काठमाडौं उपत्यकामा बहुतले मेकानिकल पार्किङ निर्माण गर्न ६ कम्पनीको आवेदन, कस्ता कम्पनी आए?

शुक्र गिरी/बिजमाण्डू
२०७८ माघ २५ गते १७:२६ | Feb 8, 2022
काठमाडौं उपत्यकामा बहुतले मेकानिकल पार्किङ निर्माण गर्न ६ कम्पनीको आवेदन, कस्ता कम्पनी आए?


काठमाडौं। काठमाडौंमा बहुतले पार्किङ निर्माणका  लागि ६ वटा कम्पनी ईच्छुक देखिएका छन्। नगर विकास कोषले उपत्यकाका ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणका लागि गरेको आह्वानमा ६ वटा कम्पनीले आवेदन हालेका छन्।

Tata
GBIME
Nepal Life

कोषका अनुसार संस्थान, निजी क्षेत्र र नगरपालिकाहरुले बहुतले मेकानिकल पार्किङ निर्माणका लागि आवेदन दिएका हुन्। आवेदन दिने कम्पनीहरुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माइतीघर र थापाथली नजिकैको क्षेत्रका लागि आवेदन दिएको छ। 

कम्पनीले काठमाडौं उपमहानगरपालिका वार्ड न. ११ स्थित थापाथलीमा रहेको कित्ता न ४० अन्तर्गतको जग्गामा प्रस्ताव पेश गरेको  छ। त्यस्तै सोल्टीमोड क्षेत्रका लागि निजी कम्पनीको आवेदन परेको कोषले जानकारी दिएको छ। यो क्षेत्रका लागि कम्पनीले मल्टिलेयर पार्किङ निर्माण गर्न प्रस्ताव गरेको कोषले जनाएको छ।

कोषका अनुसार इजी पार्किङ कम्पनीले पनि आवेदन दिएको छ। यो कम्पनीले कोरियन कम्पनीसँग मिलेर नेपालमा स्मार्ट पार्किङ  सिस्टम ल्याउन चाहेको छ। यो कम्पनीले उपत्यकामा रहेका विभिन्न  ठाउँमा पार्किङका लागि सर्वे गरेर मात्र खबर गराउने बताएको छ ।

कोरियाली कम्पनी डङयाङ पीसी इन्कसँग मिलेर उनले नेपालमा स्टिलको बहुतले पार्किङ प्रणाली विकास गर्ने यो कम्पनीलेे प्रस्ताव गरेको छ। डङयाङ त्यही कम्पनी हो जसले लामो समयदेखि मेक्सिको, इरान, थाइल्याण्ड, सिंगापुर, साउदी अरेबिया, जिब्राल्टार, रुस, इक्वेडर, पोल्याण्ड, कोस्टारिका, कोरिया र चीनमा बहुतले पार्किङ प्रणाली विकास गर्दै आएको छ।

अर्को ललितपुर उपमहानगरपालिकाले वार्ड न. ३ मा रहेको ठाडो ढुङ्गा क्षेत्रमा साढे २ रोपनी जग्गाको कागजपत्र सहित पार्किङ निर्माण गर्न कोषमा आवेदन परेको तिवारीले जानकारी  दिए।  पार्किङका लागि भक्तपुर नगरपालिका पनि ईच्छुक रहेको उनले बताए। तिवारीका अनुसार कुलेश्वर क्षेत्रबाट पनि केही समय माग्दै पार्किङको प्रस्ताव ल्याउने जानकारी आएको छ।

पार्किङ बनाउन काठमाडौं उपत्यका मात्रै होइन वाहिरबाट समेत प्रस्ताव आएको छ। बनेपा नगरपालिका र बुटवल उपमहानगरपालिकाले पार्किङको लागि आवेदन दिएका छन्। कोषले अबको लक्ष्य उपत्यका मात्र नभई बाहिरका ठूला-ठूला सहरमा पनि यस्ता पार्किङका लागि प्रस्ताव आह्वान गरिने बताएको छ ।

