
काठमाडौं। मासिक पाँच लाख रुपैयाँभन्दा बढी कमाउने अनेन्द्रले जागिर छाडेर नयाँ रेष्टुरेन्ट व्यवसायतर्फ मोडिँदा पहिलो लकडाउन चलिरहेको थियो। करिअरकै जोखिम मोलेर दुई वर्षअघि नक्सालमा उनले सुरु गरेको चिनियाँ किचेनले चिनियाँ खानाका पारखीलाई तानिरहेकै छ।
पुल्चोकका अनेन्द्र महर्जन पेसाले इलेक्ट्रिकल इन्जिनियर हुन्। तर उनले हस्पिटालिटी क्षेत्रमा भविष्य र सम्भावना देखे। सन् २००९ मा चीनको छोङछिङ जाउथोङ युनिभर्सिटीबाट इन्जिनियरिङमा स्नातक उनले टीबीए ग्रुपमा सहायक म्यानेजर पदमा काम सुरु गरे। कम्पनीले चीन लगायत विभिन्न देशहरुमा विद्युत, ट्रान्सफर्मर, सोलारको क्षेत्रमा काम गर्छ।
चीनमै केही वर्ष काम गरेपछि उनलाई प्रोजेक्ट म्यानेजरका रूपमा म्यानमार खटाइयो। उनले त्यहाँ दुई वर्ष सवस्टेशन निर्माणमा काम गरे। त्यसपछि उनी साउथ इष्ट एसियाको रिजनल हेड बनेर नेपाल फर्किए। सन् २०१२ पछि उनले नेपालमा विभिन्न आयोजनाहरुमा काम गरे।
इन्जिनियरिङ सकेपछि ५ हजार आरएमबी पाउनेगरी जागिर सुरु गरेका अनेन्द्र नेपाल आएर काम गर्दा ३५ हजार आरएमबीभन्दा धेरै कमाउने भइसकेका थिए। त्यस हिसाबले उनको मासिक तलब करिब ५ लाख रुपैयाँ हुने गरेको उनी बताउँछन्।
तर इन्जिनियरिङमै राम्रो करिअर र जागिर हुँदाहुँदै पनि उनलाई आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो।
हस्पिटालिटीमा राम्रो अवसर देखेपछि उनले साथीहरुसँग मिलेर नक्सालको भाटभटेनी नजिकैको प्राइम लोकेसनमा चलिरहेको बीएसपी हस्पिटालिटी प्रालि किने। दुई वर्ष उक्त रेष्टुरेन्ट राम्रै चल्यो तर जब विश्वव्यापीरूपमा कोरोना महामारी सुरु भयो, त्यसको असर अनेन्द्रको व्यवसायमा पनि देखियो।
प्रशासनले कोरोना महामारी फैलनबाट रोक्नका लागि जारी गरेको लकडाउनका कारण लामो समय रेष्टुरेण्ट बन्द गरेर राख्नुपर्यो। रेष्टुरेण्ट बन्द भएपछि स्टकका सामानहरु खेर गए। रेष्टुरेण्ट नचले पनि भाडा तिरिरहनुपरेकाले नोक्सानीको खाडल फराकिलो हुँदै गयो।
अनेन्द्रलाई यो नोक्सानीको पूर्ति अर्को रेष्टुरेन्ट नै चलाएर गर्छु भन्ने लागेछ। उनले आफ्ना साझेदारहरुसँग प्रस्ताव राखे। तर उनीहरुले फेरि रेष्टुरेन्ट चलाउन खासै चासो दिएनन्। तर अनेन्द्र एक्लैले आँटे। आफैंले त्यो रेष्टुरेण्ट लिएर त्यसलाई परिमार्जन गर्न थाले। उनले कन्टिनेन्टल रेष्टुरेण्टलाई चिनियाँ रेष्टुरेण्टमा बदले। पहिलेदेखि नै उको धेरै संगत चिनियाँहरु थियो। उनी आफैं पनि चिनियाँ खानाका पारखी थिए। यसबाट एक किसिमको नेटवर्क बन्न सक्ने अनुमान उनले गरे। कोभिड महामारीको पहिलो लहरपछि उनले रेष्टुरेन्टलाई चिनियाँ किचेन नाम दिएर संचालन गरे। अहिले यो रेष्टुरेण्टमा सिचुआन बेसका चिनियाँ खानाहरु पाइन्छ।
