४० वर्षअघि बोमेन र हिलारीले चिनाएको ‘रम डुडल’, हिमाल आरोहणमा जानेको भलाकुसारी गर्ने जङ‍्सन

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ साउन १४ गते १४:३८ | Jul 30, 2022
४० वर्षअघि बोमेन र हिलारीले चिनाएको ‘रम डुडल’, हिमाल आरोहणमा जानेको भलाकुसारी गर्ने जङ‍्सन


काठमाडौं। सर एडमण्ड हिलारी नेपाल भ्रमणमा आउँदा ठमेलको रम डुडल रेष्टुरेन्ट छिरे। उनी त्यहाँको वातावरणबाट मोहित भए। रेष्टुरेन्टबाट फर्किने बेला हस्ताक्षरसहितको एउटा नोट छोडे। जसमा लेखिएको थियो – 'नट एभरेष्ट बट क्लोज्ड' अनि फेरि लेखे-'लिभ अ लाइफ यु विल रिमेम्बर'।

Tata
GBIME
Nepal Life

यो पुरानो कुरा थियो। ४० वर्ष अघि ठमेलमा स्थापना भएको रम डुडल अहिले नक्साल सरिसकेको छ। तर रेष्टुरेन्ट उही पुरानो स्वाद र वातावरणका लागि प्रख्यात छ।

विश्वभरका हिमाल आरोहीहरु नेपाल आउँदा मन फुकाएर भलाकुसारी गर्ने थलोको परिचय पाएको रम डुडलमा अहिले पनि आरोही र पर्यटकहरुको उत्तिकै चहलहपल हुन्छ। रेष्टुरेण्ट परिसर प्रवेश गरेसँगै बगैंचा छ। भित्र पस्दा सिलिङको बनोटले जो कोहीलाई अनौठो महसुस हुन्छ।  झुण्डिएका सेतो रङको पाइताला आकारका हजारौं पातलो प्लाइ पाता। यी पाइलामा कुँदिएका अक्षर हस्ताक्षरले चार दशक अघिदेखि

नेपालमा हिमाल आरोहणका लागि आएका आरोहीको अनुभव समेटेको छ। यही पाताहरुमध्ये एउटामा सर एडमण्ड हिलारीको हस्ताक्षर पनि छ।  
रमडुडल छ वर्ष यता नक्सालमा संचालन भैरहेको छ। जुनसुकै उमेर र वर्गका लागि खुलेको भएपनि यो रेष्टुरेण्टले स्थापना कालदेखि नै खानपिन सँगै हिमाल आरोहीको अभिलेखालयको चिनारी पनि बनाएको संचालक अशोक पोखरेल बताउँछन्।

अन्टार्टिकाको हिमाल 'रम डुडल' यसरी जोडियो नेपाली रेष्टुरेण्टमा
अशोकका बुवा टेकचन्द्र पोखरेलको ट्रेकिङ कम्पनी थियो। उनको हिमालयन जर्नी ट्रेकिङ कम्पनीमार्फत विदेशीहरुको नेपालमा बाक्लै आउजाउ हुने गर्थ्यो। विदेशीहरुको बाहिर खानपिन गर्ने बानी हुने। ५० वर्षअघि नेपालमा कमैमात्र होटल रेष्टुरेन्ट थिए।  

'वि.सं.२०३५ सालतिर होटलको नाममा सोल्टी, अन्नपुर्ण, मल्ल, याक एण्ड यती, काठमाडौं गेस्ट हाउस, क्रिस्टल होटल थियो। तर होटलको खानामा पोर्सन कम हुने। बुवाले ट्रेकरका लागि खाना खाने ठाउँ संचालनमा ल्याउने योजना बनाउनुभयो,' अशोक भन्छन्-' रेष्टुरेण्ट निर्माण सुरु गर्ने क्रममै थाइल्याण्डबाट एक अमेरिकी नागरिक विलियम अर्नेस्ट बाउमेन आइपुगेका थिए।'

विलियम उनै थिए जसले 'द एसेन्ट अफ रम डुडल' नामक हास्य उपन्यास लेखेका थिए। सन् १९५३ मा सर एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेका थिए। त्यसको तीन वर्षपछि बोमेनेले रम डुडल हिमाल आरोहीमाथि व्यङ्ग्य गर्दै लेखेको यो किताब आरोहीहरु माझ चर्चित किताब बन्यो। 

विलियम र अशोकका बुवा बीचको भेटमै हिमाल आरोहीलाई केन्द्रित गर्दै रेष्टुरेण्टको नाम नै रम डुडल हुन पुगेको अशोक बताउँछन्।

विलियमसँग जोडिएको यो नामको नातासँग जानकार उनका नाति सगरमाथा आरोहणका लागि नेपाल आउँदा रम डुडल रेष्टुरेण्ट पसेका थिए। 

रम डुडल अन्टार्टिकामा रहेको ८ सय ७५ मिटर (२,८७२ फीट) अग्लो हिमाली थुम्को हो। विलियमको यो किताब ६ जना आरोहीको हिमाल यात्राको अवधिलाई व्यङ्गात्मक शैलीमा प्रस्तुत गरिएको छ।

रम डुडलमा यसरी आइपुगे हिलारी
काठमाडौंमा त्यतिखेर अहिले जस्तो बार थिएनन्। क्लाइम्बर र  ट्रेकरबीच भेटघाट कमै हुन्थ्यो। एडमण्ड हिलारी नेपाल आउँदा रम डुडल छ भन्ने थाहा पाए। उनी खोज्दै खोज्दै त्यहाँ आइपुगे। त्यतिखेर कागजको एक टुक्रा कागजमा उनको अटोग्राफ लिइएको थियो। त्यो हस्ताक्षर बारमा झुण्डाइएको थियो। त्यो देखेपछि विश्वभरका हिमाल आरोही नेपाल आएपछि रम डुडल आउने लहर नै चलेको संचालक अशोक बताउँछन्।

