एक दशकदेखि मल्टिकुजिन पारखीको ध्यान तान्दै ‘ट्यामरिन्ड’, नेपाली र विदेशीको उत्तिकै भीड

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७९ जेठ १३ गते १४:०३ | May 27, 2022
एक दशकदेखि मल्टिकुजिन पारखीको ध्यान तान्दै ‘ट्यामरिन्ड’, नेपाली र विदेशीको उत्तिकै भीड


काठमाडौं। नयाँ ठमेलका रुपमा परिचित ललितपुरको 'झम्सिखेल' यतिखेर नेपाली र विदेशीको रमाइलो गर्ने हब रनै बनेको छ। यो क्षेत्रमा संचालित रेष्टुरेण्ट र त्यहाँको मेनु नेपाली र पश्चिमा शैलीसँग जोडिएको छ।

Tata
GBIME
Nepal Life

१२ वर्ष अगाडि, जब झम्सिखेलमा रेष्टुरेण्ट कल्चरले गति लिँदै थियो, त्यही समय ट्यामरिन्ड रेष्टुरेन्टको स्थापना भएको हो। मल्टिकुजिन परिकारका लागि नाम चलेको ट्यामरिन्ड रेष्टुरेन्टले स्थापनाकालदेखिकै मेनुको स्वाद दिइरहेको प्रबन्धक गजेन्द्र बुढाथोकी बताउँछन्।

झम्सिखेलको व्यस्त सडक छेउमै रहेको यो रेष्टुरेन्टभित्र प्रवेश गरेसँगै यहाँको हरियाली, शान्त र मनमोहक वातावरणले बाहिरको भीडभाडलाई छाँयामा पार्छ। भित्र प्रयोग गरिएका टेबल कुर्सीसँगै परम्परागत शैलीको भवनले जो कोहीलाई आकर्षित गर्छ। डाइनिङ हल र  बारमा सजाइएका कलात्मक चित्रहरुले पनि भित्तालाई थप सुन्दर बनाएको छ। कोर्टयार्डमा राखिएको कुर्सी छेउछाउमा थप हरियाली दिनका लागि बोटबिरुवाहरु सजाइएको छ।

अरुको तुलनामा यो रेष्टुरेण्टमा ग्राहकले छुट्टै अनुभुति गर्ने कारण भनकै यहाँका विभीन्न कक्षहरु हो। ग्राहकहरुले आफ्नो इच्छाअनुसारको कक्ष प्रयोग गर्न सक्छन्। आउटडोर बाहेक रेष्टुरेण्टमा डाइनिङ, बार, कफी, मिटिङसहितको डाइनिङ हल रहेको छ। आउटडोरमा प्याट्रियो र कोर्टयार्डको अवधारणा लागू गरिएको छ। यहाँ हरेक दिन लाइभ ब्याण्डले सांगीतिक कार्यक्रम आयोजना गर्छ।

'यहाँ आएका ग्राहकले इच्छाअनुसार बार, स्मोकिङ जोन, नन स्मोकिङ जोनलगायत कक्षमा सेवा लिन सक्छन्। प्रवन्धक गजेन्द्रले भने,'डाइनिङका लागि फेमिली, बारमा ड्रिङ्क्स, मकटेल्स लिने पाहुनाहरु बस्ने गर्छन्।'

गजेन्द्रका अनुसार १२ वर्षअघि यो रेष्टुरेण्ट संचालनमा आउँदा स्थानियको धेरै भीड लाग्थ्यो। युवादेखि बृद्धबृद्धासम्म यहाँ आउने गर्थे। पछिल्लो समयमा भने नेपालीसँगै बिदेशी ग्राहकहरु पनि यहाँ उत्तिकै आउने गरेको उनी बताउँछन्।

थाइदेखि कन्टिनेन्टल परिकारको ज्ञान भएका पाहुनाको चहलपहल यहाँ बढी नै हुने गरेको उनले जानकारी दिए।

बिहान ११ बजेदेखि खुला हुने यो रेष्टुरेण्टमा खानाको सेट नै भनेर मेनु नराखिएको उनी बताउँछन्। लञ्चका लागि चाइनिज र कन्टिनेन्टल परिकार राखिएको छ। यस अन्तर्गत हाका नुडल्स, थाइ करी राइस, पास्ता करी राइस लगायतको मेनु रहेको उनले बताए।

