राजस्व अनुसान्धान विभागका प्रकाश पौडेलको सरुवा, झलकराम अधिकारी आए प्रधानमन्त्री कार्यालयमा

बिजमाण्डू
२०७९ जेठ ३० गते १७:१६ | Jun 13, 2022
राजस्व अनुसान्धान विभागका प्रकाश पौडेलको सरुवा, झलकराम अधिकारी आए प्रधानमन्त्री कार्यालयमा

काठमाडौं। राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पौडेलको सरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको हो। 

Tata
GBIME
Nepal Life

पौडेल विभागमा २०७८ असोज १८ मा विभागको जिम्मेवारी पाएका थिए। राजस्व चुहावट नियन्त्रणका लागि विभाग महत्त्वपूर्ण मानिन्छ।

केपी शर्मा ओलीको पालामा प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको यो विभाग शक्तिशाली मानिन्छ। विभागले ठूला व्यवसायिक घरानाका केही मुद्दा अदालतमा दर्ता गरिसकेको छ भने केही मुद्दा अनुसन्धानको क्रममा छ।

सोमबार धन्यवाद ज्ञापनसम्बन्धी विज्ञप्ती जारी गर्दै पौडेलले आफ्नो कार्यकालभर गरिएको कामबारे उल्लेख गरेका छन्। यस आर्थिक वर्षमा विभागीय प्रमुखहरु दुईपटक परिवर्तन हुँदासमेत अनुसन्धान र अभियोजनको काम निरन्तर भएको पौडेलले विज्ञप्तीमार्फत भनेका छन्।

आफ्नो कार्यकालमा बहुराष्ट्रिय कम्पनीहरुको कारोबारमा गरेको पुँजीगत लाभकर छली, नक्कली अन्त:शुल्क स्टिकरको प्रयोग, क्रिप्टोकरेन्सीजस्ता अत्यन्त जटिल र नयाँ विषयमा समेत विभागले अभियोजन गरेको पौडेलले बताएका छन्। 

महालेखापरीक्षकका विभिन्न वार्षिक प्रतिवेदनहरुमा उल्लेख भएका कर छलीका कतिपय गम्भीर विषयमा अनुसन्धान भएको समेत उनले उल्लेख गरेका छन्।

सरकारले पछिल्लो समय आयातमा गरेको कडाइका कारण चिनी, लत्ताकपडा, मदिरा, विद्युतीय सामानको चोरीपैठारी बढ्न सक्ने र नियमित भन्सार विन्दु प्रयोग नगरी एकैपटक गोदामस्थलमा स्रोत नखुलेका वस्तुको भण्डारण जस्ता काममा संलग्नलाई थुनामा राखी अनुसन्धान भइरहेको बताएका छन्। 

विभागले आफ्नो कार्यकालमा सर्वसाधरणहरुको नागरिकता र आर्थिक अवस्थाको फाइदा उठाई कारोबार गर्ने र वास्तविक कारोबारी अज्ञात रहनेतर्फ सचेत रहेको बताइएको छ।

त्यस्ता कारोबारस्थलबाट प्रयोग भएका कम्प्युटर, मोबाइलमा रहेको विवरणहरुलाई डिजिटल फरेन्सिक ल्याबसमेतको मद्दतमा अनुसन्धानको आधार बनाइ वास्तविक धनी पहिचान गर्ने पद्दतिको विकास गर्दै लगेको पौडेलले उल्लेख गरेका छन्। 

पौडेल विभागमा रहँदा राजस्व चुहावटमा ६९ वटा मुद्दा दायर भएको छ। यी मुद्दाबाट कुल बिगो २० अर्ब ६१ करोड माग गरिएको छ। यस्तै, विदेशी विनिमय अपचलनमा ४६ वटा मुद्दा दायार भएका छन्। जसबाट १ अर्ब १० करोड बिगो माग गरिएको छ। 

पौडेलसँगै सामान्य प्रशासन मन्त्रालयमा रहेका सहसचिव झलकराम अधिकारीको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ। अधिकारीलाई नै विभाग महानिर्देशकको जिम्मेवारी दिने आकलन गरिएको छ।