नेवारी संस्कृतिसँग जोडिएका परिकार भान्छाबाट अनलाइन प्लाटफर्ममा ल्याउँदै दुई बुहारी

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७८ फागुन ६ गते १३:५३ | Feb 18, 2022

काठमाडौं। वसन्तपुरको फराकिलो आँगनबाट कुमारीघरतिर लागेपछि देखिन्छ लाखें रेष्टुरेन्ट। लाखें पस्ने सानो गल्लीभित्रै छ बिहार। अनि वरपर छन् नेवारी परम्परागत घरहरु। यिनै घरहरुमध्ये एउटाको भुईंतल्लामा १२ नबज्दै आइपुग्छन् अन्जना र कमला शाक्य। हातभरी हुन्छ भान्छालाई चाहिने सबै सरसामानका झोला। अनि १२ बजेदेखि उनीहरु जुट्छन् नेवारी परिकार बनाउन।

Tata
GBIME
Nepal Life

'भम्चा भुटु' अन्जना र कमलाको घरबाहिरको अर्को भान्छा हो, जहाँबाट उनीहरुले ८ महिनादेखि नयाँ काम थालेका छन् नेवारी परिकारहरुको टेक अवे र अनलाइन व्यापारको। काम पुरानै हो तर शैली नयाँ। यसअघि उनीहरुले घरको भान्छामा हरेक दिन खाना बनाएर परिवारका सदस्यहरुलाई खुवाउने गरेका थिए। अब उही खानाको स्वादबाट उनीहरुले पैसा पनि कमाइरहेका छन् भने सर्वसाधारणले रैथाने नेवारी परिकारको स्वाद पाउन सकेका छन्।

बुहारी भएर बसेका अन्जना र कमलाले 'भम्चा भुटु' सुरु गर्दा निकै दुविधामा थिए। पकाउने काम! भनेर आफन्तहरुबाटै हेयको भाव पनि उनीहरुले ब्यहोरे। तर अन्जनाका दाजु वर्षौंदेखि पर्यटन क्षेत्रमा। उनैले बहिनीलाई घचघच्याए। पर्यटन व्यवसायी योगेन्द्र शाक्यकी बहिनी अन्जनाले भने कहिल्यै यस क्षेत्रमा हात हालेकी थिइनन्।

उनी त विद्यालय सञ्चालन गरेर बसेकी थिइन्। छाउनीस्थित फ्लोरेन्स किन्डरगार्डेन स्कुल अन्जनाको कर्मथलो थियो। कोभिड महामारीको समयमा घरभित्रै बस्दा नेवारी परिकार बनाउने यो व्यवसायको सोच जन्मियो। ग्राफिक डिजाइनर छोराले पनि आमालाई साथ दिने भए। थालिहालौं, सकेको सहयोग गरौंला भन्दै अन्जनाका दुवै छोराहरु परिचित र सनातन अघि सरे। परिवारभित्र त उत्साह थपियो तर नजिकका आफन्तले भनिहाले- 'पकाउने काम पनि के गर्नु !'

अन्जनालाई कहिल्यै कुनै पनि काम सानो लागेन। परम्परागत नेवार परिवारकी बुहारी भए पनि लामो समयदेखि स्कुल संचालन गरिरहेकी उनलाई खाना पकाएर बेच्नु खासै राम्रो काम होइन भन्नेहरुलाई जवाफ पनि दिनु थियो। हरेक पेसाको सम्मान गर्नुपर्छ भन्ने अन्जनालाई दुई छोराहरुले बल दिए। पकाउने साथीका रुपमा अघि सरिन् देउरानी कमला। ल तिमीहरुले यो काम गर्न सक्छौं भन्दै उत्साहित बनाइरहे दाजु योगेन्द्रले। अनि कोभिड महामारीकै बीच आठ महिनाअघि सुरु भयो अनलाइन र टेक अवे सेवा दिने भम्चा भुटु।

'भम्चा' भनेको नेवारी भाषामा बुहारी र 'भुटु' भनेको भान्छा हो। घरभित्रै सीमित यी दुई बुहारीले भान्छालाई व्यवसायको थलो पनि हो है भनेर चिनाउन सकेका छन्। बिस्तारै भम्चा भुटुबारे सर्वसाधारणले थाहा पाउँदैछन्। खानेहरुले 'कस्तो ठेट नेवारी स्वादको !' भन्दै प्रशंसा गर्दा अन्जनाको खुशीको सीमा रहँदैन।

