सेयर कारोबार सुस्ताए पनि ब्रोकर कमिसन ३७% बढ्यो, नेप्सेको कमाइमा पनि ३१% को बढोत्तरी, कसरी?

बिजमाण्डू
२०७९ बैशाख १८ गते ०९:१७ | May 1, 2022
सेयर कारोबार सुस्ताए पनि ब्रोकर कमिसन ३७% बढ्यो, नेप्सेको कमाइमा पनि ३१% को बढोत्तरी, कसरी?


काठमाडौं। हिजोआज सुस्ताएको सेयर गतिविधिका बाबजुद धितोपत्र व्यवसायीहरुको आम्दानीमा भने उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षको तुलनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कमाइ साढे ३१ प्रतिशत वृद्धि भएको छ भने धितोपत्र दलालहरुको कमिसन ३७ प्रतिशतले बढेको पाइएको छ। 

Tata
GBIME
Nepal Life

सीडीएससीको तथ्यांकले घट्दो कारोबारविपरीत धितोपत्र व्यवसायीहरुको कमिसन आम्दानी बढेको देखाउँछ। चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक हेर्दा ब्रोकरहरुले कारोबार कमिसनबापत ५ अर्ब ४४ करोड ६८ लाख रुपैयाँ कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा कमिसनको आकार झन्डै ३७ प्रतिशत बढेको छ। पोहोर चैतसम्म ब्रोकरहरुको कमिसन ३ अर्ब ९७ करोड ६५ लाख रुपैयाँमा सीमित थियो।

गत आर्थिक वर्षको अन्त्यसम्म भने ब्रोकरहरुले कुल ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ कमिसन बापत कामएका थिए। ब्रोकरहरुको आम्दानी वार्षिक तुलनामा बढेको पाइए तापनि उच्चतम कारोबार विन्दुबाट भने उल्लेख्य घटेको छ। कुनै समय दिनको १० करोड गन्ने ब्रोकरहरु हिजोआज सायदै करोडको मुख देख्छन्।

सीडीएससीको तथ्यांकअनुसार धितोपत्र बजारमा सर्वाधिक कारोबार भएको दिन ब्रोकरहरुको कमिसनले एकैदिन १० करोड रुपैयाँको सिलिङ नाघेको थियो। मार्केटमा २१ अर्ब रुपैयाँ अधिकको सेयर किनबेच हुँदा ब्रोकरहरुले एक कारोबार दिनमा कुल १० करोड ६३ लाख रुपैयाँ अधिक कमिसन आर्जन गरेका थिए। 

अहिले भने धितोपत्र कारोबार सुक्खा छ। सुकेको खरिद बिक्री रकमसँगै ब्रोकरहरुको आम्दानीमा उल्लेख्य गिरावट आयो। एक डेढ अर्ब रुपैयाँ मात्रको कारोबार हुने हिजोआजको बजारमा सायदै करोड रुपैयाँको कमिसन उठ्ने गरेको छ। आजकल ब्रोकरहरुको कमिसन औसत ८२ लाख २५ हजार रुपैयाँ हाराहारीमा सीमित छ। 

२१ गुणा घटेको कारोबार रकमको परिणाम ब्रोकरहरुको कमिसन १३ गुणाले घटेको छ। बढ्दै गएको टीएमएस प्रयोगकर्ताको संख्या बाबजुद कारोबार रकममा भने उल्लेख्य गिरावट देखिन्छ। हाल टीएमएस प्रयोगकर्ताको संख्या झन्डै साढे १२ लाख पुगिसकेको नेप्सेका अधिकारीहरु बताउँछन्। यद्यपि हरेक दिन सक्रिय कारोबारिको संख्यामा भने करिब ५० प्रतिशतको कमी छ। हाल औसतमा ६० हजार लगानीकर्ताको कारोबार टीएमएसबाट हुने गरेको छ। 

परिसूचकले ३२०० को उचाइ हासिल गर्दा वर्तमानको तुलनामा निकै कम लगानीकर्ता टीएमएस प्रणालीमा आबद्ध थिए। यद्यपि कारोबारमा सक्रिय लगानीकर्ताको संख्या भने उल्लेख रहेको नेप्सेको दाबी छ। बजारले नयाँ उचाइ छोएको बेला पिक समय औसत डेढ लाख लगानीकर्ता टीएमएसमार्फत किन बेचमा सक्रिय रहेको नेप्सेको तथ्यांक छ। 

प्रत्येक कारोबारको एक अंश धितोपत्र व्यवसायीहरुको हिस्सा हुने गर्छ। धितोपत्र दलालहरु हरेक कारोबारमा ०.१० देखि ०.४० प्रतिशतसम्मको हिस्सा आफ्नो निम्ति छुट्याउने गर्छन्। त्यसै गरी, ०.०१५ सम्मको दस्तुर प्रत्येक खरिद बिक्रीमा धितोपत्र दलालले धितोपत्र बजारमा जम्मा गर्ने व्यवस्था पनि छ। धितोपत्र व्यवसायीहरुको यो प्रमुख आयस्रोत समेत हो। 

यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म नेप्सेले धितोपत्र कारोबार सञ्चालन गरे बापत एक अर्ब २१ करोड ६१ लाख रुपैयाँ कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा नेप्सेको आम्दानी ९२ करोड ४६ लाख रुपैयाँमा सीमित थियो। एक आर्थिक वर्षको अवधिमा धितोपत्र बजार नेप्सेको कारोबार सञ्चालन बापतको कमाइ साढे ३१ प्रतिशत बढेको पाइन्छ।  

यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्म नेप्सेले धितोपत्र कारोबार सञ्चालन गरे बापत कुल २ अर्ब ३४ करो‍ड १८ लाख रुपैयाँ आम्दानी गरेको थियो। यस अतिरिक्त गत आर्थिक वर्षका लागि नेप्सेको कार्य सञ्चालन बापतको कमाइ ३९ करोड ९५ लाख रुपैयाँ रह्यो। सो अवधिमा नेप्सेले संगठित सदस्यलाई दिएको सेवाबाट ९ करोड ७९ लाख रुपैयाँ कमाएको थियो।

गत आर्थिक वर्ष नेप्सेले कुल २ अर्ब ८३ करोड ९४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो। आर्थिक वर्ष २०७६/७७ मा भने एक्सचेन्चको यस्तो आम्दानी ५५ करोड ८४ लाख रुपैयाँमा सीमित थियो। 

२०७६ चैतपछि शुरु भएको निषेधाज्ञा र कोभिडका कारण साँघुरिएका लगानीका क्षेत्रले पुँजीको ठूलो आकार सेयर बजारमा केन्द्रित हुन पुगेको थियो। लगानीसँगै लगानीकर्ताको अप्रत्याशित संख्या पनि सेयर बजारमा भित्रिएन गयो। बजारको उत्साहजनक प्रदर्शनीसँगै बढेको कारोबार संख्याले धितोपत्र व्यवसायीहरुको आम्दानीमा योगदान पुर्‍याएको हो ।