टोयोटाको विद्युतीय गाडी ‘बिजेड फोर एक्स’मा समस्या, कम्पनीले २७०० इभी बजारबाट फिर्ता लिने

बिजमाण्डू
२०७९ असार ११ गते १६:५४ | Jun 25, 2022
टोयोटाको विद्युतीय गाडी ‘बिजेड फोर एक्स’मा समस्या, कम्पनीले २७०० इभी बजारबाट फिर्ता लिने

काठमाडौं। टोयोटाले उत्पादन गरेर बजारमा पठाएका गाडी कम्पनीले फिर्ता लिने भएको छ। टोयोटाले आफ्नो विद्युतीय गाडी (इभी) बिजेड फोर एक्स एसयुभीमा समस्या देखिएपछि बजारबाट २७०० एकाइ फिर्ता बोलाएको हो।

Tata
GBIME
Nepal Life

टोयोटाले पछिल्लो समय उत्पादन गरेको यस इभीको २७०० एकाइमा जडान गरिएको टायर लुज हुने समस्या देखा पर्न सक्ने भन्दै कम्सपनीले ती गाडी फिर्ता लिन लागेको जनाएको छ।

अटो उद्योगको विशाल कम्पनी टोयोटाले आफ्नो पहिलो ठूलो मात्रामा उत्पादन भएका २७०० विद्युतीय सवारीका पाङ्ग्राहरू खस्न सक्ने चिन्तामा फिर्ता बोलाएको जनाएको छ। बिजेडएक्स मोडलको गाडीका पाङ्ग्राहरू यसबाट ढिलो चाँडो पाङ्ग्रा निस्कने समस्या हुन सक्ने भन्दै टोयोटाले त्यस्ता सबै गाडी फिर्ता लिन लागेको कम्पनीले विज्ञप्‍तीमार्फत जनाएको छ।

यो कार जापानमा दुई महिनाअघि मात्र सार्वजनिक भएको हो। शुक्रबार टोयोटाले एक विज्ञप्तिमा उसले अमेरिका, युरोप, क्यानडा र जापानमा बिक्री भएका २७०० बिजेड फोर एक्स एसयुभीको लागि सेफ्टी रिकल जारी गरिएको उल्लेख गरेको छ।

'यदि सवारी चलाउँदा गाडीबाट पाङ्ग्रा छुट्यो भने यसले गाडीको नियन्त्रण गुमाउन सक्छ र दुर्घटनाको जोखिम बढाउँछ,' कम्पनीका एक अधिकारीले भनेका छन्, 'यस समस्याको समाधन नभएसम्म कसैलाई पनि यस्ता सवारी साधन नचलाउन आग्रह गरिएको छ।'

तर केही बिजेड फोर एक्स एसयुभी मोडेलहरू फिर्ता गरिएको छैन। यद्यपि, अन्तराष्ट्रिय संचार माध्यमका अनुसार टोयोटाका अधिकारीले कम्पनीले कतिवटा गाडी उत्पादन गरेको भन्ने बारेमा जानकारी दिन अस्वीकार गरेका छन्।

टोयोटाले बिहीबार जापानी सुरक्षा नियामकहरूलाई यस समस्याको बारेमा सूचित गरेको र समस्याको कारण अझै अनुसन्धानमा रहेको बताएको छ।

अर्को जापानी कार निर्माता सुबारुले पनि टोयोटासँग संयुक्त रूपमा विकास गरिएको सोल्टेराका २६०० इभीहरू यसै समस्याका कारण फिर्ता गरिरहेको बताएको छ।

अन्य प्रतिस्पर्धी कम्पनीको तुलनामा निक्कै ढिलो गरेर इभीको बजारमा छिरेको टोयोटाले यस हप्ता कम्प्युटर चिप्सको अभाव र महामारीको कारणले आपूर्ति अवरोधका कारण अर्को महिना उत्पादन गर्ने योजनामा ​​​​गाडीहरूको संख्या ५० हजारदेखि ८ लाखसम्म घटाउने बताएको छ।

टोयोटाले हाल यस वर्ष विश्वभर कुल ९७ लाख गाडी उत्पादन गर्ने लक्ष्य राखेको भए पनि यो संख्या घटाउन बाध्य हुने संकेत दिएको छ।