'म त बुहारी भएर भान्छामा पकाएको मान्छे। अहिले व्यवसायीको रुपमा पकाउँदैछु। योगेन्द्र दाईले भान्छाभित्रको कामलाई बाहिर पनि उही किसिमले गर्न सकिन्छ भन्दै प्रोत्साहन गर्नुभयो। देउरानी पकाउन सघाउने बनिन्। छोराहरुले सामान किनमेलदेखि अनलाइनको काममा साथ दिने भए।'- वर्षौं बालबालिकाबीच रमाएकी अन्जना अहिले पकाउने र प्लेट सिंगार्ने काममा पनि उत्तिकै आनन्द पाइरहेको बताउँछिन्।

अहिले भम्चा भुटुले १२ बजेदेखि बेलुकी ८ बजेसम्म खानाको अर्डर लिने गरेको छ। बिहान तरकारी मरमसलालगायत भान्छालाई चाहिने सरसामान किनेर अन्जना र कमला भान्छामा आइपुग्छन्। १२ बजेदेखि पकाउन सुरु गरेका उनीहरु घरपुग्दा रात परिसक्छ। उनीहरुको नेवारी परिकार नै ग्राहकले निकै रुचाइदिएपछि मेनुमा नेवारी परिकार नै उनीहरुले राखे। विशेषगरी बारा, नेवारी खाजा सेट, योमरी, हाकु छोइला जस्ता परिकारहरु यहाँको विशेषता हो।

अहिले उनीहरुले टेक अवे र अनलाइन अर्डरबाहेक नजिकैको लाखें रेष्टुरेन्टमा पनि नेवारी परिकार सप्लाइ गर्दै आएका छन्। रेष्टुरेन्टको मेनुमा पनि यहाँको नेवारी परिकार पपुलर रहेछ। तपाईंहरुको खानामा घरको जस्तो स्वाद आयो भनेर पाउने प्रतिक्रियाहरुले उनीहरुलाई अझ बढी सन्तोष मिलिरहेको छ। छोराबुहारीहरु काममा ब्यस्त भएर नेवारी परिकार खान बिदा नै कुर्नुपरेकी अन्जनाकै एक आफन्त वृद्ध महिलाले भम्चा भुटुबाट मगाएर नेवारी खाना खाएपछि पुरानो स्वाद याद आयो भनेर दिएको प्रतिक्रियालाई उनी गर्वका साथ सुनाउँछिन्। 'पैसा त के ठूलो कुरा हो र हामीले पकाएका खानाले धेरैले सन्तुष्टि लिन सकुन् त्यही नै सफलता हो।'- उनले भनिन्।

अन्जना र कमलाको भान्छामा अजिनोमोटो वा कुनै पनि केमिकल प्रयोग हुन्न। उनीहरु नेवारी खानामा प्रयोग हुने जिरा, अदुवा र लसुनबाटै स्वाद निकाल्छन्। नेवारी परिकारमा सबैभन्दा बढी प्रयोग हुने मसलाहरुबाटै परम्परागत स्वाद दिन सक्नु भम्चा भुटुको विशेषता हो। चुलोमाथि लहरै सजाइएका मसलाका बट्टाहरु देखाउँदै अन्जनाले भनिन् हामी यहाँ राखेका भन्दा बाहेक अरु कुनै पनि मसला प्रयोग गर्दैनौं। भुटेको तोरीको तेल राखेर तयार पारिएको परिकारमा नेवारी भान्छाकै स्वाद आउने गरी तयार पार्नु उनीहरुको खुबी हो।

अन्जनाको परिवार अहिले पनि संयुक्त नै छ। १४ जनाको ठूलो परिवारमा चाडबाड र जात्राहरुका समयमा नेवारी परिकारहरु बनाइरहनु नै पर्छ। यही भान्छामा पाक्ने परिकारहरुलाई उनीहरुले समयअनुरुप व्यावसायिक थालनीको मुख्यस्रोत पनि बनाए। छोराहरुले भम्चा भुटुको अनलाइन पेज बनाउनेदेखि खानाको डेलिभरीमा पनि सघाएपछि नयाँ पुस्ता जोडिनुले उनीहरुलाई अझ बढी उत्साहित बनाएको छ। अन्जना र कमला दुबैलाई अब यो व्यवसायलाई अझ बढी बिस्तार गर्न सकिन्छ भन्ने आँट पनि थपिएको छ।

