै कम हुन्छ। यसलाई ‘लिन सिजन’ भनिन्छ। त्यस्तै असोजको पहिलो सातादेखि चैतको दोस्रो साता दूधको उत्पादन बढ्छ। यसलाई ‘फ्लस सिजन’ भनिन्छ। अहिले ‘लिन सिजन’ भएकाले दूध कम आइरहेको छ। आयोजनाले ग्राहकलाई दूध र दही नै आपूर्ति गर्न सकिरहेको छैन। पनिरको उत्पादन नगण्य मात्रामा गर्नुपरेको छ।

उनले आयोजनाले पनिरको उत्पादन कम्तीमा दैनिक २ सय किलोका दरले गरेमा मात्र सहज आपूर्ति हुनसक्ने बताए। तर आयोजनाले दैनिक ३०–४० किलो मात्र पनिरको उत्पादन गरिरहेको उनले जानकारी दिए। सो पनिर आयोजनाको परिसरमा रहेको बिक्री केन्द्रमा मात्र बिक्रीका लागि राखिएको छ। बजारका अन्य बिक्रेतालाई आयोजनाले उपलब्ध गराएको छैन।

निजी डेरीमा पनि छैन पनिर
विराटनगरको सूर्योदय डेरीका सञ्चालक विनोद राठीले पूर्वका निजी डेरीले पनि पर्याप्त पनिरको उत्पादन नगरेको स्पष्ट पारे। व्यवसायी राठीका अनुसार पूर्वका डेरीलाई दूध अभाव भइसकेको छ।

उपभोक्तालाई दूध र दही नै पुर्‍याउन धौधौ परिरहेको छ। त्यसैले पनिरको उत्पादनमा कमी आएको हो। उनले ३ महिनायता सूर्योदय डेरीले १ किलो पनि पनिरको उत्पादन नगरेको जानकारी दिए।

राठीको प्रश्न थियो, ‘हाम्रो डेरीको अहिलेको क्षमताअनुसार हामीलाई दैनिक २० हजार लिटर दूध चाहिएको छ। तर दूध संकलन दैनिक २ हजार लिटर मात्र छ। यस्ता अवस्थामा बजारको मागअनुसारको उत्पादन गर्न हामी सकिरहेका छैनौं।’