सेबोनले तोकेको पुँजी पुर्‍याउन यथास्थितिमै मर्ज भए ५० बाट ५ वटामा झर्नेछन् सेयर ब्रोकर

बिजमाण्डू
२०७९ साउन ९ गते १८:२२ | Jul 25, 2022
सेबोनले तोकेको पुँजी पुर्‍याउन यथास्थितिमै मर्ज भए ५० बाट ५ वटामा झर्नेछन् सेयर ब्रोकर


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर ब्रोकरहरुलाई तीन प्रकारमा वर्गीकरण गर्दै कार्यप्रकृतिका आधारमा न्युनतम पुँजी तोकेपछि विद्यमान ब्रोकरहरुमा अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने त्रास छ अहिले। 

Tata
GBIME
Nepal Life

खासगरी सेबोनले निर्धारण गरेको पुँजीका साथ धितोपत्र कारोबार गर्ने/गराउने कम्पनी 'क्यास रिच' घरानाहरुले मात्र ल्याउन सक्ने आकलन गर्दै ठुला प्लेयरको प्रवेशले आफ्नो व्यापारमा प्रष्ट चुनौति दिने बुझाइ अहिलेका सेयर ब्रोकर कम्पनीहरुको छ।

सेबोनले असार २१ गते धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गर्दै ब्रोकरको न्युनतम पुँजी २० करोडदेखि डेढ अर्ब रुपैयाँसम्म पुर्‍याएको हो। जबकि अहिलेका ब्रोकरलाई दुई करोड चुक्ता पुँजी भए पुग्छ।

बोर्डले सेयर ब्रोकरहरूलाई सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी (स्टक डिलर) गरी तीन प्रकारमा विभाजन गरेको छ। तह अनुसारको कार्य क्षेत्र र चुक्ता पुँजीको सीमा बोर्डले निर्धारण गरेको हो। 

यसरी पुँजी सीमा कम्तिमा १० गुणाले बढेपछि ठूलो पुँजीका साथ आउने नयाँ धितोपत्र दलालसँग सेवा-सुविधामा प्रतिस्पर्धा गरेर भएकै ग्राहक पनि टिकाउन मुस्किल पर्ने बुझाइ र डर अहिलेका ब्रोकरहरुको हो। यस्तोमा स्टक ब्रोकरेजको व्यवसायमा आउने ठुला प्लेयरहरुसँग प्रतिस्‍पर्धाका लागि विद्यमान ब्रोकरहरुले आफ्नो पनि पुँजी आधार फराकिलो पार्दै क्षमता बढाएर जानुपर्ने हुन सक्छ। 

यसका लागि ब्रोकर कम्पनीका लगानीकर्ताहरुले अहिलेकोबाट कयौं गुणाले बढाएर स्वपुँजी (इक्विटी) थप्ने एउटा विकल्प छ। तर अहिले अधिकांश ब्रोकरहरु सानो पुँजीमा चलिरहेकाले सेबोनले तोकेको जतिकै पुँजी पुग्नेगरी स्वपुँजी थप्न असम्भवजस्तै देखिन्छ।

यस्तोमा पुँजी बढाउने दोस्रो विकल्प हुन्छ – ब्रोकर कम्पनीहरु मर्जरमा जाने। 

तर, सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीहरूले पूर्ण सेवासुविधाको ब्रोकर कम्पनीका रुपमा काम गर्ने गरी प्रस्तावित चुक्ता पुँजीको सीमा पुर्‍याउन मर्जरमा जाँदा यो संख्या पाँचवटामा झर्ने देखिएको छ। 

गत आर्थिक वर्षको चुक्ता पुँजी यथावत् राख्दै ‘पूर्ण सेवासुविधा सहितको ब्रोकर लाइसेन्स’ हासिल गर्ने गरी एकआपसमा गाभिँदा धितोपत्र दलाल व्यवसायीहरूको संख्या पाँचवटामा सीमित हुने देखिएको हो।

