विदेशीलाई विस्थापित गर्ने लक्ष्यका साथ लोकल चिप्स ‘लोको’, सातथरी स्वादले लोभ्याउँदै

बिजमाण्डू
२०७९ जेठ २० गते ११:४४ | Jun 3, 2022

काठमाडौं। काठमाडौंका अनिश प्रधान र अभिषेक गुरुङ सानैदेखिका साथी हुन्। अनिश ट्रेडिङ व्यवसायमा थिए भने अभिषेक आफ्नो विज्ञापन एजेन्सी चलाइरहेका थिए। लकडाउन सबैजसो व्यवसायहरूको लागि निकै कठिन समय थियो।

Tata
GBIME
Nepal Life

‘मेरो हकमा हेर्ने हो भने विज्ञापन एजेन्सीको काम र कारोबार ठप्प सरी नै भएको थियो, किनभने कुनै पनि व्यवसायको खर्च कम गर्नका लागि गरिने पहिलो कटौती नै विज्ञापनको हो। अनिशको पनि व्यवसायमा नराम्रो धक्का पुगेको थियो, अभिषेकले भने।’

लकडाउन अघि अभिषेक आफ्नो विज्ञापन एजेन्सीबाट अरुको थुप्रै ब्रान्ड बनाइरहेका थिए भने अनिशले अरुकै ब्रान्डका सामानहरूको कारोबार गर्दै आएका थिए। लकडाउनले चलिरहेको व्यवसाय नराम्रो असर गर्दा उनीहरुले आफ्नो मेहनत र आइडिया आफ्नो ब्रान्डमा लगानी किन नगर्ने भनेर सोच्दा लोकल चिप्सलाई लोको ब्राण्डमा उत्पादनको अवधारणा आएको हो। लोको चिप्स नेपाली लोकल चिप्सको एउटा ब्रान्डका रुपमा बिक्री वितरण भइरहेको छ।

साना साना खुसीको साथी

त्यस्तो कठिन समयमा पनि हिम्मत नहारेर नयाँ व्यवसाय थालनी गरेका अभिषेक भन्छन्, ‘हाम्रो त्यहि सानो जितको परिणामस्वरुप खडा भएको हाम्रो ब्रान्डको ट्याग लाइन नै सानो सानो खुसी मनाऔं भन्ने राखेका छौं।’

लोको चिप्सको सुरुवात दोस्रो लकडाउनबाट भएता पनि उनीहरुको प्लानिङ भने २०१९ देखिको नै थियो। सधैं सँगै मार्केटमा घुमिरहने उनीहरु विभिन्न किसिमका खानाका परिकारहरू पनि चाख्दै हिँड्ने गर्थे। त्यही क्रममा उनीहरूले ब्रान्ड नभएको चिप्सहरू धेरै देखे। नेपाली लोकल चिप्सको लागि नाम छैन भने कुरा महसुस गरेर उनीहरूले नेपाली लोकल चिप्सलाई नै लिएर ब्रान्ड बनाउने सोच बनाएको अभिषेक सम्झन्छन्।

सधैंजसो दिनहुँ लोकल चिप्स खानै पर्ने अभिषेक भन्छन्, ‘हामी जस्तै नेपाली लोकल चिप्सको मन पराउने ठूलो जमात भएको भान भएपछि कुनै नाम राखेर ब्रान्ड बनाउन पर्छ भन्ने हामीलाई लाग्यो किनभने हाम्रो लागि ब्रान्ड बनाउनु अथवा ब्रान्ड छ भनेर चिनाउनु भनेको ग्राहकले प्रयोग गर्ने सामाग्रीको गुणस्तर, स्थिरता र स्वादको जिम्मेवारी लिनु हो।’

लोकल चिप्समा व्यवसाय गर्ने पक्का भएपछि उनीहरू चिप्स बनाउनतिर लागे। अभिषेकका अनुसार उनीहरूले चिप्स पाइने विभिन्न ठाउँहरूमा गएर चिप्स बनाउने प्रक्रिया पनि सिक्ने खोजे। तर कसैले पनि यसमा उनीहरूको साथ दिएनन्। साथ दियो त केवल इन्टरनेटले।

‘हामीलाई चिप्स बनाउनु आफैंमा एउटा चुनौती थियो। कहिले ओसिएको जस्तो आउने कहिले के हुने। कहिले साथीको भान्सामा, कहिले मेरो घरको भान्सामा चिप्स बनाउन परीक्षण गर्थ्यौं। सानो सानो लटमा थरी थरीका आलु र तेलमा पकाएर परीक्षण गर्‍यौं।’