'हामी त टाइप राइटरको जमानाको मान्छे। छोराहरुले अनलाइन र टेक अवेको व्यवस्थापनको जिम्मा लिए। ठूलो छोराले अनलाइन व्यवस्थापन गर्छन् सानोले भान्छामा सघाउँछन्। सानो प्रयासबाट माथि उठ्दा राम्रो हुन्छ। अनि मनभित्रैदेखि चाहेको काम गर्दा आत्मसन्तुष्टि पनि मिल्छ।'- अन्जनाले भनिन्।

अहिले भम्चाभुटुमा समय बजी, वः, आलु साँधेको, हाकु छोयला, मिक्स वः, अण्ड वः, यमरी लगायतका परिकारको माग उल्लेख्य रहेको छ। चाँडै नै बुल्ला, ड्याकुल्ला लगायत नेवारी रैथाने परिकार सुरु गर्ने उनले बताइन्। बुल्ला पुजामा प्रयोग हुन्छ। नेवारी संस्कृतिसँग जोडिएका धेरै परिकारहरु भम्चा भुटुमार्फत सर्वसुलभ बनाउने सोच उनले बनाएकी छन्।

भम्चाभुटुबाट उनीहरुले अहिलेसम्म नाफा कमाउन सकेका छैनन्। यहाँ परिकारहरुको मेनु खासै महंगो पनि नभएकाले अहिले संचालन खर्चमात्र उठिरहेको अन्जनाले बताइन्।

भम्चाभुटुको मेनुमा भेज समयबजी सेटको २५०, बफ सेटको ३०० र चिकेन सेटको ३५० रुपैयाँ राखिएको छ। सादा बारा १२० रुपैयाँमै पाइन्छ। मिक्स बाराको २५० रुपैयाँ पर्छ। बफ छोयलाको २२५ र चिकेन छोयलाको २५० रुपैयाँ मूल्य राखिएको छ। भेज मम १५० रुपैयाँमै पाइन्छ भने बफको २०० र चिकेनको २५० रुपैयाँ पर्छ। यहाँ चाकुको योमरी ८० रुपैयाँ र खुवाको योमरीलाई ९० रुपैयाँमा किन्न पाइन्छ।

भम्चा भुटुले मिल वान र मिल टु भनेर आफ्नै किसिमको सेट पनि तयार पारेका छन्। मिल वानको ३५० र मिल टुको २०० रुपैयाँ पर्छ। यसमा चाकु, योमरी, खुवा, मासु, मुलाको अचार र बारा मिलाएर सेट तयार पारिएको हुन्छ।

भम्चा भुटुले कारोबारका हिसाबले अन्जनालाई त्यति उत्साह दिन सकेको छैन जति खाना खाएपछि ग्राहकहरुबाट पाएको प्रशंसाले दिइरहेको छ। 'अहिले त म परिकारको प्रशंसालाई नै उपलब्धी मानिरहेकी छु। सोचेअनुसार ग्राहकहरु आइरहनुभएको छ। नेवारी समुदायमात्र होइन सबैले मन पराइदिनुभएको छ। काम गर्दै गएपछि नाफा कमाउने दिन पनि आउला।'- आशावादी छिन् अन्जना।

आठ महिनाको अवधिमा नकारात्मक भन्दा बढी सकारात्मक प्रतिक्रिया पाएकाले अब पछि फर्केर नहेर्ने अन्जना र कमलाको अठोट छ।

'आफूले जोगाएको पैसा हालेर यो व्यवसाय सुरु गरेको हुँ। एकैपटक ठूलो पैसाबाट सुरु गर्नुपर्छ भन्ने पनि लाग्दैन। मलाई त कुनै काम सानो पनि लाग्दैन। एक रुपैयाँलाई १० बनाएर बढाउँदै बिस्तार गर्ने हाम्रो लक्ष्य हो। घरभित्र पकाएर खुवाउँदा प्रशंसा पाइने यसैलाई व्यवसाय बनाउँदा इज्जत जाने पनि हुन्छ र?' उनी प्रश्न गर्छिन्। उनी भम्चा भुटुलाई बिस्तार गर्दै ठूलो कम्पनीमात्र होइन नेवारी खानाकै पर्यायका रुपमा स्थापित गर्न चाहन्छिन्।