चिनियाँ वायुसेवा कम्पनीको ४४ उडानमा अमेरिकाको प्रतिबन्ध, दुई महिनापछि मात्र उडान गर्न पाउने

बिजमाण्डू
२०७८ माघ ११ गते ०७:३४ | Jan 25, 2022
चिनियाँ वायुसेवा कम्पनीको ४४ उडानमा अमेरिकाको प्रतिबन्ध, दुई महिनापछि मात्र उडान गर्न पाउने

अमेरिकाले  चार चिनियाँ वायुसेवा कम्पनीको ४४ वटा उडानमा प्रतिबन्ध लगाएको छ। अमेरिकी सरकारले नयाँ भ्रमण निर्देशिका जारी गर्दै प्रतिबन्ध लगाएको हो।

Tata
GBIME
Nepal Life

दुई महिनासम्मका लागि चीन र चीनसँग जोडिएका सीमा नाकाबाट हुँदै आएको नियमित उडानमा प्रतिबन्ध लागेको छ।

सीएनएनका अनुसार चीन-अमेरिका उडानमा प्रतिबन्ध लगाइएका वायुसेवा कम्पनीले अप्रिलबाट मात्र नियमित उडान गर्न पाउनेछन्। यो निर्णय गरिएसँगै एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, चाइना साउर्दन लगायत वायुसेवा कम्पनीले अमेरिकातर्फ गर्दै आएको नियमित उडान प्रभावित हुने भएको छ। चीनले अमेरिकी वायुसेवा कम्पनीलाई प्रतिबन्ध लगाएपछि अमेरिकाले काउन्टर गर्दै उडान प्रतिबन्ध गरेको हो।

'सर्किट ब्रेकर' लागू गरेको भन्दै चीनले अमेरिकाबाट हुँदै आएको उडानमा प्रतिबन्ध लगाइदिएको थियो। चीन सरकारले तयार पारेको निर्देशिका अनुसार १० जनाभन्दा बढी यात्रु कोभिड संक्रमित देखिएको अवस्थामा उडान स्थगित समय थपिँदै जानेछ।

चीनले निर्देशिका जारी गरेसँगै अमेरिकन एयरलाइन्स, डेल्टा एयरलाइन्स, युनाइटेड एयरलाइन्स लगायत अमेरिकी वायुसेवा कम्पनीको उडान प्रभावित हुँदै आएको छ।

गत शुक्रबार चीनले लागू गरेको नियमप्रति अमेरिकाको यातायात विभागले असन्तुष्टि जनाएको थियो। तर चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सर्किट ब्रेकर निष्पक्ष र पारदर्शी रहेको दाबी गरेका छन्। चीन सरकारले शून्य कोभिड नीतिअन्तर्गत गत सन् २०२० मार्चदेखि बोर्डरहरु बन्द गर्दै आएको छ।