
काठमाडौं। वैशाख महिनामा घटेको आयात जेठ महिनामा फेरि उकालो लागेको छ। यससँगै चालु वर्षको ११ महिनामा आयात रकम साढे १७ खर्ब रुपैयाँ नाघेको छ। जेठमै डेढ खर्बभन्दा बढी आयात भएपछि यो ११ महिनामा आयात १७ खर्ब ६२ अर्बको पुगेको हो।
भन्सार विभागका अनुसार जेठ महिनामा कुल एक खर्ब ५८ अर्बको आयात भएको छ। गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा पनि यो जेठमा २९ अर्ब धेरैको आयात भएको छ। पोहोर जेठमा एक खर्ब २९ अर्बको आयात भएको थियो।
चालु वर्ष सुरुआतदेखि नै आयातको रफ्तार बढिरहेको हो। बीचमा सरकार तथा राष्ट्र बैंकको नीतिगत कडाइ गर्दा माघ र वैशाखमा आयात केही घटेको भए पनि पुनः उकालो लाग्न थालेको आँकडाले देखाएको छ। आयात बढेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल र राष्ट्र बैंकले विभिन्न सामग्रीको आयातमा लगाएको प्रतिबन्ध भने अझै कायमै छ।
राष्ट्र बैंकले गत पुसमा केही वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा शतप्रतिशतसम्म मार्जिन लाउने व्यवस्था गरेको थियो। यसपछि माघमा आयात केही कम भएको थियो।
व्यवसायीहरुले एक बैंकबाट ऋण लिएर अर्को बैंकबाट एसली खोल्ने घुमाउरो बाटो प्रयोग गर्न थालेपछि फागुनबाट आयात थप चुलिएर एक खर्ब ६१ अर्ब रुपैयाँ नाघेको थियो। चैतमा पनि त्यस्तै प्रवृत्ति देखिएपछि राष्ट्र बैंकले केही वस्तुको आयातमा थप कडाइ गरेको थियो।
राष्ट्र बैंकले मौखिक रुपमा बैंकहरुलाई ३०० भन्दा बढी वस्तुको आयात नगर्न भनेको थियो। खासगरी सुन आयात त्यो बेला बन्द भयो। पछि सरकारले १० वस्तुको आयात चालु वर्षकै लागि बन्द गर्यो। यसले गर्दा आयात वैशाखमा घटेको थियो।
यसको असर वैशाख महिनामा स्पष्ट देखिएको थियो। वैशाखमा खर्ब ३७ अर्बको मात्रै आयात भएको थियो। तर जेठ महिनामा भने आयात पुरानै लयमा फर्किएको छ। यसो त जेठ महिना संघीय सरकारको बजेट कार्यक्रम पेश गर्ने महिना पनि हो। बजेटबाट करका दरहरु हेरफेर हुने भएकाले व्यवसायीहरुले जेठ १४ गतेभित्रै आयात गरेका सामाग्रीहरु भन्सार जाँचपास गर्ने गरेका छन्। यसले गर्दा पनि जेठमा आयात धेरै भएको देखिएको हो।
विशेषगरी विदेशी रक्सी तथा चुरोट, गाडी, मोटरसाइकल जस्ता सामाग्रीहरुको आयात बजेटअघि बढ्ने गरेको छ।
पछिल्ला वर्षका बजेटहरुमा मदिरा र चुरोटमा निरन्तर कर बढिरहेको छ। यस्तै, सवारी साधनमा पनि निरन्तर कर दरहरु परिवर्तन भैरहेका छन्।यसले गर्दा भन्सारमा आएका यस्ता सामाग्रीहरु बजेटअगावै छुटाउने गरिन्छ।
जेठ महिनाको १४ गतेसम्म तुलनात्मक रुपमा धैरे आयात हुने गरेको भन्सार विभागका एक कर्मचारीले बताए। उनी भन्छन्, 'भन्सारमा पहिलेदेखl नै सामान ल्याएर राखेका हुन्छन्। यस्ता सामानहरु बजेटअगाडि जाँचपास गर्ने गर्छन्। यसकारण पनि जेठमा आयात चुलिएको हो।'
शोधानन्तरमा थप दबाब
जेठमा आयात बढेपछि शोधानान्तर स्थितिमा पनि दबाब बढ्ने देखिएको छ। अर्थ मन्त्रालयले चालु वर्षभित्र नै शोधानान्तर स्थिति सन्तुलनमा आउने दाबी गरेको थियो। तर आयातको उकालो ग्राफले यसमा दबाब बढेको छ।
निर्यात अहिलेसम्मकै धेरै, ८०% हिस्सा सूर्यमुखी र पाम तेलको
यस्तै, निर्याततर्फ पनि केही सुधार भने देखिएको छ। जेठ महिनामा १२ अर्ब ५० करोड रुपैयाँबराबरको निर्यात भएको छ। यो सँगै कुल निर्यात एक खर्ब ८४ अर्ब ८४ करोड पुगेको छ। यो नेपालले गरेको अहिलेसम्मकै सबैभन्दा धेरै निर्यात हो। निर्यात हुने अधिकांश वस्तुमा पाम, सोयाबिन र सनफ्लावर तेल रहेका छन्। निर्यातमा यी वस्तुको हिस्सा ८० प्रतिशतभन्दा बढी हुन्छ।
यो पटक एमएस बिलेट, गहुँ, मोटरसाइकल, चिनी, डीएपी मल, सिमेन्ट क्लिंकर, स्वास्थ्य उपकरण, हातहतियार, सीआर सीट र धानको आयात परिमाण घटेको छ।
यी आयात हुने मुख्य १० वस्तु हुन्। यद्यपि, मूल्यका कारण डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको आयात रकम भने बढेको छ। यसबाहेक कच्चा पाम तेल, भ्याक्सिन, शुद्ध फलाम, एचआर सीट र भटमासको तेलको पनि आयात घटेको छ।