'चिनियाँहरुले धेरै प्रकारका खाना खान्छन्। प्रान्त अनुसार खानाहरु पनि फरक फरक हुन्छ। सिचुआनका खानाहरु अमिलो र पिरो खालका हुन्छन्। हाम्रा खानासँग मिल्ने खालको भएकाले सिचुआनलाई बेस बनाएका हौं,' अनिन्द्र भन्छन्।
रेष्टुरेन्ट अन्य चिनियाँ खानाहरु पनि पाइन्छन् तर यहाँको खास विशेषता भनेकै सिचुआन हटपट, स्पाइसी चिकेन, डबल कुक पोर्क,फ्रेस लाइभ फिस लगायतका खानाहरु छन् जसलाई खानाका पारखीहरुले बढी रुचाएको उनले बताए।
अनेन्द्रका अनुसार ३ रोपनी १० आनामा फैलिएको रेष्टुरेण्टमा भौतिक दुरी कायम गर्दा पनि एकैसाथ एक सय ९० मानिस अट्ने क्षमता छ। यहाँ तीन सय जनासम्मको इभेन्ट गर्न सकिन्छ। गार्डेन र बार स्पेसमा बसेर खान मिल्छ। चिनियाँ विशेष राउण्ड टेबल, टेरेस भ्यु, दुई मिटिङ हलका साथै ७० जना अट्ने कन्फ्रेन्स रुम पनि यहाँ छ। फराकिलो पार्किङले पनि ग्राहकहरुलाई रेष्टुरेन्ट पस्न सहज बनाइदिएको छ।
उनी भन्छन्-'चक्रपथभित्र सायद हामी नै होला प्राइम लोकेसनमा यति ठूलो रेष्टुरेण्ट, जहाँ पार्किङ र अथेन्टिक चिनियाँ स्वादले ग्राहकलाई बारम्बर आउन लोभ्याइरहेको छ।'
घरमै चिनियाँ भान्छा
कामको सिलसिलामा म्यानमार पुगेका अनेन्द्रको साथी सर्कलबाट याङगो यीङसँग भेट भयो। उनै याङ्गोसँग उनको प्रेम बस्यो। उनी चिनियाँ मूलकी बर्मेली हुन्। केही वर्षको प्रेम सम्बन्धपछि उनीहरुले विवाह गरे। याङ्गोको नेपाली नाम अप्रिल यीङ महर्जन राखिएको छ। उनीहरुको एक वर्षकी छोरी समेत छिन्। श्रीमती चिनियाँ भएकाले उनको घरमा समेत चिनियाँ खाना नै पाक्न गरेको अनेन्द्र बताउँछन्।
रेष्टुरेण्टमा धेरै ग्राहकहरु चिनियाँ खाना चाख्ने भन्दै पुग्ने गरेको उनले बताए। तर पहिलो पटक खाना खान जानेहरुका लागि भने थोरै नेपाली स्वादमा ढाल्ने गरिएको रहेछ। 'पहिलो पटक खाँदा स्वाद फरक हुने भएकाले सबैलाई त्यो स्वाद मन नपर्न सक्छ। टेष्ट गरौं न त भन्नेहरुका लागि हामी थोरै नेपाली स्वादमा बनाउँछौं,' उनले भने।
एकपटक आफ्नो रेष्टुरेन्टमा चिनियाँ खाना खाएकाहरु फर्किएर फेरि आउनुलाई अनेन्द्र आफ्नो सफलताका रूपमा लिन्छन्। रेष्टुरेन्टमा हाल १७ जना कार्यरत छन्। उनले रेष्टुरेन्टका स्टाफहरुलाई चिनियाँ भाषा समेत सिकाइरहेका छन्। 'मैले नै धेरै समय दिइरहेको हुन्छु। सेफले पनि राम्रोसँग बोल्न सक्नुहुन्छ। स्टाफहरुलाई पनि विस्तारै सबैलाई चिनियाँ भाषा सिकाइरहेका छौं,' उनले भने।