प्राप्त तथ्यांकअनुसार संचालनमा रहेका ५० वटा ब्रोकर कम्पनीहरूको एकिकृत चुक्ता पुँजी जम्मा २ अर्ब ९० करोड रुपैयाँ छ। जबकि, धितोपत्र बोर्डले प्रस्ताव गरेको ‘फुल ब्रोकर लाइसेन्स’ का लागि एउटै कम्पनीसँग हुनुपर्ने न्युनतम चुक्ता पुँजीको सीमा भने ६० करोड रुपैयाँ छ। 

यसअनुसार यथास्थितिमै ५० बाट ब्रोकरहरू मर्ज भए त्यसबाट ‘फुल ब्रोकर'को काम गर्ने गरी अनुमति पाउन सक्ने कम्पनी जम्मा पाँचवटा मात्रै स्थापना हुन सक्ने देखिएको हो।

संख्यात्मकरुपमा यस्तरी खुम्चिनुपर्ने अवस्था देखिएकै कारण पनि न्युनतम चुक्ता पुँजीको सीमा अत्याधिक बढाइएपछि भएका ब्रोकर कम्पनीलाई सिध्याएर ठुला व्यापारिक घरानालाई धितोपत्र दलाल व्यवसायमा छिराउने प्रपञ्च धितोपत्र बोर्डले गरेको आक्षेप ब्रोकर व्यवसायीहरूले लगाएका छन्। 

शाखा सञ्जालसँगै क्रमिक रूपमा पुँजी वृद्धि गर्दै आएका ब्रोकर कम्पनीको अस्तित्व संकटमा पारेर बोर्डले सीमित समूहलाई पोस्ने गरी नयाँ नीति अघि सारेको आरोप ब्रोकरहरूको हो।

यद्यपि, लगानीकर्ताको वर्गले भने धितोपत्र बोर्डको निर्णय सराहनीय रहेको जिकिर गरेका छन्। पछिल्लो तीन दशकदेखि एकाधिकार कायम गर्दै आएका ब्रोकरहरुमाझ प्रतिस्पर्धाको वातावरण नहुँदा बजार तथा सेवाको विस्तार हुन नसकेको लगानीकर्ताको गुनासो हो। सीमित समूह माझ दलाल व्यवसाय बाँडिदा गुणस्तरीय सेवाबाट बञ्चित हुँदै आएको लगानीकर्ताले महसुस गरेका हुन्।

लगानीकर्ताहरुको यस्तो गुनासो सम्बोधनका साथै धितोपत्र दलाल सेवालाई स्वस्थ र प्रतिस्पर्धी बनाउन 'धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता विनियमावली, २०६४' मा संशोधन गरेर क्षमतावान ब्रोकर भित्र्याउने गरी न्युनतम पुँजी सीमा फराकिलो बनाएको भनाइ सेबोनको छ।

व्यवसायिक कुशलता र प्रतिस्पर्धात्मक दबाब निर्माण गर्न बोर्डले अन्तर्राष्ट्रिय वरियताको ‘ओपन इन्ट्री ओपन एक्जिट’ प्रणालीका साथै पुँजीको उच्च सीमा बनाउने निर्णय गरेको बताएको छ।  

प्रस्तावित व्यवस्था अनुसार सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरू सीमित कार्य गर्ने सामान्य धितोपत्र दलाल सेवा अन्तर्गत पर्ने देखिन्छन्। यस वर्गका ब्रोकर कम्पनीले कम्तिमा पनि २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने हुन्छ। तैपनि आदेश अनुसार खरिद बिक्रीभन्दा अरू केही गर्ने अधिकार ‘डिस्काउन्ट ब्रोकर’ कम्पनीसँग हुँदैन।  

यसकारण पनि हालका ब्रोकर कम्पनीहरूलाई आफ्नो अस्तित्व बचाइ राख्न ‘फूल ब्रोकर लाइसेन्स’ लिनु अत्यावश्यक देखिन्छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रदायकहरूलाई खरिद बिक्रीसहित मार्जिन कारोबार, लगानी परामर्श, लगानी व्यवस्थापन र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने अधिकार हुन्छ। प्रस्तावित मस्यौदामा यस्ता ब्रोकर कम्पनीको चुक्ता पुँजी बोर्डले ६० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ।

