क्यास अन ह्विलले 'ह्यासल फ्रि, ट्रान्सपरेन्सी र पिस अफ माइन्ड' भन्ने नाराका साथ सेवा औपचारिक रुपमा संचालनमा ल्याएको यसका संस्थापक तथा कार्यकारी निर्देशक मोहन भण्डारीले जानकारी दिए।
'ग्राहकहरु आफूले गाडी बेच्दा उचित मूल्य नपाउने हो कि भन्ने चिन्तामा हुने गरेको हामीले पाएका छौं। हामी कहाँ अनुभवी भ्यालुएटरहरुले गाडीको मूल्यांकन गरेर उचित मूल्य निर्धारण गर्नुहुन्छ। ग्राहकले उचित मूल्य पाउने ग्यारेन्टी हामीले गरेका छौं,' भण्डारीले भने।
भण्डारीका अनुसार सेवावापत लिने शुल्क निश्चित छ। कम्पनीले ३० लाखभन्दा बढीको गाडीमा ५० हजार रुपैयाँ र त्योभन्दा कम मूल्यको गाडीमा २५ हजार सेवा शुल्क लिने गरेकाे उनले बताए। 'त्यसबाहेक अरु कुनै शुल्क तिर्नु पर्दैन। ग्राहकले पाएको मूल्य, तिरेको कमिसन, सरकारी राजश्व, मर्मत लगायत सबै खर्चहरु पारदर्शी हुन्छन्,' भण्डारीले भने।
यो भर्चुअल पार्किङ भएकोले यसमा पार्किङ र छनोट असीमित हुने भण्डारी बताउँछन्। 'हामी एकैपटक हजारौं गाडी पार्किङ गर्न सक्छौं। किन्न सक्छौं। त्यसैले थोरै मार्जिनमै हामी काम गर्न सक्छौं,' उनले भने।
यो कम्पनीले गाडी बेच्ने ग्राहकसँग इनस्पेक्सन शुल्क पनि लिँदैन। हालसम्म यो कम्पनीमा आएका ग्राहकमध्ये करिब ३० प्रतिशत नयाँ गाडी किन्ने सोचले आएको, ५० प्रतिशत अरु गाडीको अनुभव लिने उद्देश्यले र बाँकी करिब २० प्रतिशत मात्रै पैसा चाहिएर गाडी बेच्न आँटेको अवस्था देखेको भण्डारीको भनाइ छ।
भर्चुअल पार्किङ र प्रविधिमार्फत् गाडीको खरिद बिक्री गर्ने यो आईडियामा भण्डारी दुबईबाट प्रभावित भएका हुन्। त्यहाँ अधिकांश कारोबारहरु यस्तै तरिकाले हुने गरेको उनले सुनाए। लकडाउनको समयमा नेपालमा बढेको अनलाइन पहुँच र प्रयोगलाई क्यास गर्न सो कम्पनीले गत कात्तिकदेखि मात्रै आफ्नो सेवा सुरु गरेको हो।
१२ महिनाको यो अवधिमा दुई सयवटा गाडी खरिद बिक्री गरिसकेको कम्पनीको दाबी छ। पछिल्लो महिनामा यो संख्या उच्चरुपमा बढ्दै गएको भण्डारी बताउँछन्। प्रयोग सफल भएसँगै अहिले सो कम्पनीले आफ्नो नेटवर्क र क्षमता विस्तार गर्दै गएको छ।
नेटवर्क विस्तारअन्तर्गत पोखरा र इटहरीमा शाखा कार्यालय सञ्चालन गरिसकेको कम्पनीले जनाएको छ। छिटै वुटवलमा समेत शाखा विस्तार हुन लागेको भण्डारीले बताए। अहिले कम्पनीले काठमाडौंको सुकेधारामा विशाल शोरुम र सर्भिस सेन्टर समेत बनाइरहेको छ।