यलकोटको ‘द भिलेज क्याफे’: जहाँ मेचीदेखि दार्चुलासम्मका खाद्यान्नबाट तयार हुन्छ नेवारी खाना

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ असार ३ गते १५:११ | Jun 17, 2022

काठमाडौं। झ्व: भ्वय् अर्थात नेवारी भोज। काठमाडौं, ललितपुर र भक्तपुरलाई नेवारी संस्कृति र परम्पराको केन्द्र मानिन्छ। नेवारी संस्कृतिको अभिन्न पाटो हो नेवारी परिकार।

Tata
GBIME
Nepal Life

'नेवारी खाजा' अर्थात 'झो भ्वय्' रैथाने परिकार खोज्नेहरुको प्रमुख रोजाइ पनि हो। नेवारी खानासँग स्वाद मात्र नभइ परम्परा, संस्कृति र विज्ञान समेत जोडिएको हुन्छ।

आधिकारिक नेवारी परिकारका लागि यतिखेर झम्सिखेलमा रहेको द भिलेज क्याफे रोजाइको स्थान बनेको छ। सार्क बिजनेस एशोसिएसन अफ होम बेस्ड वर्कर्स नेपाल (सबा) अन्तर्गत सञ्चालित द भिलेज क्याफेले आधिकारिक नेवारी खाजा, खाना मात्र नभइ नेवारी संस्कृतिको पनि प्रवर्द्धन गर्दै आएको छ।

सबा अन्तर्गत १२ वर्ष अघिदेखि संचालित भिलेज क्याफेले नेवार समुदायमा घर गृहस्थीमै सीमित रहेका महिलाहरुलाई बटुलेर अथेन्टिक नेवारी स्वाद दिने रेष्टुरेन्टको परिकल्पना गर्‍यो।  मुख्य कुरा त यो रेष्टुरेन्टमा देशभरका २२ ग्रामीण भेगमा उत्पादन हुँदै आएको खाद्य सामाग्रीको प्रयोग हुँदै आएको भिलेज क्याफेका महाप्रबन्धक गजेन्द्र मल्ल बताउँछन्।

खाजासँगै खाना अर्थात 'झ्व: भ्वय्' तथा रात्रिकालीन खानाका लागि रेष्टुरेन्टमा दैनिक स्वदेशी र विदेशी पाहुनाहरुको लर्को लाग्छ। यहाँ सालको पातको 'लप्टे'मा पस्किने खाना र परम्परागत शैलीमा खुवाइने तरिकाप्रति ग्राहकहरु आकर्षित भएको महाप्रबन्धक मल्लको भनाइ छ।

ताइचिन चिउरा, आलु, छोयला, मेथीको अचार, कचिला, साग, गेडागुडी, भुटन लगायतका परिकारलाई पालैपालो पस्किने शैली यहाँ अपनाइन्छ। यो सँगै प्यालामा ऐला पनि राखिएको हुन्छ। नेवारी परिकार अन्य परिकारभन्दा अलि पिरो नै हुने गर्छ। तर यहाँ ग्राहकको चाहना अनुसार मसलाहरुको प्रयोग गरिने उनले जानकारी दिए।

'हामीले अथेन्टिक छोयलाको स्वाद दिँदा त्यसमा भएको पिरो सबैले सहन सक्नुहुन्न। त्यसैकारण हामीले सफ्ट, माइल्ड र स्पाइसी लगायत तीनवटा अप्सन बनाएका छौं। पाहुनाको स्वादलाई बुझेर हामीले मसलाहरुको प्रयोग घटाउने वा बढाउने गर्छौं,' उनले भने।

रेष्टुरेन्टमा दिउँसोको समयमा योमरी, बारा, समयबजी लगायत विभीन्न परिकार खानका लागि ग्राहकको भीड लाग्ने गर्छ।

'हाम्रो मेनु परिवर्तन हुन सक्छ तर यसमा राखिएको नेवारी परिकार र शैली परिवर्तन हुँदैन। जस्तै हामीले फ्युजन गरेर एक्जोटिक मिट प्लाटर राखेका छौं। तर यस मेनुमा नेवारी शैलीकै ठों र अन्य परिकारहरु समावेश छन्,' उनले भने।

परिकार तयार पार्न खोकना र बुङमतीका ६० जना महिला परिचालन गरिएको छ।

यस रेष्टुरेन्टमा प्रयोग हुने अधिकांश खाद्य सामग्री तेल, नुन, बेसार, घिउ, टिमुर, जिम्बु, मह, सिमी, खुवा, सक्खर, चामल, चिउरा लगायतका खाद्य सामाग्री देशका विभिन्न ग्रामीण भेगबाट ल्याइने गरिएको छ।

रेष्टुरेन्टका महाप्रबन्धक मल्ल भन्छन्-'भौगोलिक संरचना अनुसार हामीले देशका बिभिन्न जिल्लाका संस्कृति परम्परासँग जोडिएका खाद्यान्न र उत्पादनलाई प्रयोग गर्दै आएका छौं। खासमा यसको नाम द भिलेज क्याफे राख्नुको कारण पनि यही नै हो।'

परम्परागत रुपमा नेवारी खानामा प्रयोग हुने ताइचिनको चिउरा पछिल्लो समय कम मात्र पाइन थालेको छ। काठमाडौंमा रहेका खेतीयोग्य जमिन प्लटिङ हुन थालेपछि अथेन्टिक ताइचिनको चामल र चिउराको माग नै धान्न गाह्रो हुँदै आएको उनले बताए।

