बैंकिङ कसुर मुद्दाका दुई फरार पक्राउ, एकलाई साढे १६ लाख र अर्कालाई १ करोड जरिवाना

बिजमाण्डू
२०७९ जेठ २१ गते १४:२१ | Jun 4, 2022
बैंकिङ कसुर मुद्दाका दुई फरार पक्राउ, एकलाई साढे १६ लाख र अर्कालाई १ करोड जरिवाना

काठमाडौं। बैंकिङ कसुरका दुई छुट्टाछुट्टै मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि-६ बस्ने खोटाङको हलेसी तुवाचुङ-९ सल्लेका ५१ वर्षीया इन्द्रकुमार राई र कागेश्वरी मनोहरा-१ बस्ने ४८ वर्षीय रामेश्वर चौलागाई छन्।

Tata
GBIME
Nepal Life

प्रहरीका अनुसार बैंकिङ कसुर मुद्दामा राईलाई उच्च अदालत पाटनले गत वैशाख ५ मा ४ दिन कैद र १६ लाख ५० हजार रुपैयाँ जरिवाना पैसला गरेको थियो। उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रबार चाबहिलबाट पक्राउ गरेको हो।

राईले २०७७ माघ २४ मा आफ्नो बैंक खातामा पर्याप्त पैसा नभए पनि ग्लोबल आईएमई बैंक लिमिटेड भक्तपुर शाखाको चेक दिएका थिए। उनको चेक पाउनेले आफूलाई राईले ठगेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए। 

यस्तै चौलागाईलाई गत बिहीबार पक्राउ परेका हुन्। उच्च अदालत पाटनले वैशाख ४ मा उनलाई १ महिना कैद र १ करोड रुपैयाँ जरिवाना ठहर गरेको थियो। मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं-३१ भिमसेनगोलाबाट पक्राउ गरेको हो।

दुवैलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।