वैशाखमा पनि रेमिटेन्स आयमा सुधार, भारतबाट आउने रेमिटेन्समा सबैभन्दा राम्रो प्रगति

बिजमाण्डू
२०७९ जेठ २ गते ०८:४८ | May 16, 2022
वैशाखमा पनि रेमिटेन्स आयमा सुधार, भारतबाट आउने रेमिटेन्समा सबैभन्दा राम्रो प्रगति


काठमाडौं। डलरको भाउमा आएको सुधारसँगै बैदेशिक रोजगारीमा गएकाहरु रेमिटेन्स पठाउन उत्साहित भएको देखिएको छ। खाडी, मलेसियालगायत अन्य विकसित मूलुकमा गएकाहरुले पठाउने रेमिटेन्ससँगै भारतबाट आउने रेमिटेन्समा पनि निक्कै सुधार भएको देखिएको छ।

Tata
GBIME
Nepal Life

रेमिटेन्स क्षेत्रमा काम गर्नेहरुका अनुसार, कोभिडकालकै सरह अहिले रेमिटेन्स भित्रिन थालेको छ। चैतमा ९३ अर्ब ५५ करोड रुपैयाँ भित्रिएको रेमिटेन्स फागुनमा ९१ अर्ब ७ करोड भित्रिएको थियो। माघमा चालु आर्थिक वर्षकै कम ७१ अर्ब ६७ करोड रुपैयाँ भित्रिएको थियो।

चैतमा चालु वर्षकै सर्वाधिक रेमिटेन्स भित्रिएको हो। बैशाखमा अझ सुधार भएको यस क्षेत्रका जानकारहरु बताउँछन्। 

'रेमिटेन्समा सुधार देखिन्छ। पछिल्लो समय भित्रिएकोभन्दा घटेको छैन, बढेकै अवस्था छ' रेमिटेन्स एसोसिएसनका पूर्व अध्यक्ष सुमन पोखरेलले बिजमाण्डूसँग भने।

रेमिटेन्स बढ्नुमा प्रमुख हात डलरको मूल्य बृद्धि हो। यसबाहेक 'देश श्रीलंका हुन्छ' भन्ने चर्चाका बीच रोजगारीमा गएकाहरुले रेमिटेन्स अलिक बढि पठाउन थाले। यसबाहेक रोजगारीमा गएका क्षेत्रको आय बढेको छ। 

सरकार र राष्ट्र बैंकले पनि आयात कटौती गर्न केही बस्तु भित्र्याउनै नपाइने गरी प्रतिबन्ध लगाएको छ भने केहीमा आंशिक रोक छ। यी बस्तु आयातका लागि बिदेशमै रेमिटेन्स रोकिएको अवस्था थियो। अहिले आयात नै कटौति भएकाले रेमिटेन्सको 'फ्लो' बढेको यस क्षेत्रका जानकारहरु बताउँछन्।

नेपालको बिदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत रेमिटेन्स आय हो। रेमिटेन्स घटेका कारण वित्तीय क्षेत्रमा तरलता अभावसँगै आयात गर्ने क्षमतामा पनि कमी आएको थियो। यसलाई बढाउन राष्ट्र बैंकले अरुले पाउनेभन्दा एक प्रतिशत बिन्दु बढि ब्याज रेमिटेन्स निक्षेपमा दिने ब्यवस्था गरेको छ। सरकारले बजेटमार्फत रेमिटेन्स पठाउनेलाई साधारण सेयर (आइपीओ) मा आरक्षण दिने ब्यवस्था समेत गर्न लागेको छ।

'ओभरलमा रेमिटेन्स बढेको छ। यसपाली अनपेक्षित रुपमा भारतबाट आउने रेमिटेन्समा उच्च सुधार देखिएको छ' प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बिजमाण्डूसँग भने, 'भारतका धेरै राज्यमा बैधानिक माध्यमबाट रेमिटेन्स पठाउन प्रचार प्रसार भएको छ। यसले पनि आय बढेको हुनसक्छ,' भारतीय रेमिटेन्स बढी भित्र्याउनेमा प्रभु रेमिट पर्छ। 

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिटेन्स भित्रिसकेको छ। यो पोहोर चैतको तुलनमा ४ अर्ब २८ करोडले कम हो। पोहोर कोभिड कालमा एकै महिना एक खर्ब १६ अर्ब रुपैयाँसम्म रेमिटेन्स भित्रिएको थियो। 

रेमिटेन्सको ग्राफ तल झर्न थालेपछि बिदेशी मुद्राको सञ्चिति कम हुँदै गएको थियो। १०० अर्ब रेमिटेन्स भित्रिँदा नेपालसँग बिदेशी मुद्राको सञ्चिति १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ थियो। अहिले यो २ खर्ब ३३ अर्ब ९२ करोड रुपैयाँले घटेर ११ खर्ब ६७ अर्ब ९२ करोड रुपैयाँमा झरेको छ। त्यो बेला आयातको ग्राफ सानो थियो। पछिल्ला दिन आयात उच्च छ।

सरकार र राष्ट्र बैंकले आयात नियन्त्रणमा धेरै कदम चाले पनि आयात उल्लेख्य घट्न सकेको छैन। उच्च आयातका कारण नै रेमिटेन्स चुहावट भएको हो। सामान्य दरले आयात कटौती हुन थालेकाले चुहावट नियन्त्रण भएर रेमिटेन्स आयमा थप सुधार हुने यस क्षेत्रमा कार्यरतहरु बताउँछन्।