राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षाः बाह्य दबाब कम गर्न ब्याज दर घटबढ हुन सक्ने संकेत

बिजमाण्डू
२०७९ जेठ १३ गते १२:२६ | May 27, 2022
राष्ट्र बैंकको तेस्रो त्रैमासिक समीक्षाः बाह्य दबाब कम गर्न ब्याज दर घटबढ हुन सक्ने संकेत

काठमाडौं। पुरानै नीतिगत व्यवस्थालाई निरन्तरता दिने देखिएको राष्ट्र बैंकले बाह्य दबाब कम गर्न भने ब्याजदर चलाउन सक्ने संकेत गरेको छ। केन्द्रिय बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा यस्तो देखिएको हो।

Tata
GBIME
Nepal Life

सार्वजनिक तेस्रो त्रैमासिक समीक्षामा नीतिगत परिवर्तन देखिंदैन। मौद्रिक नीतिको कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरहरुलाई यथावत राखिएको छ।

तथापि आन्तरिक तथा बाह्य क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरणहरुको प्रयोग गर्ने संकेत राष्ट्र बैंकले गरेको देखिन्छ ।

मूल्य र बाह्य क्षेत्र स्थायित्वमा देखापरेको दबाब यथावत रहेकाले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षामा लिइएको कार्यदिशालाई निरन्तरता दिइएको हो।

तर, मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने राष्ट्र बैंकले जनाएको छ। 

कोभिड संक्रमणका कारण प्रभावित उद्योगको पुनरुत्थानका लागि राष्ट्र बैंकले प्रदान गर्दै आएको पुनर्कर्जा सुविधाको विद्यमान नीतिलाई निरन्तरता दिएको छ। उपलब्ध सुविधा पुनरुत्थान हुन बाँकी रहेका अति प्रभावित क्षेत्रमा सीमित गर्दै लगिने राष्ट्र बैंकको उद्देश्य छ। 

यस्तै, उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवर्द्धन लगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन राष्ट्र बैंकले जोड दिएको छ।