डिजिटल प्लाटफर्मकै फेसन उद्योगमा छिर्ने मेटाको तयारी, अवतारका लागि डिजाइनर लुगा बेच्ने

बिजमाण्डू
२०७९ असार ७ गते ०९:३१ | Jun 21, 2022

फेसबुकको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्मले छिट्टै डिजिटल कपडा स्टोर सुरु गर्ने भएको छ। यस स्टोरमा प्रयोगकर्ताहरूले आफ्नो अवतारका लागि डिजाइनर पोसाकहरू किन्न सकिने मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले दिएका छन्।

Tata
GBIME
Nepal Life

बालेन्सिया, प्राडा तथा थम ब्राउन लगायतका फेसन ब्रान्डहरूले डिजाइन गरिएका भर्चुअल आउटफिटहरू खरिदका लागि उपलब्ध हुने जुकरबर्गले इन्स्टाग्रामको फेसन प्रमुखसँग भनेका छन्।

मेटाका एक प्रवक्ताका अनुसार सो आउटफिटहरूको मूल्य २.८८ देखि ८.९९ अमेरिकी डलरसम्म हुनेछ, जुन यी डिजाइनरहरूले बनाउने वास्तविक पोसाकहरू भन्दा धेरै कम हो। उदाहरणका लागि, प्राडाको म्याटिनी अस्ट्रिच लेदर ब्याग १० हजार ७ सय डलरमा बिक्री हुन्छ।

जुकरबर्गले यस डिजिटल कपडा स्टोरलाई एउटा खुला मार्केट प्लेसका रूपमा स्थापना गर्ने सपना देखेका छन्, जहाँ डेभलपरहरूले डिजिटल कपडाहरूको विस्तृत शृंखला सिर्जना गर्न र बेच्न सक्छन्।

मेटाका लागि फेसबुक, इन्स्टाग्राम र यसका अन्य प्लाटफर्महरूमा प्रयोगकर्ता पहिचान लिंक गर्ने एक महत्वपूर्ण तरिका रूपमा अवतारहरू स्थापित भएको छ। यसले मेटाका विभिन्न प्लाटफर्महरूलाई एकसाथ जोड्दछ र साझा, अन्तर-सम्बन्धित डिजिटल संसारहरूको 'मेटाभर्स' निर्माण गर्न सकिन्छ, जहाँ प्रयोगकर्ताहरू भेला हुन सक्छन्।

कम्पनीको भर्चुअल रियालिटी हेडसेटका प्रयोगकर्ताहरूले भिडियो गेमहरू खेल्न, व्यायाम कक्षाहरू लिन र सम्मेलन कलहरूमा भाग लिनको लागि अवतारहरू सेटअप गर्ने गरेका छन्।

मेटाले जारी गरेको विज्ञप्तिअनुसार सुरुमा डिजिटल पोसाकहरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा मात्र उपलब्ध हुनेछन्।

कम्पनीले गत वर्ष आफ्नो भर्चुअल रियालिटी अवतारहरूलाई थप अभिव्यक्त र त्रि-आयामिक बनाउन पुन: डिजाइन गरे जनवरीदेखि फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा उपलब्ध गराएको थियो।(रोयटर्सबाट)