राजधानी सहरमा जग्गाको न्युनतम मूल्यांकन बढाउनेमा भक्तपुर अघि, ललितपुर महानगरमा यथावत



उन्नत सापकोटा/बिजमाण्डू
२०७९ साउन १८ गते ०९:०० | Aug 3, 2022
राजधानी सहरमा जग्गाको न्युनतम मूल्यांकन बढाउनेमा भक्तपुर अघि, ललितपुर महानगरमा यथावत

काठमाडौं। मालपोत कार्यालयहरुले आर्थिक वर्ष २०७९/८० का लागि रजिष्ट्रेसन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनलाई जग्गाको न्युनतम मूल्य निर्धारण गर्न थालेका छन्।

Tata
GBIME
Zonsen

नयाँ आर्थिक वर्ष साउनदेखि सुरु भएसँगै देशभरका मालपोत कार्यालयहरुले धमाधम जग्गाको न्युनतम मूल्य निर्धारण गरिरहेका छन्।

चालु आव २०७९/८० का लागि काठमाडौं उपत्यकाको हकमा यो समाचार तयार पार्दासम्म काठमाडौंका टोखा, साँखु, मनमैजु मालपोत कार्यालयले जग्गाको न्युनतम मूल्य निर्धारण गरिसकेका छन्।

जग्गाको न्युनतम मूल्यांकन धेरै बढाउनेमा भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर परेको छ। भक्तपुरले चालु आव २०७९/८० का लागि आफ्नो क्षेत्रभित्र पर्ने जग्गाहरुको मूल्यांकन आनामा ९ लाख रुपैयाँसम्म वृद्धि गरेको छ।

यस्तै, मनमैजु, साँखु, ललितपुरको लगनखेल मालपोतले कोञ्जोयोसोम गाउँपालिका र गोटिखेलले आफ्नो भित्र पर्ने जग्गाहरुको न्युनतम मूल्यांकन बढाएका छन्।

काठमाडौं भित्रका ठूला कारोबार हुने कलंकी, चाबहिल र डिल्लीबजार मालपोत कार्यालयहरुले मंगलबार मध्याह्नसम्म चालू आवमा जग्गाको न्युनतम मूल्यांकन भूमि व्यवस्था तथा अभिलेख विभागलाई बुझाएका छैनन्। केही दिनभित्रै यी मालपोत कार्यालयहरुले बुझाउने तयारी गरिरहेको विभागले जनाएको छ।

ललितपुरको हकमा मालपोत कार्यालय गोटिखेल र भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले आफ्नो क्षेत्रभित्र पर्ने जग्गाहरुको न्युनतम मूल्य तोकेर सार्वजनिक गरेका छन्। भक्तपुरको हकमा पनि भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरले चालु आव २०७९/८० का लागि जग्गाको न्युनतम मूल्य तय गरेर सार्वजनिक गरिसकेको छ।

भक्तपुरले ९ लाखभन्दा बढीले वृद्धि गर्‍यो मूल्यांकन
जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयले ९ लाख २४ हजार रुपैयाँसम्मले जग्गाको न्युनतम मूल्यांकन बढाएको छ। भक्तपुर नगरपालिकामा पर्ने अरनिको राजमार्गसँग जोडिएको जग्गाको मूल्यांकन चालु आव २०७९/८० मा प्रतिआना ३३ लाख रुपैयाँ पुर्‍याइएको छ।

गत आवमा यो सडकको दायाँबायाँ पर्ने जग्गाको मूल्यांकन प्रतिआना २३ लाख ७६ हजार रुपैयाँ थियो। भक्तपुर जिल्लाका सबै स्थानीय तह यस मालपोत कार्यालय भित्र पर्छन्।

मनमैजु मालपोतले मूल्यांकन अधिकतम १.७१ लाखसम्म बढायो
मालपोत कार्यालय मनमैजुले जग्गाको न्युनतम मूल्यांकन अधिकतम १ लाख ७१ हजार २०० रुपैयाँसम्म बढाएको छ।

यस क्षेत्रमा पर्ने गोंगबुबाट नयाँ पुल भएर छन्त्याल संघ हुँदै न्यायपरिषद्को कम्पाउण्डसम्म जाने मूल सडकको दायाँबायाँका जग्गाको प्रतिआना न्युनतम मूल्य बढाएर १८ लाख ८३ हजार २०० रुपैयाँ पुर्‍याइएको छ। गत आवमा मनमैजुले यो सडक छेउछाउ पर्ने जग्गाको मूल्यांकन १५ लाख ८० हजार रुपैयाँ तोकेको थियो।

यस मालपोत कार्यालयअन्तर्गत तारकेश्वर नगरपालिका भित्रका जग्गाहरु पर्छन्।

साँखुमा १ लाख रुपैयाँसम्म बढ्यो जग्गाको मूल्यांकन
साँखु मालपोत कार्यालयले गत आव २०७८/७९ को तुलनामा २०७९/८० मा जग्गाको न्युनतम मूल्यांकन वृद्धि गरेको छ।

