रत्नपार्क होइन, एकैठाउँमा खचाखच जहाज राख्न, उडान रोके चुप बस्दैनौं: क्यान महानिर्देशक अधिकारी

बिजमाण्डू
२०७९ असार ७ गते १६:०८ | Jun 21, 2022
रत्नपार्क होइन, एकैठाउँमा खचाखच जहाज राख्न, उडान रोके चुप बस्दैनौं: क्यान महानिर्देशक अधिकारी

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एउटै बिमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताएका छन्।

Tata
GBIME
Nepal Life

मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महनिर्देशक अधिकारीले एउटै ठाउँमा उडान, पार्किङका कारण असहजता बढेको भन्दै त्यसको नियन्त्रणका लागि कुल जहाजको ६७ प्रतिशत काठमाडौं बाहिर राख्न निर्देशन दिइएको बताएका छन्। 

महानिर्देशक अधिकारीले वायुसेवा कम्पनीले उडान बन्द गरे प्राधिकरण चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन्। मंगलबार वायुसेवा संचालकहरुले पनि पत्रकार सम्मेलन गर्दै उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका थिए। 

'आफूले गर्न नपाउँदा उडानै बन्द गर्छु भन्ने धङ्धङी नदेखाए हुन्छ। प्राधिकरण र वायुसेवा कम्पनी नङ र मासु हुन्। आर्थिक विस्तारका लागि दुवैको उत्तिकै भूमिका छ। उडान बन्द गर्ने निर्णय गलत हो। सानो गल्तीले ठूलो क्षति हुनेछ। जनताले दुख परे प्राधिकरण चुप लागेर बस्ने छैन,’ अधिकारीले भने। 

बेस बाहिर राख्ने निर्णय दुई महिना अगाडि बुद्ध, यती, सौर्य, श्रीलगायत वायुसेवा कम्पनीका प्रतिनिधिबीचको छलफल पछि पारित गरिएको उनले बताए। 

उडान डिले हुने, यात्रु र वायुसेवा कम्पनीका कर्मचारीबीच झगडा हुने, ग्राउन्ड ह्यान्डलिङमा समस्याका कारण स्वीकृति लिएको बेस अनुसार उडान गर्न निर्देशन दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। 

उनका अनुसार हेलिकोप्टरअन्तर्गत २१ वटा काठमाडौं र १७ वटालाई बाहिर बेस राख्न दिइएको जानकारी दिए। फिक्स विङतर्फ १७ वटा काठमाडौं र बाँकी ३५ वटा उपत्यका बाहिर राख्न निर्देशन दिइएको सिटौलाले बताए। 

कम्पनीले काठमाडौ बाहिरको बेस फेरबदल गर्न पाइने व्यवस्था रहेको उनले जानकारी दिए। प्राधिकरणले यसका लागि आवश्यक जनशक्ति, उपकरण व्यवस्थापन गर्ने जनाएको छ।