स्वदेशी उद्योगले बेच्न छाडे पाउडर दूध, बिस्कुट र कन्फेक्सनरी उद्योग संकटमा

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७९ असार १६ गते १२:४० | Jun 30, 2022
स्वदेशी उद्योगले बेच्न छाडे पाउडर दूध, बिस्कुट र कन्फेक्सनरी उद्योग संकटमा

विराटनगर। देशभरि नै पाउडर दूध अभाव भएपछि बिस्कुट र कन्फेक्सनरी उद्योग संकटमा पर्न थालेका छन्। देशमा पाउडर दूध उत्पादन गर्ने ३ वटै कम्पनीले आफ्नो उत्पादन बाहिर विक्री गर्न बन्द गरेपछि बिस्कुट र कन्फेक्सनरी उद्योगले समस्या झेल्नु परेको हो।

Tata
GBIME
Nepal Life

देशमा दूध पाउडर उत्पादन गर्नेमा दुग्ध विकास संस्थानको विराटनगरस्थित पाउडर प्लान्ट, पोखराको सुजल डेरी र चितवनको चितवन मिल्क लिमिटेड छन्। तीन कम्पनीले असार लागेपछि पाउडर दूध बिक्री रोकेका छन्।

मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष एवं एसियन बिस्कुट एन्ड कन्फेक्सनरी उद्योगका सञ्चालक महेश जाजूले देशका कुनै पनि उत्पादकले दूध पाउडरको आपूर्ति नगरेको बताए। उनले यसकाकारण बिस्कुट र कन्फेक्सनरी उद्योगले उत्पादन कटौती गर्न थालेको जानकारी दिए।

‘बिस्कुट र कन्फेक्सनरी दुबैको उत्पादनका लागि पाउडर दूध अति आवश्यक सहायक कच्चा पदार्थ हो’, जाजूले बिजमाण्डूलाई भने, ‘तर हामीले कतैबाट पाइरहेका छैनौँ। हामीलाई मात्र नभई केक आदि उत्पादन गर्ने बेकरीलाई पनि पाउडर दूध चाहिन्छ। बेकरीले पनि पाइरहेका छैनन्।’

जाजूले सरकारले कोभिडकालदेखि पाउडर दूध आयातमा बन्देज लगाएको हुँदा उद्योगले आयात गर्न नपाएको गुनासो गरे। उनको भनाइ थियो, ‘कोभिडका वेला पाउडर विक्री नभएर डीडीसी लगायत ३ वटै उत्पादकको पाउडर गोदाममै बिग्रन लागेको थियो। यसपछि सरकारले हतारहतार यसको आयातमा बन्देज लगायो। अहिले देशमा यसैको हाहाकार छ। तर पनि सरकारले आयातमा लगाएको बन्देज हटाएको छैन। यसलाई हटाउनुपर्छ भन्ने हाम्रो आग्रह छ।’

उनले पाउडर दूध आयातमा लगाइएको रोक सरकारले हटाएपनि ४० प्रतिशतको भन्सार महसुल रहेको गुनासो गरे। उनले उद्योगले यति धेरै भन्सार महसुल तिर्न नसक्ने जिकिर गर्दै औद्योगिक प्रयोजनका लागि आयात गरिने पाउडर दुधमा ५ प्रतिशत मात्र महसुल हुनुपर्ने माग गरे।
जाजूले उनका बिस्कुट र कन्फेक्नरी गरी दुई उद्योगमा मासिक ५० टन पाउडर दूध आवश्यक पर्ने स्पष्ट पारे।

त्यस्तै सुनसरीको दुहबीस्थित क्वालिटी बिस्कुट एन्ड कन्फेक्सनरीका सञ्चालक श्याम काबराले पनि आफ्नो उद्योगले सहायक कच्चा पदार्थ पाउडर दूध अभाव भोगिरहेको स्पष्ट पारे। उद्योगपति काबराले सरकारको अपरिपक्व नीतिका कारण देशभरिका बिस्कुट, कन्फेक्सनरी र बेकरी उद्योगले आफ्नो उत्पादन घटाइरहेको दाबी गरे।

काबराले साउन लागेपछि पनि पाउडर दूध अभाव भए दुबै उद्योगमा ताल्चा लगाउनुपर्ने बताए। उनले सरकारले उद्योगका लागि कच्चा वा सहायक कच्चा पदार्थको आयात बन्देज गर्न नपाउने जिकिर गरे। काबराले भने, ‘आयात बन्देज लगाउने नै हो भने पनि स्वदेशमा उत्पादन पर्याप्त भएका वेला गर्नुपर्छ। स्वदेशमै अभाव भएका बन्देज लगाएर सरकारले उद्योग विरोधी नीति पछ्याएको छ।’

