देवनारा र जाजु समूहको हिमगिरी हाइजिनको कारोबार बढ्यो, वर्ष दिनमा १.६९ अर्बको गर्‍यो कारोबार

बिजमाण्डू
२०७९ साउन २० गते ११:५५ | Aug 5, 2022
देवनारा र जाजु समूहको हिमगिरी हाइजिनको कारोबार बढ्यो, वर्ष दिनमा १.६९ अर्बको गर्‍यो कारोबार


काठमाडौं। सरसफाईका सामाग्री उत्पादन गर्ने देवेनारा र जाजु समूहको हिमगिरी हाइजिन प्रालिको कारोबार १ अर्ब ६९ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ।

Tata
GBIME
Nepal Life

अघिल्लो वर्ष २०२० को तुलनामा २०२१ मा कम्पनीको कारोबार पाँच प्रतिशतले बढेको केयर रेटिङ्स नेपालले जनाएको छ। २०२० मा कम्पनीले एक अर्ब ६० करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।

२०१९ मा कम्पनीको कारोबार एक अर्ब ७९ करोड ७० लाख रुपैयाँ थियो। कोरोना महामारीका कारण २०२० मा कम्पनीको कारोबार ११ प्रतिशतले घटेको थियो। साबुन, डिटर्जेन्टका साथै घरायसी तथा पर्सनल केयरका सामाग्री ट्वाइलेट क्लिनर, फिनेल, ह्यान्डवास र टिस्यू पेपर कम्पनीले उत्पादन गरी बिक्री गर्दै आएको छ। 

विराटनगरमा प्लान्ट रहेको कम्पनीसँग वार्षिक १९ हजार टन लन्ड्री साबुन उत्पादन गर्ने जडिन क्षमता छ। ट्वाइलेट साबुनको क्षमता वार्षिक २४ सय टन, डिटर्जेन्ट ५ हजार टन र घरायसी तथा पर्सनल केयरको क्षमता वार्षिक ३१ सय २५ टन छ।

कम्पनीले आफूलाई आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको छ। २०२१ मा कम्पनीले कुल संचालन आम्दानीको ८३ प्रतिशत कच्चा पदार्थमै खर्चिएको रेटिङ विवरणमा उल्लेख छ। जोगबनी भन्सारबाट १६ किलोमिटर भित्र प्लान्ट छ। जसका कारण भारतबाट कच्चा पदार्थ आयात तथा ढुवानी खर्च कम पर्ने बताइएको छ। 

कम्पनीले उत्पादन गर्ने प्रडक्टहरु विभिन्न २६ ब्राण्डमा बिक्री गर्छ। जसमध्ये औरा, धोनी, मिस्टर क्लिन र एक्स्ट्रा चर्चित ब्राण्ड हुन्। 
देवेनारा समूह खानेतेल, व्यापारदेखि हाउजिङमा सक्रिय छ। यस्तै, जाजु समूहको लगानी रमपम, टुपिएम, गुडलाइफ लगायतमा छ। 
कम्पनीको अध्यक्ष महेश जाजु छन् भने प्रबन्ध निर्देशक प्रकाशकुमार मुन्दडा छन्। 

कम्पनीले एक अर्ब ४८ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पुन: पुष्टि गराएको छ। ११ करोड ५७ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी डबल बी र एक अर्ब ३६ करोड ४७ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपि ए फोर रेटिङ केयर रेटिङ्स नेपालले पुन: पुष्टि गरिदिएको छ।