चाइनिज रेष्टुरेण्ट चलाउनका लागि चुनौतीहरु पनि धेरै भएको उनको बुझाइ छ। खानामा प्रयोग हुने मसलाहरु चीनबाटै मगाउनुपर्छ। 'हाम्रो यहाँ पाइने र उता पाइने टिमुरको स्वाद नै फरक हुन्छ। यताको टिमुरे प्रयोग गर्दा चिनियाँहरुले खोज्ने फ्लेवर नै आउँदैन। धेरै मसलाहरु उताबाटै मगाउनुपर्छ।' ती मसलाहरुको भाउ पनि एकदमै तलमाथि हुने भएकाले मेन्युहरु चेन्ज भइरहने अनेन्द्रले बताए।
१५ वर्षदेखि चिनियाँ परिकार बनाएका सेफ
रेष्टुरेण्टका मुख्य सेफ हुन् चन्द्र कोइराला। उनले बिगत १५ वर्षदेखि चिनियाँ परिकारहरु नै बनाइरहेका छन्। उनले दुई वर्ष कुकको तालिम लिएर यो पेसामा छिरेका थिए। उनी चिनियाँ खाना मात्रै पकाउँदैनन्, चिनियाँ भाषा पनि राम्रोसँग बोल्न सक्छन्।
'ठमेलको चिनियाँ रेष्टुरेण्टमा काम गरेकाले लामो समय उनीहरुसँगै संगत भयो। उनीहरुसँग सिकें पढें,' कोइरालाले भने, 'कोही कोही चिनियाँहरु त सेफ को छ भन्दै किचनमा नै आउँछन्। उनीहरुसँग उनीहरुकै भाषामा बोलिदिएपछि धेरै खुशी हुन्छन्।'
चिनियाँ खानामा मसला एकदमै कम प्रयोग हुने भएकाले धेरैले मनपराउने गरेको कोइरालाले बताए। 'इण्डियन खाना मसालेदार हुन्छ। एक प्लेट इण्डियन खाना खानेले तीन प्लेट चिनियाँ खाना खान सक्छ,' उनले भने, 'अरु खानामाभन्दा क्वान्टिटी पनि धेरै हुन्छ। पकाउने तरिकाहरु पनि युनिक हुन्छ। हाम्रो जस्तो पाँच सिठ्ठी लगाउँदा नी नपाक्ने भन्ने हुँदैन।'
अनेन्द्र पहिलेदेखिनै चिनियाँ खानाका पारखी भएकाले ठमेल गइरहन्थे। कोइरालालाई उनले त्यहीँ भेटेका हुन्। रेष्टुरेण्ट चलाउने सल्लाह भएपछि यी दुई जोडिए। साझेदारकै रूपमा उनीहरुले यो रेष्टुरेण्टलाई अघि बढाउने योजना बनाएका छन्।
रेष्टुरेण्टमा करिब ३ करोड रुपैयाँ जति लगानी भइसकेको कोइरालाले बताए। यहाँका टेबल, चुल्होदेखि भान्छामा प्रयोग हुने धेरै उपकरण तथा सामाग्रीहरु चीनबाटै ल्याइएको छ।
अनेन्द्रका अनुसार पहिलो लकडाउनमा गरिएको एक अध्ययनले काठमाडौंमा करिब ८ हजार चिनियाँ नागरिक रहेको देखाएको थियो। महामारीका लहरहरुका कारण ती मध्ये केही फर्किए पनि अधिकांश यहीँ छन्। तर चीन सरकारले 'बाहिर नखानू' भनेर सर्कुलर जारी गरेका कारण खानकै लागि उनीहरु बाहिर निस्किदैन। त्यसैले अहिले चिनियाँ किचेन रेष्टुरेण्टमा नियमित पुग्नेहरुमा धेरैजसो चिनियाँ परिकारका पारखी र चीनबाट फर्किएका नेपालीहरु नै भएको उनले बताए।
चिनियाँ किचेनको सफलताबाट उत्साहित भएका अनेन्द्रले हाल नख्खुमा पाँच तल्ले भवन बनाइरहेका छन्, जहाँका दुई तल्लामा अर्को चिनियाँ होटल चलाउने योजना बनिसकेको उनले जानकारी दिए।