सबैभन्दा बढी जग्गा मूल्यांकन भएको डाँछी-थली क्षेत्रमा पर्ने साँखु सडकसँग जोडिएका शंखरापुर नगरपालिका वडा नं ६, ९ सम्मका जग्गाको न्युनतम मूल्य प्रतिआना १८ लाख रुपैयाँ तोकिएको छ। साँखु मालपोतले अधिकतम एक लाख रुपैयाँसम्म जग्गाहरुको मूल्यांकन बढाएको देखिन्छ।

ललितपुर महानगरमा बढेन मूल्यांकन, कोञ्जोयोसोम गाउँपालिकामा बढ्यो
ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले आफ्नो क्षेत्र भित्र पर्ने अधिकांश स्थानीय तहहरुमा जग्गाको न्युनतम मूल्यांकन बढाएको देखिँदैन। ललितपुर महानगरपालिका भित्र पर्ने ठूला सडक दायाँबायाँ पर्ने जग्गाहरुको न्युनतम मूल्य प्रतिआना ३७ लाख ५० हजार रुपैयाँनै कायम गरेको छ। गत आवमा पनि महँगो मानिएका यी जग्गाहरुको न्युनतम मूल्यांकन पनि ३७ लाख ५० हजार रुपैयाँ नै थियो।

तर मालपोत कार्यालयले कोञ्जोयोसोम गाउँपालिकाभित्र पर्ने जग्गाको न्यूनतम मूल्यांकन भने अधिकतम ४० हजार रुपैयाँसम्म बढाएको छ। गोदावरी नगरपालिका भित्र पर्ने जग्गाहरुको हकमा मालपोत कार्यालयले चालु आव २०७९/८० का लागि जग्गाहरुको न्युनतम मूल्यांकन दुई लाख रुपैयाँसम्म बढाएको छ। गत आवमा किटिनी क्षेत्रमा अधिकतम प्रतिआना आठ लाख रुपैयाँसम्म रहेको मूल्यांकन अहिले बढाएर प्रतिआना १० लाख रुपैयाँ पुर्‍याइएको छ।

मालपोत कार्यलयले महालक्ष्मी नगरपालिका र वाग्मती गाउँपालिका भित्र पर्ने जग्गाहरुको न्यूनतम मूल्यांकन आव २०७९/८० मा बढाएको छैन। त्यसलाई यथावत राख्ने निर्णय गरेको छ।

भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल अन्तर्गत वाग्मती गाउँपालिका (वडा १-६), कोञ्जोयोसोम गाउँपालिका (नल्लु, भारदेउ, चौघरे), गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिका पर्छन्।

गोटीखेलमा ३० हजार रुपैयाँसम्म बढ्यो

त्यसैगरी, ललितपुरकै मालपोत कार्यालय गोटीखेल अन्तर्गत पर्ने जग्गाहरुको मूल्यांकन अधिकतम ३० हजार रुपैयाँसम्म वृद्धि गरेको छ। यस मालपोत अन्तर्गत साबिक गिम्दी, गोटिखेल, चन्दनपुर, ठुलादुर्लुङ, बुखेल, मानिखेल, शंखु गाविस पर्छन्।

टोखाले फेरेन मूल्यांकन, गत वर्षकै यथावत
मालपोत कार्यालय टोखाले गत आव २०७८/७९ कै मूल्यांकनलाई यथावत राखेर मूल्यांकन तय गरेको छ। टोखा मालपोतले बुढानिलकण्ठ, टोखा र तारकेश्वर नगरपालिकाका क्षेत्रहरु पर्छन्।

मालपोत कार्यालयहरुले जग्गासँग सडक वा बाटो जोडिए नजोडिए र सोको प्रकार, जग्गाको प्रयोजनको अवस्था, जग्गाको वस्तुगत अवस्थिति, चालु आर्थिक वर्ष कारोबार भएको सोही क्षेत्रको खरिद बिक्री मूल्यलाई न्युनतम मूल्यांकन निर्धारणका आधारहरु बनाउने गरेका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट भएका परिपत्र तथा सोही विभागबाट प्रकाशित न्युनतम मूल्यांकन सम्बन्धी निर्देशिका अध्ययन गरेर निर्धारण गरिएको बताइएको छ।

स्थानीय तहहरुबाट प्राप्त न्युनतम मूल्यांकन सम्बन्धी सुझाव, कार्यालयबाट गरिएको स्थलगत अध्ययन, गत आव ०७८/७९ मा कार्यालयबाट पारित लिखतहरुमा उल्लेखित थैली अंकलाई समेत न्युनतम मूल्यांकन गर्न आधार हुन्। स्थानीय तह (वडा कार्यालयहरु) बाट प्राप्त मूल्यांकन सम्बन्धी सुझाव समावेश गरिएको छ।

मूल्यांकन प्रक्रियामा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, नापी कार्यालय, प्रमुख कर अधिकृतसहित राष्ट्र बैंक, नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसनबाट प्राप्त सुझाव र सरोकार समूह (उद्योग वाणिज्य संघ, बैंकर एसोसियसनका, स्थानीय तहका) प्रतिनिधिसँगको अन्तर्क्रिया पनि मूल्यांकनका आधारहरु हुन्।