'हिमाल आरोहीका लागि यो एउटा भेटघाटको थलो र अभिलेखालय बन्यो। आरोही आए रम डुडलको भित्तामा सही गर्न लगाउन थालियो। अनि आरोही भेट्नकै लागि अरु मानिसहरु पनि यहाँ आउन थाले,' अशोकले सुनाए। 

यसरी ४० वर्षदेखि हालसम्म रेष्टुरेन्ट आइपुगेका सयौं हिमाल आरोहीको र हस्ताक्षर र नोटसहितको काष्ठकला रेष्टुरेण्टको आगमन कक्ष देखि नै सजाएर राखिएको उनले जानकारी दिए। उनका अनुसार अझै सजाउन बाँकी रहेका अभिलेख १० फीट अग्लो कन्टेनरमा सुरक्षित राखिएको छ।

चार दशकदेखि उही आतिथ्यता
रेष्टुरेण्टले आफ्नो चार दशकअघि देखिकै आतिथ्य र सत्कारलाई निरन्तरता दिँदै आएको संचालक अशोक बताउँछन्। 'रेष्टुरेण्ट घर पछिको दोस्रो भान्सा हो। बाहिर गएर खानपिन गर्ने वर्गको इच्छा अनुसारको स्वास्थ्यवर्धक परिकार आरामदायी वातावरण सिर्जना गर्नु नै हाम्रो उद्देश्य हो।' उनले भने।

सुरुआतमा रम डुडलका अधिकांश ग्राहक हिमाल आरोही हुन्थे। बिस्तारै सबै किसिमका पर्यटकहरु यहाँ आउन थाले। खानाको स्वाद र ग्राहक सेवामा सम्झौता नगरेका अशोकको भनाई छ। 

पुराना लगायत नयाँ आउने जनशक्तिलाई पनि पुरानै शैली र सीप सिकाएका कारण पनि रमडुडलको आफ्नो पहिचान यथावत राख्न सकिएको अशोक अनुभव गर्छन्। 

अधिकांश मेनु कन्टिनेन्टल रहेको रेष्टुरेण्टले डेढ दशक यता भने आन्तरिक पर्यटकलक्षित मःमः, चाउमिनलगायत परिकार समावेश गरेको उनले जानकारी दिए। 'विदेशी पाहुनाका लागि आधिकारीक परिकार त छँदै छ। अब अहिले त नेपालीको पनि उत्तिकै सहभागिता रहँदै आएको छ। चिकेन चिल्ली, मःमः, चाउमिन लगायतका परिकारकै वर्चश्व अधिकांश ठाउँमा छ,' उनले सुनाए। 

हस्ताक्षर हेर्नकै लागि पनि आउँछन् नयाँ पुस्ता
अशोकका अनुसार हिमाल आरोहीका अनुभवसहितको हस्ताक्षर हेर्नकै लागि पनि नयाँ पुस्ताहरु रमडुडल आउने गरेका छन्। यहाँ आएका कतिपय आरोहीहरुको मृत्यु भैसकेको छ तर उनीहरुले मुखले गरेको प्रचारबाट अहिलेसम्म पनि धेरै मानिसहरु रमडुडल आइरहेको अशोक बताउँछन्। 

उनी भन्छन्-'यो हिमाल आरोहीको अभिलेखालय हो। हामीले सबै ढड्डामा संरक्षण गरेर राखेका छौं।'

चार दशकयता को यात्रामा एकपटक २०७२ सालको महाभुकम्पका कारण व्यवसाय नै ठप्प भएको उनी बताउँछन्। त्यसपछि विश्वभर फैलिएको कोभिड संक्रमणका कारण पनि व्यवसाय प्रभावित भयो। तर पनि रेष्टुरेन्टले आफ्नो पहिचान जोगाइरहेको छ। 

चार दशकअघिको जस्तै शान्त वातावरण दिने कुरामा रेष्टुरेन्टले कन्जुस्याई नगरेको अशोक बताउँछन्। 'शहर बाक्लो भैसक्यो। नयाँ पुस्ता संगीत र होहल्लामा रमाउन चाहन्छन्। तर यही बीच कति युवा अनि पुरानो पुस्ता शान्त वातावरणमा खान र जमघट गर्न चाहन्छन्। हाम्रो रेष्टुरेन्ट तिनैको प्रमुख रोजाई हो।' उनले भने।

उही परिकार, समय अनुसारको स्वाद 
रेष्टुरेण्टले अहिले पनि चार दशक अघिको मेनुलाई निरन्तरता दिएको छ तर यसको स्वादमा भने रुपान्तरण गर्दै आएको उनले बताए। स्टेक, बर्गर, चिकेन बास्केट, मसरुम बास्केट लगायतका परिकार पुरानै सिग्नेचर मेनु हुन्।

त्यतिबेलाकै खाना अझै पनि छ तर स्वादमा ग्राहकको प्रतिक्रिया अनुसारको परिवर्तन गरिएको अशोकले जानकारी दिए। उनका अनुसार हाल पेय पदार्थबाहेक ३५ वटा परिकारसहितको मेनु रेष्टुरेन्टमा छ। हाल रेष्टुरेन्टमा सातजना जनशक्ति रहेको उनले जानकारी दिए।

ठमेलबाट नक्साल सरेसँगै डिजाइनमा केही परिवर्तन आएपनि फर्निचर चार दशक पुरानै हुन्। एक रोपनीमा फैलिएको रेष्टुरेण्टमा एकैसाथ १० वटा गाडी पार्किङ गर्न सकिन्छ।