कुश्मामा पर्यटक तान्ने सेग्मेन्ट थप्दै ‘द क्लिफ’, सञ्चालनमा ल्यायो पहिलो स्काइ ग्लाइडिङ

बिजमाण्डू
२०७९ असार १२ गते १३:३६ | Jun 26, 2022
कुश्मामा पर्यटक तान्ने सेग्मेन्ट थप्दै ‘द क्लिफ’, सञ्चालनमा ल्यायो पहिलो स्काइ ग्लाइडिङ

काठमाडौं। साहसिक खेलमा पर्यटकले रुचि राखेको देखेपछि पर्वतको कुश्मास्थित द क्लिफले अझ आकर्षित गरेर व्यापार बढाउने सेग्मेन्ट थप्दै लगेको छ। यस क्रममा कुश्मामा स्काइ ग्लाइडिङ सञ्चालनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

यो साहसिक खेल मुलुकमै पहिलोपटक ल्याएको दाबी कम्पनीको छ। बन्जीलगायत साहसिक खेल रुचाउनेले स्काइ ग्लाइडिङ मन पराउने कम्पनीले जनाएको छ। यसमा दुई तर्फी टावरमा करिब एक सय मिटर लामो डोरीमा जडान गरिएको छ, त्यसमा स्केटबोर्डमार्फत वारपार गर्न सकिन्छ। 

'एउटा टावरबाट अर्को टावर जानका लागि तल्लो डोरीमा स्केटबोर्ड राखेर टेक्ने र शरीरमा हार्नेस बाँधेर क्याराविनरको मद्दतले लट्ठा (फलामे डोरी) माथि झुण्डिदै-चिप्लिँदै पुग्न सकिन्छ,' कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एकै पटकमा दुई जना सँगै खेल्न सकिने यो खेलमा प्रतिव्यक्ति १२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। यस अन्तर्गत ग्राहकले थ्री-सिक्स्टी क्यामेराले कैद गरेको फोटो र भिडियो समेत प्राप्त गर्न सक्ने जनाइएको छ।

साहसिक खेल पारखीसँगै आन्तरिक पर्यटकलाई नौलो अनुभव दिने उद्देश्यले स्काइ ग्लाइडिङ सञ्चालनमा ल्याइएको कम्पनीका अध्यक्ष राजु कार्कीले बताए। उनका अनुसार कम्पनीले हालसम्म ११ वटा साहसिक खेलहरू सञ्चालनमा ल्याइसकेको छ।

कम्पनीले स्काइ क्याफे, हर्स राइडिङ, स्काइ चियर, फेमिली पिङ, वसिङ ह्याण्ड, क्रेवी ब्रिज, जाइन्ट पिङ लगायत सेवा दिँदै आएको उनले बताए। स्काइ ग्लाइडिङ सञ्चालनमा आएपछि कुल १२ वटा साहसिक खेल सञ्चालनमा रहने जनाइएको छ।