५० लाखदेखि ५ करोड खर्च लाग्ने

इन्जिनियर तिवारीले पार्किङको तल्ला अनुसार एउटा बहुतले मेकानिकल पार्किङ निर्माण गर्न ५० लाखदेखि ५ करोड रुपैयाँसम्म खर्च लाग्ने बताए।
'एउटा गाडी बराबर ८ देखि १२ लाखको खर्च लाग्छ। त्यो सबै कुन सिस्टम इम्पिलिमेन्ट गरेको हुन्छ त्यसैका आधारमा निर्धारण हुन्छ,' उनले भने, 'जस्तै ८ आनाभित्रको जग्गामा १० वटा गाडी अट्ने ५ तले पार्किङको निर्माण गर्न एउटा गाडी बराबरको १० लाख राख्दा पनि ५० करोड लगानी हुन्छ।'

यो इन्स्टलेसनदेखि सबै निर्माणको अन्तिमसम्मको खर्च हो। जग्गा अनुसार कति तल्ला राख्ने हो त्यो भने सम्भाव्यता अध्ययन गरेपछि मात्र जानकारी हुने उनले बताए।  'एक तल्ला वाला मात्र पार्किङ राख्न  मिल्ने भएमा ५० लाखदेखि एक करोडसम्म लाग्छ,' उनले भने, 'जग्गाको स्वरुप अनुसार पार्किङको संरचना बन्छ।'

ऋण सहयोग कति उपलब्ध हुन्छ ?

कोषका अनुसार यो बहुतले पार्किङ निर्माणका लागि ईच्छुक कम्पनीलाई ठाउँ (लोकेसन) हेरेर मात्र के कति ऋण दिन सकिन्छ थाहा हुन्छ। 'कोषले ईच्छुक कम्पनीलाई ५० देखि ९० प्रतिशतसम्म ऋण उपलब्ध गराउँछ। तर १० प्रतिशत भने कम्पनीले अनिवार्य हाल्नै पर्दछ,' तिवारीले भने, 'प्राइम लोकेसनमा निर्माण गर्न प्रस्ताव आएमा ९० प्रतिशतसम्म कोषले सहयोग गर्नेछ। कम्पनीले गरेको डिमाण्डमा पनि फरक पर्छ ।'

तर निजी क्षेत्रका कम्पनीलाई भने कोषले छुट्टै मापदण्ड बनाएर लगानी गर्ने उनको भनाइ छ। आफैँ लगानी गर्ने कम्पनीले पनि प्रस्ताव राख्न सक्ने उनले बताए। निजी कम्पनीको हकमा निफ्रा जस्तो कम्पनीसँग ऋण सहयोगको व्यवस्था गरिदिने तिवारीले बताए।

कोषले पार्किङ निर्माण भएपछि वार्षिक आम्दानी, बचत, संचालन खर्च, लगानी  सबै गरेर ५ देखि १० वर्षसम्ममा आउनेनआउने हेरेर ऋण दिने उनले बताए।

'जस्तै थापाथली, न्युरोड, कोटेश्वर, बानेश्वर, चावहिल लगायतका क्षेत्रमा निर्माण हुने पार्किङका लागि कोषले ९० प्रतिशत ऋण उपलब्ध गराउँछ,' उनले भने, 'यस्तो क्षेत्रमा मानिसको चहलपहल र कमर्सियल कम्प्लेक्स, अफिस, लगायतले गर्दा पार्किङको बढी आवश्यकता रहन्छ।'

कस्तो हुन्छ पार्किङ ?

यो पार्किङ हाल भाटभटेनीमा निर्माण गरिएको जस्तै र अरु विभिन्न खालको स्मार्ट पार्किङ हुने कोषका इन्जिनियर तिवारीको भनाइ छ। ‘हामीले बनाउने पार्किङ विभिन्न फरकफरक डिजाइनमा हुन्छ,’ उनले भने, 'जस्तै दुई वटा स्वचालित र म्यानुअल रहेका छन्।'

म्यानुअलमा सामान्य दुई लेयरको पार्किङ पर्छ। स्वचालितमा पजल्स, भाटभटेनीमा भएको जस्तो टावर र रोटेटरी पार्किङ रहेका छन्। यसमा कम्प्युटर वा रिमोटबाट संचालन गर्न सकिन्छ। यो डिजाइनका पार्किङका लागि सम्भाव्यता अध्ययन गरिने उनलेे बताए।

कोषका अनुसार यस्ता पार्किङ निर्माण गर्न एक महिना सम्भाव्यता अध्ययनका लागि र ६ महिनाभित्र निर्माणका लागि समय लाग्ने तिवारीले बताए।