६० करोड रुपैयाँको निर्धारित पुँजीको सिलिङ भेट्टाउन हाल सर्वाधिक चुक्ता पुँजी भएको ब्रोकर कम्पनीले समेत २०० प्रतिशत पुँजीको जोहो गर्नु पर्छ। सचालनमा रहेका ५० ब्रोकर व्यवसायी कम्पनीहरू मध्ये सर्वाधिक चुक्ता पुँजी भएको दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रालि हो।

कम्पनीको २० करोड रुपैयाँ चुक्ता पुँजी छ। प्रस्तावित मस्यौदाको आधारमा तत्काल धितोपत्र व्यवसाय गर्न योग्य ब्रोकर कम्पनी पनि दिपशिखा मात्र हो।  

यद्यपि, प्रस्तावित विनियमावली अनुसार सीमित धितोपत्र दलाल सेवा प्रदान गर्ने धितोपत्र व्यवसायीको सूचीमा कम्पनी समावेश हुने देखिन्छ।

ब्रोकर कम्पनीले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्न मात्र पाउनेछ। खरिद बिक्रीसहित मार्जिन कारोबार र निक्षेप सदस्यसहित लगानी व्यवस्थापनसम्बन्धी कार्य गर्न कम्पनीले ‘पूर्ण सेवा दिने ब्रोकर लाइसेन्स’ चाहिन्छ। त्यसैले, व्यवसाय बचाइराख्न कम्पनीलाई थप ४० करोड रुपैयाँबराबरको चुक्ता पुँजी आवश्यक देखिन्छ।  

नौ यस्ता ब्रोकर संस्थाको चुक्ता पुँजी भने दुई करोड रुपैयाँ मात्र छ। ‘फूल ब्रोकर लाइसेन्स’ को सर्त पुरा गर्न यिनीहरूले थप २९०० प्रतिशत पुँजीको जोहो गर्न आवश्यक छ।  कारण स्वरूप ब्रोकर कम्पनीहरूले एक अर्का बिच मर्जरको आपत्कालिन विकल्प प्रयोग गर्न सक्ने देखिएको हो। 

यद्यपि, ब्रोकर व्यवसायीहरू भने प्रस्तावित व्यवस्था नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकका लागि घातक साबित हुन सक्ने बत्ताउँछन्। उत्पादनमूलक क्षेत्रमा पुँजी को कमी भइरहेको अवस्थामा सीमित सम्भावना रहेको धितोपत्र दलाल व्यवसायमा आवश्यकताभन्दा बढी पुँजी उपलब्धिहीन हुने उनीहरुको तर्क रह्यो।

यसर्थ प्रस्तावित मस्यौदा अर्थमन्त्रालयले पूर्णतया अध्ययन नगरेसम्म अतिरिक्त पुँजीको विषयमा बोल्नु उपयुक्त नहुने ब्रोकर व्यवसायीहरू बत्ताउँछन्। 

‘विश्वका अति विकसित देशहरूको भन्दा कयौँ गुणाले उच्च चुक्ता पुँजीको सिलिङ तोकिएको छ,’ एक धितोपत्र व्यवसायीले बिजमाण्डूसँग भने, ‘नियामकले सूक्ष्म अध्ययनविना नै हचुवाको भरमा विनियमावली संशोधन गर्‍यो।’ 

बोर्डले धितोपत्र दलाल व्यवसायमा निहित जोखिम नै नबुझी अल्पदृष्टि राखी निर्णय गरेको उनले दाबी गरे। लोकप्रियताका लागि गरिएको संशोधन प्रस्तावले हाल सञ्चालनमा रहेका व्यवसायीहरुलाई व्यवसायबाट पलायन गरी सीमित समूहलाई ब्रोकर व्यवसाय सुम्पिन खोजिएको उनको आरोप छ।

हाल ब्रोकर कम्पनीहरुको चुक्ता पुँजी र प्रस्तावित ब्रोकर कम्पनी हुन उनीहरुलाई आवश्यक थप पुँजी प्रतिशतमा: