बाहिर बेस भएका कम्पनीलाई काठमाडौंबाट उडान गर्न रोक, सरकारी निर्णयविरुद्ध हवाई सेवा संचालक

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ असार ७ गते १२:४० | Jun 21, 2022
बाहिर बेस भएका कम्पनीलाई काठमाडौंबाट उडान गर्न रोक, सरकारी निर्णयविरुद्ध हवाई सेवा संचालक

काठमाडौं। उपत्यका बाहिर बेस भएका हवाई जहाज र हेलिकोप्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायुसेवा संचालकले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने निर्णय गरेका छन्।

Tata
GBIME
Nepal Life

पूर्व तयारीविना नै नेपाल नागरिक उड्डयन प्राधिकरणले धमाधम उडान रोक्न थालेपछि संघको आकस्मिक बैठकले यो निर्णय गरेको हो। संघले मंगलबार पत्रकार सम्मेलन गर्दै पाँच बुँदे माग पूरा नभए बुधबारदेखि उडान स्थगित गर्ने जानकारी दिएको हो।

संघका अध्यक्ष रामेश्वर थापाले सरकारको गलत निर्णयका कारण बाध्य भएर उडान स्थगितको निर्णय भएको बताए। 'बन्द गर्ने हाम्रो चाहना होइन। सरकारको निर्णयले गर्दा हामी वाध्य भएका हौं। छ बुँदे माग पूरा नभए अनिश्चितकालका समयका लागि बन्द हुनेछ। टिकट काटिसकेका यात्रुलाई सम्बन्धित वायुसेवा कम्पनीले रिफन्ड गर्नेछ,' उनले भने।

संघले ल्यान्डिङ, नेभिगेसन लगायतका शुल्क वृद्धि फिर्ता लिनुपर्ने, हेलिकोप्टर संचालनका लागि दीर्घकालिन रुपमा हेलिप्याड उपलब्ध गराउनुपर्ने/ मर्मत सम्भारका लागि ह्यागर लगायतका भौतिक पूर्वाधारका लागि स्थान दिनुपर्ने, वेस पूर्ववत अवस्था कार्यान्वयनमा ल्याएर सेवा संचालन गर्न पाउनुपर्ने, कालोसूचीबाट हटाउन पहल गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वीकृति लिएर विभिन्न कम्पनीले हवाई सेवा संचालनका लागि बनाएका संरचनालाई यथावत रुपमा  प्रयोग गर्न दिनुपर्ने माग राखेको छ।

कुन कुन रोकिए ?

प्राधिकरणले काठमाडौं बेस नरहेका हेलिकोप्टरको उडानमा रोक लगाएको छ। हेलि एभरेष्ट, मनाङ, माउन्टेन, कैलाश, अल्टिच्युड, मुस्ताङ लगायत काठमाडौं बेस पाएका ६ वटा कम्पनी बाहेकलाई काठमाडौंबाट उडान गर्न रोक लगाइएको छ।

मंगलबार रामेछापमा बिरामी उद्धार गर्न जान लागेको सिम्रिकको हेलिकोप्टरलाई उडान गर्न रोक लगाइएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक कर्मचारीका अनुसार प्रभु हेलिकोप्टरको पनि उडान रोकिएको छ।

प्रभु हेलिकोप्टरले स्थापनाकालदेखि नै पोखरा बेस रहेर आफ्नो सेवा दिँदै आएको छ भने सिम्रिक एयरको पाँचैवटा जहाजले नेपालगञ्ज बेस रहेर उडान गर्ने इजाजत छ। एयर डाइनेष्टीले दुईवटा काठमाडौं, एउटा लुक्ला र एउटा पोखरा बेस रही उडान गर्ने जनाएको छ।

उनका अनुसार मुलुकमा ११ वटा हेलिकोप्टर कम्पनी छ भने ती कम्पनीका ३७ वटा हेलिकोप्टर छ।

जहाज कुन कुन प्रभावित हुन्छन् ?

प्राधिकरणको निर्णयसँगै ६७ प्रतिशत जहाज काठमाडौं बाहिरै राखेर उडान गर्नुपर्ने भएको छ। प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको ट्राफिक कन्जेसन नियन्त्रण गर्ने उद्देश्यले यस्तो प्रावधान लागू गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। यो असार १३ गतेदेखि कार्यान्वयनमा आउनेछ।

'हामीले पहिलै यो प्रावधान लागू गरिदिएका थियौं। तर, पालना भएको थिएन। फिक्स विङ अन्तर्गत नौ वटा वायुसेवा कम्पनीको ५२ वटा जहाज छन्। टीआइएमा उडान-अवतरणका लागि जहाज क्षमता १७ वटा हो। अब बाँकी ३५ वटा जहाजले बाहिर जिल्लाका विमानस्थललाई बेस बनाएर नियमित उडान गर्नु पर्नेछ,' प्रवक्ता सिटौलाले भने।

उपत्यका बाहिर बेस राखेर नियमित उडान गर्दा चहलपहल वृद्धि हुनका साथै काठमाडौं विमानस्थलमा भिडभाड कम हुने उनले बताए।