हरेक परिकारमा ट्यामरिन्ड अर्थात इमलीको स्वाद नभएपनि यहाँको केही परिकारमा भने इमलीको प्रयोग गरिएको छ। उनका अनुसार चाइनिज, जापनिज, थाइ, कन्टिनेन्टल लगायत परिकारमा  पनि इमलीको प्रयोग गरिएको छ।

दशक अघिकै जनशक्ति

रेष्टुरेण्टमा एकैनासको सेवा, स्वाद र आतिथ्यता कायम हुनुको एक मात्र कारण यहाँ एक दशकदेखि काम गरिरहेका पुराना जनशक्ति हुन्। नयाँ भर्ती भएकाहरुलाई पनि पुरानै कर्मचारीहरुले तालिम दिँदै आएको प्रबन्धक गजेन्द्रले जानकारी दिए।

'पाहुनाले रेष्टुरेण्ट भित्र प्रवेश गरेलगत्तै मुस्कान सहितको स्वागत आवश्यक पर्छ। अधिकांश पाहुना दशक अघि कै पनि छन्। स्टाफ र पाहुनाबीचको सम्बन्ध पारिवारिक भइसकेको छ। पाहुनाको खानाको स्वाद र इच्छा स्टाफहरुले बुझिसकेका छन्। नयाँ आउने पाहुनाहरुलाई पनि हामीले आफ्नै चिनेजानेको ठाउँमा खान आएको जसरी आभाष दिने वातावरण बनाएका छौं।'

उनले पाहुनालाई कम्फर्टेबल बनाएर खाना सर्भ गर्नु नै आफ्नो रेष्टुरेन्टको स्ट्रेन्थ भएको बताए।

उनका अनुसार रेष्टुरेन्टमा रहेको कोर्टयार्ड, प्याट्रयो र बार लगायत तीनवटा कक्षमा १ सय ५० जना क्षमताको अकुपेन्सी छ। सेमीनार हलमा भने ४० जना क्षमताको अकुपेन्सी छ। यो रेष्टुरेण्टमा करिब ४० जना कर्मचारी कार्यरत छन्।

रेष्टुरेन्टमा पात थाइ, चिकेन सिजलर पोर्क चप, सालमोन स्टेक, ट्यामरिन्ड चिकेन, बेकन र्‍याप ससेज, बेकन र्‍याप चिकेन लगायतका परिकारको माग उल्लेख्य रहेको उनले जानकारी दिए। यहाँ जंगली बँदेलको परिकार वाइल्ड बोर रोस्टेड ६ सय ६० रुपैयाँमै पाइन्छ। यस्तै जापानीज कुजिन अन्तर्गतका परिकारहरु ५९० रुपैयाँदेखि सुरु छन् भने थाइ कुजिनका परिकारहरुपनि न्युनतम ५९० देखि सुरु हुन्छ।  

ट्यामरिन्डको मेनुमा करिब दुई सय वटा परिकार राखिएको छ। सामान्य कन्टिनेन्टल खानामा न्यूनतम तीन सय ५० रुपैयाँदेखि सात सय ९० रुपैयाँसम्मको मूल्य निर्धारण रहेको उनले जानकारी दिए।

सिफुडको मेनु भने तुलनात्मक रुपमा महंगो रहेको बताउँदै उनले भने,'सिफुडका लागि प्रयोग हुने सबै सामाग्रीहरु विदेशबाटै ल्याउनुपर्ने हुन्छ। पहिलाको तुलनामा अहिले सिफुड ल्याएर सेवा दिन पनि गाह्रै छ। बल्कमा ल्याउनुपर्छ। र महंगो हुन्छ।'

करिब दुई रोपनी क्षेत्रफलमा रहेको यो रेष्टुरेण्टमा १० वटा गाडी अट्ने क्षमता रहेको छ। संचालक करिष प्रधानको अवधारणामा तयार गरिएको एम्बियन्स डिजाइन एक दशक अगाडी देखिकै यथावत छ। यहाँ प्रयोग भएका फर्निचर परिवर्तन भएपनि १० वर्ष अघिको आवरण भने उही रहेको बुढाथोकी बताउँछन्।