काठमाडौं-तराई मधेस द्रुतमार्गले ३० अर्बको स्रोत सुनिश्चितता पाउने, २०८० भित्र सबै काम ठेक्का

बिजमाण्डू
२०७९ जेठ १४ गते ११:१९ | May 28, 2022
काठमाडौं-तराई मधेस द्रुतमार्गले ३० अर्बको स्रोत सुनिश्चितता पाउने, २०८० भित्र सबै काम ठेक्का

काठमाडौं। राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजनाले आगामी वर्षका लागि ३० अर्ब रुपैयाँ पाउने भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजनाले आगामी वर्षका लागि ४८ अर्ब रुपैयाँ मागेको थियो।

Tata
GBIME
Nepal Life

३० अर्ब रुपैयाँको स्रोत सुनिश्चितता दिइने अर्थ मन्त्रालय स्रोतको दाबी छ। आगामी वर्ष सबै ठेक्का सकेर काम थाल्ने योजनामा सेना छ। नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी नारायण सिलवालका अनुसार ७२.५ किलोमिटरको यो आयोजना ११ वटा प्याकेजमा निर्माण अघि बढाइएको छ।

प्याकेज १ र २ को ठेक्का लागेर काम सुरु भएको छ। पहिलो प्याकेजको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ। जसमा महादेवडाँडामा निर्माण हुने ३.३०० किलोमिटर सुरुङमार्गसहित मोटरेबल पुल र सडकको सेक्सन निर्माण गर्नुपर्नेछ।

सुरुङमार्ग खन्ने काम सुरु भइसकेको सिलवालले बताए। दोस्रो प्याकेजको चिनियाँ कम्पनी पोली च्याङदा इन्जिनियरिङ कर्पोरेसनले पाएको छ। यो प्याकेज अन्तर्गत  मकवानपुरको धेद्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरे खोल्सीसम्म १.४ किलोमिटर गरी दुई सुरुङमार्ग र पुल निर्माण गर्नु पर्नेछ।

प्याकेज ३,४ र ५ को टेण्डर भएर काम सुरु हुन लागेको छ। प्याकेज ६ र ७ को टेण्डरका लागि गृहकार्य भइरहेको सेनाले जनाएको छ। प्याकेज ८, ९ र १० को बिडिङ डकुमेन्ट तयार पार्न लागिएको छ। २०८१ पुसमा निर्माण सम्पन्न गर्ने योजना रहेको छ। करिब १७ प्रतिशत सकिएको सेनाका अधिकारीहरुको भनाइ छ। यहि गतिमा काम हुने हो भने तोकिएको समयमा पुरा नहुने निश्चित छ।