१२ वर्ष अघिदेखि सञ्चालनमा आएको रेष्टुरेन्टले रैथाने नेवारी खानाको प्रवर्द्धन मात्र नभइ नेवारी सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गर्दै आएको छ।

योमरी पूर्णिमा, बिभिन्न जात्राहरु वा विशेष समारोहमा नेवारी संस्कृतिको प्रवर्द्धन गर्नका लागि रेष्टुरेन्टले कुनै एक विशेष परिकारको प्रदर्शनी र बिक्री गर्दै आएको छ। महाप्रबन्धक मल्लका अनुसार गएको योमरी पूर्णिमामा मात्रै रेष्टुरेन्टले २० हजार योमरी बिक्री गरेको थियो।

अहिले पनि रेष्टुरेन्टबाट दैनिक सात सय योमरी बिक्री हुँदै आएको उनको दाबी छ। यसअघि निदान हस्पिटल नजिक रहेको भिलेज क्याफेले दुई वर्षयता आफ्नो सेवा यलकोटबाट दिँदै आएको छ। झम्सिखेलस्थित यलकोटको चौथो तल्लामा रहेको रेष्टुरेन्टमा नियमित ग्राहकसँगै नयाँ ग्राहकको चहलपहल पनि उल्लेख्य रहेको उनी बताउँछन्।

'नेवारी खानामा तान्त्रिक विद्याको पनि महत्त्व जोडिएको मान्यता रहिआएको छ। समयबजीमा प्रयोग हुने माछा, अण्डा, कालो भटमास, आलु तामा, छोयला, अचार, ऐलाको संयोजनमा तान्त्रिक शक्तिको समायोजन भएको किंवदन्ती पाइन्छ,' उनले भने। रेष्टुरेन्टमा समयबजी निकै रुचाइएको परिकारमा पर्छ।

नेवारी परिकारको इतिहास दुई सय वर्ष पुरानो रहेको उनी बताउँछन्। उनका अनुसार नेवारी खाना उति बेलैदेखि विज्ञान र तान्त्रिक शक्तिसँग पनि जोडिएका किंवदन्ती छन्।

'अहिले पो खाना ग्यास्ट्रोनोमीमा गएको छ। तर नेवारी परिकार त दुई शताब्दि अगाडिदेखि नै सुरु भएको हो नि ! रातो मच्छिन्द्रनाथको जात्राबाटै हामीले पञ्चतत्वको अर्थ बोकेको खाना खान सिकिसकेका रहेछौं,' उनले भने।

रेष्टुरेन्टले यालकोटबाट मात्र नभई युएनडीपी, युनेस्को लगायतका अन्तराष्ट्रिय संस्थाहरुलाई नेवारी रैथाने परिकारको क्याटरिङ सेवा पनि दिँदै आएको छ। नेवारी रैथाने परिकार र यो सँगै गरिएको फ्युजन परिकार बाहेक अन्य किसिमका खानाहरु भने यहाँ राखिँदैनन्।

परम्परा झल्किने सामाग्री

रेष्टुरेन्टको भित्री कक्षमा नेवारी संस्कृति झल्कने भाँडाकुँडा, बाजा तथा काष्ठकला राखिएको छ। भित्रको कक्ष प्रवेश गरेलगत्तै देखिने काठको र्‍याकमा मेचीदेखि महाकालीमा रहेका विभिन्न ग्रामीण भेगमा उत्पादित खाद्य सामाग्री (विशेषगरी पाक सामाग्री) सजाएर राखिएको छ। यो प्रदर्शनीका लागि मात्र नभइ भान्सा प्रयोजन र ग्राहकले कोसेली प्रयोजनका लागि पनि किनेर लान सक्नेछन्।

चार तल्ला माथि रहेको रेष्टुरेन्टले भित्र र बाहिर गरी दुईवटा कक्ष तयार पारेको छ। ह्याङआउटका लागि बाहिर टेरेसमा बस्ने व्यवस्था गरिएको छ भने भित्री कक्षमा पलेटी कसेर बसेर खान मिल्ने ठाउँ छ। यहाँ टेबल-कुर्सीमै पनि बसेर खान मिल्छ।

यो रेष्टुरेन्ट नेपाली संस्कृति कलालाई माया गर्ने सबै उमेर वर्गका लागि रहेको बताउँदै उनले भने,'जसले नेपाली संस्कृतिलाई माया गर्छ भिलेज क्याफे उसकै लागि हो। पुस्ता पुस्तामा संस्कृति, परम्पराको ज्ञान सर्दै जाओस् भन्ने हाम्रो उद्देश्य हो। पहिचान विस्तारका लागि हामीले यहाँ जाँतो, ओखल, घ्याम्पो, माना, पाथी लगायत सामाग्रीहरु पनि प्रदर्शनमा राखेका छौं।'

४२ हजार स्क्वायर फीटमा रहेको रेष्टुरेन्टमा एउटा सेमिनार हल, टेरेस, भित्री कक्ष गरी ती कक्षमा ८० जनाको अकुपेन्सी छ।

रेष्टुरेन्टले स्थापनाकालदेखि नै एउटै स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अपनाउँदै आएको महाप्रबन्धक मल्लले बताए। सुरुवातदेखि एकैनासको परम्परागत स्वाद र स्वास्थ्यलाई ध्यानमा राखी यहाँ परिकार बनाइँदै आएको छ। खोकना बुङमतीका महिलालाई आलोपालो गरी रोजगारीमा सहभागी गराउँदै यस रेष्टुरेन्टले ग्रामीण भेगका महिलालाई आत्मनिर्भर बनाउने बाटोमा पनि सघाएको छ।