
काठमाडौं। यती डिस्टिलरीले २०२१ मा चार अर्ब ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कोरोना महामारीका कारण २०२० मा घटेको कारोबार २०२१ मा २१ प्रतिशतले बढेको छ।
२०२० मा कम्पनीले तीन अर्ब ५८ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो। २०१९ मा चार अर्ब ५० करोड ४० लाख रुपैयाँ र २०१८ मा तीन अर्ब २६ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ।
२०२२ को ६ महिनामा कम्पनीले दुई अर्ब ५३ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने अनुमान गरिएको छ। कम्पनीले नेपाली मदिरा बजारमा २५ यूपी सेग्मेन्टको ओल्ड दरबार ह्वीस्की र ३० यूपी सेग्मेन्टको ८८४८ भोड्का बिक्री गर्दै आएको छ। २०१५ सम्म कम्पनीले मुख्यगरी ७० यूपी लो-इन्ड लिकर उत्पादन गर्दै आएको थियो।
विगत तीन वर्षमा कम्पनीका मुख्य दुई मदिरा ब्राण्ड ओल्ड दरबार र ८८४८ भोड्काबाट ९० प्रतिशतभन्दा बढी आम्दानी गरेको छ। बाँकी आम्दानी भने ७० यूपी प्रडक्ट लाइन्स अर्थात् कस्तुरीबाट कम्पनीले आर्जन गरेको छ। इक्राका अनुसार कुल आन्तरिक बिक्रीको ४० देखि ५० प्रतिशत हिस्सा ओल्ड दरबार ह्वीस्की र ८८४८ भोड्काको छ।
कम्पनीसँग पाँचवटा प्रोसेसिङ लाइन्स छ भने कम्पनीसँग विभिन्न मदिरा प्रडक्टहरु दैनिक नौ हजार केस बोटलिङ गर्ने क्षमता छ। कम्पनीसँग देशभर १२० भन्दा वितरक छन्। ओल्ड दरबार ह्वीस्की र ८८४८ भोड्का उत्पादनलाई आवश्यक कच्चा पदार्थ (माल्ट स्पिरिट र इएनए) कम्पनीले युरोपेली सप्लायरबाट खरिद गर्ने गरेको छ।
इक्राले यती डिस्टिलरीलाई तीन अर्ब १२ करोड ३४ लाख रुपैयाँ बैंकिङ कर्जाका लागि रेटिङ उपलब्ध गराएको छ। १७ करोड ८४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि इक्रा नेपालले एनपी एल ए र दुई अर्ब ९४ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए वान रेटिङ दिएको छ।
कम्पनीमा रवि केसीको ५० प्रतिशत र अभिषेक श्रेष्ठ र परिवारको बाँकी ५० प्रतिशत सेयर स्वामित्व छ।