
काठमाडौं। डिजिटल प्रविधिले वित्तीय कारोबारको तरिकामा ठूलो परिवर्तन ल्याएको गभर्नर महाप्रसाद अधिकारीले बताएका छन्। फोनपेको आयोजना भएको डिजिटल इकोनोमी कन्क्लेभमा शुक्रबार उनले प्रविधिले ल्याएका परिवर्तनसँगै पछिल्ला दिनमा राष्ट्र बैंकको पनि भूमिका बढेको बताए।
'डोकोमा, ढाकरमा नोट बोकेर लग्ने गरिन्थ्यो, अहिले धेरै चेन्ज भइसकेको छ,' उनले भने। नेपाल सरकारले ल्याएको डिजिटल फ्रेमवर्कका बारेमा जानकारी दिँदै उनले अहिले सरकारको ९० प्रतिशत भुक्तानी डिजिटल हुने गरेको जानकारी दिए।
'मैले केहीअघि केही तरकारी बजारमा डिजिटल भुक्तानी सुरु गरेको थिएँ। मलाई विश्वास थिएन यति छिटो डिजिटल भुक्तानीमा प्रगति हुन्छ भनेर,' उनले भने, 'म केही समयअघि दिक्तेलसम्म घुम्न गएको थिएँ। तर कुनै क्यास झिक्न परेन, पर्स झिकेर पेमेन्ट गर्नुपरेन। यसो भनिरहँदा हामीमा च्यालेन्ज छैन भन्ने होइन। दुर्गम छेत्रमा हामीले नेट र स्मार्ट फोन सुविधा पुर्याउन सकेको छैन। १० वर्षको अवधिमा धेरै चेन्ज आएको छ।'
यस्तै अभ्यासले भविष्यमा पुरै डिजिटल बैकिङको अवधारणा आउने उनले बताए। 'यसका लागि हामीले डिजिटल मनिको अवधारणाको विषयमा अध्ययन गरिरहेका छौं, अब हामीले कुनै प्रदेशलाई डिजिटल बनाऔं। सक्दैनौ, एक स्थानीय तहलाइ गरौं। सक्दैनौं, एक वडालाई बनाऔं। अब सहकारीले पसल-पसल गएर पैसा उठाउनु पर्दैन। सहकारीले ढड्डामा लेखेर बस्नु पर्दैन। सिधै एकाउन्ट राखिदिए पुग्छ।'