काठमाडौंमा बहुतले पार्किङ बनाउनेलाई महानगरको सहुलियत, सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने

बिजमाण्डू
२०७९ असार ५ गते १८:५७ | Jun 19, 2022
काठमाडौंमा बहुतले पार्किङ बनाउनेलाई महानगरको सहुलियत, सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले बहुतले पार्किङ निर्माणलाई प्रथामिकतामा राखेको छ। यसका लागि महानगरले बहुतले पार्किङ निर्माण गर्न इच्छुक निजी कम्पनीलाई सहुलियत दिने भएको छ।

Tata
GBIME
Nepal Life

आइतबार महानगरको ११औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले यस्तो घोषणा गरेका हुन्।

महानगरपालिकाभित्र प्रमुख समस्यामा रहेको पार्किङलाई व्यवस्थित गर्न यस्ता बहुतले पार्किङ निर्माणका लागि यस अघि नै नगर विकास कोषले पनि प्रक्रिया अगाडि बढाइरहेको छ। त्यसलाई नै थप व्यवस्थित गर्ने गरी बहुतले पार्किङ बनाउने निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागिएको हो।

यस्तै, महानगरले सार्वजनिक सवारीमा जीपीएस जडान गरिने भएको छ। साथै, खुल्ला मञ्चसँगैको जग्गामा बोरिङसहितको भुमिगत पार्किङ निर्माण गर्न सम्भाव्यता अध्ययनलाई अगाडि बढाउने महानगरको नीति तथा कार्यक्रममा आएको छ।

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न कम्पनी स्थापना गरी काठमाडौं उपत्यकाभित्र संचालन सबै सवारी साधनलाई एउटै छाता संघठनभित्र समावेश गर्ने महत्त्वाकांक्षी योजना पनि मेयर शाहले नीति तथा कार्यक्रममा राखेका छन्। यी योजनाहरु उनले मेयरमा उम्मेदवारी दिँदादेखि नै उल्लेख गर्दै आएका हुन्।