परीक्षणमा झन्डै चार महिना

उनीहरूले परीक्षणमा झन्डै चार महिना खर्चे। आफ्ना नजिक साथीभाइहरूलाई चखाए र उनीहरूको प्रतिक्रिया अनुसार चिप्समा धेरथोर परिवर्तन गरे। सबैको राम्रो प्रतिक्रिया पाएपछि पाँच थरी स्वादका चिप्स र डिप्सका साथ लोको चिप्स लन्च गरे। अनिश र अभिषेकले वसन्तपुरको झोछेँमा सन् २०२२ को जनवरीमा लोको चिप्सको स्टोर खोले।

केही महिना दुवै साथी मिलेर चिप्स बनाउने र बेच्ने गर्थे। तर बढ्दो माग दुईजनालाई धान्न गाह्रो भएपछि उनीहरूले दुई कर्मचारी राखेर लाजिम्पाटमा कारखाना स्थापना गरेको अभिषेक बताउँछन्। भर्खरै मात्र उनीहरूले आफ्नो कारखाना गोठाटार सारेका छन्। उक्त कारखानामा पाँच जना कर्मचारी छन्।

अभिषेक भन्छन् ‘यसअघि हामी दुवै सेवामा आधारित उद्योगबाट आएको भएर उत्पादन उद्योग हाम्रो लागि नयाँ र चुनौतीपूर्ण थियो। हामीले विस्तारै यसलाई बुझ्दै अघि बढ्यौं।’

यसका साथै आलु, तेलजस्ता कच्चा पदार्थको गुणस्तर असंगत र मूल्य उतारचढावले गर्दा पनि बेलाबखतमा चुनौती दिने अभिषेक बताउँछन्। प्राय: युवालाई लक्षित गर्दै सुरु गरेको लोको चिप्सको व्यावसायिक यात्रामा वसन्तपुरको फूट फल र वर्ड अफ माउथले निकै सहयोग पुर्‍याएको अभिषेक बताउँछन्।

उनी थप्छन्, ‘हामी लोकल नेपाली चिप्स र ग्लोबल मार्केटमा जमेका चिप्सहरूको बीचमा पर्छौं। हामी गुणस्तर, स्वाद र स्वच्छतामा निकै ध्यान पुर्‍याउँछौं। हामीले सबै कुरामा स्ट्यान्डर्ड अपरेटिङ प्रक्रिया सेट गरेका छौं। हामीले सोही गुणस्तरकै आधारमा सबै काम गर्छौं।’

छिट्टै रिटेलमा जाने योजना

उनीहरुले उत्पादन गर्ने चिप्समा तेल गन्हाउने, ओसिने, दिनानुदिन स्वाद फेरिने जस्तो समस्या नआउने उनीहरूको दाबी छ। लोको चिप्सले आफ्नो आउटलेट र पठाओ फुडबाट सात थरी स्वादको लोको चिप्ससहित तीन थरीको डिस्प बेच्दै आएको छ। भर्खरै मात्रै लोको चिप्सले केराको चिप्स पनि बजारमा ल्याएको छ। १३५ ग्राम चिप्सको  १५० रुपैयाँ पर्ने अभिषेक बताउँछन्।

अभिषेक भन्छन्,’हामीले चिप्स बनाउन गुणस्तरीय सूर्यमुखी तेल र आलुहरू प्रयोग गर्छौं। साथै फ्लेवरलाई होल्ड गरेर राख्नको लागि लोको चिप्समा क्रिङकर्ल्स हुन्छ। पहिला लोको चिप्सको लोगोसहितको प्लास्टिकको प्याकेजिङ गरिन्छ र त्यस बाहिर आकर्षक पेपरको प्याकेजिङ गर्छौं।’

अभिषेकका अनुसार सात फ्लेभरमध्ये सबैभन्दा धेरै बिक्री हुने भनेको मसाला मन्च, ट्वाक्क मसाला र ह्वाई सो चिजी हो। सन् २०२२ मा आउटलेट स्थापना गर्दा दिनको चार हजार रुपैयाँ आम्दानी हुने लोको चिप्सले अहिले त्यसको पाँचगुना बढीसम्म आम्दानी गर्छ।

लोको चिप्सलाई लिएर उनीहरुसँग धेरै योजना छन्। ‘हामी अब छिट्टै रिटेलमा पनि जाँदै छौं। त्यसका लागि हामी प्याकेजिङमा पनि काम अगाडि बढाइरहेका छौं।’ साथै उनीहरु स्न्याक्सका अरु थुप्रै परिकारहरू उत्पादनको तर्खरमा पनि छन्।