उनले बिस्कुट र कन्फेक्सनरी दुबै उद्योग ३० वर्षयता अहिले ठूलो सङ्कटमा परिरहेको दुखेसो गरे। काबराले उनका दुबै उद्योगलाई गरी मासिक ३५ देखि ४० टन पाउडर दूध आवश्यक पर्ने जानकारी दिए। सुनसरीको दुहबीमा वसन्त चौधरीका नेतृत्वमा रहेको पशुपति बिस्कुट इन्डस्ट्रिजले पनि पाउडर दूध अभाव भोगिरहेको जनाएको छ।

उद्योगका प्रशासन प्रमुख भरत सिलवालले उद्योगलाई मासिक ३० टन पाउडर दूध आवश्यक पर्ने उल्लेख गर्दै कतै खरिद गर्न नपाइरहेको स्पष्ट पारे।दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले संस्थानले तत्काल पाउडर दूध बजारमा विक्री गर्न बन्द गरेको स्वीकार गरे। महाप्रबन्धक झाले संस्थानसँग हाल ९० हजार किलो पाउडर दूध मौज्दात रहेको स्पष्ट पारे।

झाले उक्त ९० हजार किलो पाउडर संस्थानलाई नै चाहिने बताए। उनले नेपालमा चैतदेखि भदौको अन्तिम सातासम्मसुक्खा सिजन हुने भएकाले यस अवधिमा पाउडर दूधको उत्पादन अत्यन्त न्यून हुने बताए। उनले असोज महिना नलागी प्रशस्त दूध नआउने भएकाले त्यस वेलासम्म बजारमा विक्री गर्ने उद्देश्यले पाउडर दूध उत्पादन गर्न नसकिने बाध्यता सुनाए।

झाले भने, ‘हामी अलिअलि पाउडर बनाइरहेका छौँ । कोभिड अघि हामीले चियामा चाहिने पाउडर दूध डेरी ह्वाइटनरको उत्पादन सुरु गरेका थियौँ। त्यसको उत्पादन अहिले उत्पादन बन्द गरिएको छ। अहिले सुक्खा सिजन हो। दूधको सङ्कलन कम छ। यति वेला हामीले बजारमा घिउ र बटर पनि दिन सकिरहेका छैनौँ।’

उनले संस्थानलाई दैनिक १ लाख ५० हजार लिटर दूध आवश्यक पर्नेमा ९० हजार लिटर मात्र सङ्कलन भइरहेको तथ्याङ्क उपलब्ध गराए। आफ्नै पाउडर प्लान्ट भएको चितवन डेरी मिल्क लिमिटेडका सञ्चालक राजुबाबु श्रेष्ठले पनि यति वेला आफ्नो डेरीले बजारमा पाउडर दूध विक्री गर्न नसक्ने बाध्यता प्रकट गरे।

उद्योगी श्रेष्ठका अनुसार कोभिडपछि देशमा पशुपालन ह्वात्तै घट्यो। यसले गर्दा दूधको उत्पादनमा असर पर्यो’। कोभिडकालमा किसानले समयमा पर्याप्त दाना पाएनन्। पशु स्वास्थ्यकर्मी पनि निष्क्रिय भए। उत्पादित दूध र दुग्धजन्य पदार्थको बजार पनि थिएन। त्यसैले किसानले पशुपालन छाडे र तिनले अर्कै पेशा अँगाल्दा दूध उत्पादनमा कमी आएर समस्या भएको उनी बताउँछन्।

उद्योगी राजुबाबुले चितवन मिल्कको पाउडर प्लान्टको क्षमता दैनिक १५ टन भएको र पिकसिजनमा १० टन उत्पादन गरिरहेको सूचना दिए। तर चैत लागेपछि भने चितवन मिल्कले आफैँले सङ्कलन गरेको दुधबाट पाउडर उत्पादन गर्न नसकेको स्पष्ट पारे। डेरी उद्योग सङ्घका उपाध्यक्ष एवं पोखराको सुजल डेरीका सञ्चालक निरञ्जन श्रेष्ठले पनि आफ्नो डेरीले तत्काल पाउडर दुध दिन नसक्ने बताए।

उद्योगी निरञ्जनले दुधको सङ्कलन नै अत्यन्त कम भएकाले सुजलले आफ्ना लागि पाउडर प्लान्ट चलाउन नसकेको उल्लेख गरे। निरञ्जनले भने, ‘अहिले पाउडर प्लान्ट भएका डेरीलाई नै पाउडर पुगिरहेको छैन। त्यसैले सरकारले तत्कालको अभाव पूर्ति गर्न नेपालका डेरीले भारतबाट कच्चा दुध र बटर आयात गर्न पाउने अनुमति दिनुपर्छ। यसबाट मूल्य अभिवृद्धि पनि हुन्छ। उद्योग चल्छ र रोजगारी पनि वृद्धि हुन्छ। यो कुरा हामीले ६ महिना अघिनै सरकारलाई भनेका थियौँ। तर भर्खर फाइल सर्दैछ भन्ने सुनिरहेको छु। जबकि चैतदेखि भारतबाट कच्चा दुध र बटर धमाधम आयात भइसक्नुपर्ने थियो।’